बोक्सी आरोप लगाउने माताविरुद्ध उजुरी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ३१, २०७६
|
|
३० पटक हेरिएको
Shares
बोक्सी आरोप लगाउने माताविरुद्ध उजुरी

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

–चन्द्रकला भण्डारी
भद्रपुर। झापाको मेचीनगर–९ की ८१ वर्षीया गङ्गामाया बस्नेतलाई बोक्सीको आरोप लगाउने दुई महिलाविरुद्ध प्रहरीमा उजुरी परेको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक टीका कार्कीले वृद्धा बस्नेतलाई बोक्सीको आरोप लगाउने मेचीनगर–९ की कुमारी चम्लागाईं र आफूलाई बूढीबजै भनेर चिनाउँदै फारफुक गर्ने माता सावित्री शिवाकोटीविरुद्ध उजुरी परेको बताए।

बिरामी भएर झारफुकका लागि गत जेठ ७ गते माताको मन्दिरमा पुगेकी चम्लागाईंले बक्ने क्रममा साँध जोडिएको छिमेकी वृद्धा बस्नेतलाई बोक्सीको आरोप लगाएकी थिइन्। झारफुकको क्रममा चम्लार्गांलाई गालामा चड्कन लगाउँदै र कपाल भुत्ल्याउँदै माता शिवाकोटीले बोक्सी बक्न लगाएको भिडियो सार्वजनिक भएको थियो। भिडियो रेकर्डमा माताले पिटेपछि वृद्धा बस्नेतलाई चम्लार्गांले बोक्सीको आरोप लगाएको प्रष्ट देख्न र सुन्न सकिन्छ।

बोक्सीको आरोप लगाएपछि वृद्धा बस्नेतले आपत्ति जनाउँदै आएकी थिइन्। तर गाउँमै मुद्दा मिल्न स्थानीय वडाका अध्यक्ष गोपाल खड्कालगायत गाउँकै केही महिला अगुवाले दबाब दिएको वृद्धा बताउँछिन्। जनप्रतिनिधि र केही गाउँले माता र बोक्सी आरोप लगाउनेहरुकै पक्षमा लागेपछि असह्य अनुभूति गरेकी पीडित वृद्धा बस्नेतले जेठ १८ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा आरोप लगाउने चम्लागाईंविरुद्ध कानूनी कारवाहीको माग गर्दै उजुरी दिएकी थिइन्। माता शिवाकोटीविरुद्ध बिहीबार उजुरी परेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक कार्कीले पीडितको उजुरीबमोजिम आरोपीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताएका छन्। आरोपी चम्लागाईं घरमा नभेटिएको हुँदा खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

मेचीनगरका प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले पीडित वृद्धा बस्नेतको घरैमा पुगेर न्याय दिलाउन मद्दत गर्ने आश्वासन दिएका छन्। दुई÷तीन वर्षदेखि लड्ने, बरबराउने समस्याबाट ग्रसित चम्लागाईंले माताकोमा आफूलाई कुटपिट भएको र बक्ने क्रममा आफूले कसलाई के भन्ने थाहा नभएको बताइन्।

चम्लागाईंका पति शिव चम्लागाईंले वृद्धासँग कुनै रीसइबी नभएको बताए। “१८ वर्षअघि आएर बसेको गाउँमा ती वृद्धा आमासँग हाम्रो कुनै रिसइबी छैन” उनले भने। दुई वर्षअघि पनि वृद्धालाई बोक्सीको आरोप लगाइएको थियो। स्थानीय भद्रभलाद्मी बसेर पुनः आरोप नलगाउने शर्तमा त्यसबेला छिमेकी कुमारी चम्लागाईंलाई माफी मगाएको स्थानीयवासीले बताएका छन्।

वडा नं ९ का वडाध्यक्ष गोपाल खड्काले एक साताअघि ती वृद्धा वडा कार्यालयमा आएर रुन थालेपछि आफूले नै वडाध्यक्षलाई सम्बोधन गरेर निवेदन लेख्न लगाएको बताए। “बिरामी चम्लागाईंले वडामा आएकी वृद्धाको खुट्टा ढोगेर माफी माग्न खोज्दा बाहिर निस्किनुभयो”, वडाध्यक्ष खडकाले भने, “चित्त नबुझेकाले त्यही दिन इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिन जानुभएछ, मलाई पछि थाहा भयो ।”

वडाध्यक्ष खड्काले यो घटनाले यस्तो रुपमा लिन्छ होला भन्ने नसोचेको बताउँदै भने, “समाजको दबाबले मिलाएँ ।” माता भनिएकी शिवाकोटीले आफ्नो मुखबाट बोक्सी भन्ने शब्द उच्चारण नगरेको दाबी गरिन्। “बिरामीलाई उपचार गर्ने क्रममा कुटपिट अनिवार्य हुन्छ, नत्र उनीहरु बोल्दैनन्”, उनले भनिन् “त्यो हाम्रो विधि हो, मैले बोक्सी भनेको होइन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?