म छोरी !
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
सदिक्षा मगर
म छोरी,
मलाई पुजिन्छ लक्ष्मीको रूपमा
मलाई आराधना गरिन्छ शक्तिको रूपमा
मलाई तुलना गरिन्छ सिंगो धर्तिको रूपमा
तर पनि
मलाई तुह्याइन खोजिन्छ आमा कै गर्भमा
म छोरी,
मलाई कोखभित्रै अपहेलित गरिन्छ
संसारको पहिलो दर्शन गर्दा
म मेरो आमासँग सँगै छु
धड्कन पनि उनीसँगै चलिरहेछ
तर मेरी आमा खुशी छैनन्
म प्रष्ट देख्छु आँखाको भावमा
म स्पष्ट सुन्छु मनको आवाजमा
मलाई जन्म दिने आमा पनि खुशी छैनन्
खै किन ?
नाल काटेर आमासँगै छुट्याउँदै गरेकी सुडेनी पनि
लेब्रो तन्काउँदै निधार खुम्च्याउँदै
खै, के के बोल्दैछिन मनमनै
उनको बोली बुझ्दिन
तर प्रष्ट देख्छु
उनको मुखाकृतिमा
घृणा हो कि चिन्ता हो
छुट्याउनै मुस्किलमा छु
उनी पनि रत्ति खुशी छैनन
मेरो आगमनमा
म छोरी,
बाबा सोध्छन्
उत्सुकताको स्वरमा
सुडेनी भन्छिन, “छोरी”
बाबाको उत्सुकताले भरिएको स्वर
शून्यमा बिलाउँछ क्षणभरमा
फेरि अर्को स्वर नै सुनिदैंन
संसार मौन भइदिन्छ
मलाई त्यो मौनताले मौन हुन दिन्न
म सोध्न सुरु गर्छु
मेरो रुवाईको च्याँ च्याँको स्वरमा
मेरो स्वर सुनेर आमालाई ममताले छोप्छ
या त मेरो स्वर तिखारिनु हुन्न लाग्छ
काखमा लिन्छिन र ममता पोख्छिन्
अनि सुस्त स्वरमा भन्छिन “अभागिनी”
म छोरी,
ठूली हुँदैछु
मसँगै घरमा चिन्ता हुर्किदै गरेको देख्छु
मेरा हर कदममा रेखा कोरेको देख्छु
के के हुन के केका बारले छेकेको देख्छु
म सोध्छु
ममताकी खानी मेरै आमालाई
आमा किन किन किन ?
मायालु स्वरमा
आमा भन्छिन्
छोरी तिमी छोरी हौ
सधैं बोलीमा मधुरता
व्यबहारमा सुशील अनि सहनशीलता
छोरी मान्छेको परिचय
म बुझ्दिन
छोरीको परिचय
छोरा र छोरीको फरक
म छुट्याउन सक्दिन
म छोरी,
साँच्चै म ठूली भएकी छु
केही छुट्याउने भएकी छु
आमाको चिन्ता
सुडेनीको असमन्जस्यता
चिन्दैछु
छुट्याउँदैछु
बुझ्दैछु
समाजले दिएको विभेदमा
मान्छेका पशुवत व्यवहारमा
र, प्रकृतिले दिएको आफ्नै संरचनामा
म छोरी,
हिड्दैछु गल्लीमा
गल्लीका भुस्याहा कुकुरझैं लाग्ने
ती गल्लीका भतुवाहरू
जिब्रो पट्काउँदै
अहम् आहम्, आहा ! गरेको
स्पष्ट बुझ्छु उनीहरुको नियतसँग
म निडर हिड्न सक्दिन
केही नभनी लुरुलुरु हिड्न बाध्य छु
किनकि
मलाई स्वतन्त्र हुनै दिइएन
अझैं भनौं रहन दिएन समाजले
मनलाग्दी कुद्न दिएन परिवारले
स्वतन्त्र चल्न दिइएन
मेरा आफ्नै अंगलाई पनि
मेरो आवाजलाई पनि
बोल्न दिइएन मेरै प्राकृतिक आवाजमा
सधैं तालिम प्राप्त आवाजमा बोल्ने बनाइयो
शव्द पनि छानीछानी बोल्न लगाइयो
म छोरी,
डराउँछु एक्लै हिड्न पनि
शिकार भइने हो कि
मान्छेरुपी ब्वाँसाहरूको झम्टाईमा परिने हो कि
क्षतविक्षत बनाउने हुन् कि
मेरो अस्मितालाई
गम्छु साँच्चै काँतर पाउँछु आफैलाई
म छोरी,
म लुटिएकी छु
म लतपतिएकी छु
रगतको आहालमा
म मुर्छित छु, नग्न अवस्थामा
म मृत छु झाडीमा
तर पनि यो समाज
उठाउँदै छ नैतिकताको प्रश्न
खोतल्दै छ मेरो व्यक्तिगत आचरण
म छोरी,
मलाई लाग्छ
मलाई छोरीको परिधिबाट थोरै स्वतन्त्रता दिएको भए
मलाई मेरा अंगहरू मेरै तरिकाले चलाउन दिएको भए
मलाई मेरो आवाज मेरै आफ्नै निकाल्न दिएको भए
गल्लीका भतुवाहरूलाई भुत्ल्याउन सक्ने थिएँ
मानवरूपि ब्वाँसाहरूलाई चिथोर्न वा भुत्ल्याउन सक्ने थिएँ
नैतिकता र आचरणका सवालमा बहस गर्न सक्ने थिएँ
मलाई प्राकृतिक रुपमै हुर्किन दिएको भए
न समाजले घृणा गर्ने ठाउँ हुन्थ्यो
न डरैडरमा हुर्किने समाजको यति बलियो पर्खाल हुन्थ्यो
२०७५÷५÷१५
कुपोन्डोल
प्रतिक्रिया