आलेख : साहित्यिक कृति सित्तैमा बाँड्नु पर्ने बाध्यता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
४२ पटक हेरिएको
Shares
आलेख : साहित्यिक कृति सित्तैमा बाँड्नु पर्ने बाध्यता

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

भद्रपुर, २१ भदौ। मोफसलमा साहित्यिक कृतिको प्रकाशन त हुन्छ तर, त्यसले खासै चर्चा पाउँँदैन । ती पसलमा राखिएका हुन्छन् तर, बिक्दैनन् । ‘पूर्वका मोतीराम’को रुपमा परिचित भाषाविद् चूडामणि रेग्मीले पाँच दशक लामो सृजना यात्रामा थुप्रै साहित्यकार जन्माउनु मात्रै भएन दुई दर्जन भन्दा बढी कृतिसमेत प्रकाशन गर्न भ्याउनुभयो । तर, प्रकाशित पुस्तकको बिक्रीबाट उहाँले छपाइ खर्च समेत उठाउन सक्नुभएन ।

झापाली आख्यानकार पुण्यप्रसाद खरेल शिक्षण पेशासँगै साहित्य साधनामा तीन दशकदेखि तल्लीन हुनुहुन्छ । एक दर्जन भन्दा बढी कृति प्रकाशन गरे पनि साझा प्रकाशनले छापेको ‘त्रिवेणी आमा’ बाहेक अन्य कृति उहाँले सित्तैमा बाँडेरै सक्नुभयो ।भर्खरै रु १ लाख नगद राशिको ‘देवकोटा साहित्य पुरस्कार’बाट सम्मानित मय विधाका साहित्यकार तेजराज खतिवडा ९तेराख०को पीडा पनि उस्तै छ । “बीस वटा कृति प्रकाशन गरियो,” उहाँ भन्नुहुन्छ – “सर्वजा उपन्यास चाहीँ बजारमा खुबै बिक्री भयो । अरु त सित्तैमा बाँड्नु प¥यो ।”

साहित्यको उर्वर भूमि झापाका अधिकांश साहित्यकारहरु मिहेनतपूर्वक कृति प्रकाशन गर्छन् । वर्षेनी २० भन्दा बढी पुस्तक जिल्लाबाट प्रकाशित हुँदै आएका छन् तर, अधिकांश पुस्तक बिक्दैनन् । सित्तैमा पुस्तक बाँड्नु पर्ने समस्याबाट साहित्यकारहरु चिन्तित छन् । झापाका धेरै साहित्यकारहरु राजधानीमा मात्र नभएर देश बाहिर पनि प्रख्यात छन् । झापा अर्जुनधाराका कृष्ण धरावासीले ‘राधा’ उपन्यासमा मदन पुरस्कार पाउनु भयो भने भद्रपुरका चूडामणि रेग्मी ‘पूर्वको मोतीराम’को रुपमा कहलिनु भएको छ ।

एक दर्जन भन्दा बढी कृति प्रकाशन गर्नुभएका भद्रपुर निवासी अग्रज पत्रकार नकुल काजी, अर्जुनधाराका सरोज ओली, रोहिणीविलाश लुईंटेल, सञ्जीव उप्रेती, कृष्ण बराल, कुमार भट्टराई, कनकाईका कोमलप्रसाद पोखरेल, बिर्तामोडका राजेन्द्र सङ्ग्रौला, भवानी क्षेत्री, मेचीनगरका विजय खरेल, यज्ञराज प्रसाईं, क्याप्टेन गोपीलाल लिम्बु र कृष्णप्रसाद उप्रेती निरन्तर साहित्य सिर्जनामा क्रियाशील रहँदै आउनुभएको छ ।

“नामले त प्रख्यात नै भएजस्तो लाग्छ तर कृतिले राम्रो प्रचार पाएनन्,” भाषाविद् रेग्मी भन्नुहुन्छ – “काठमाडौँका प्रकाशकले छापेका पुस्तकले मात्र बढी प्रचार पाउने गरेका छन् ।” ‘झर्रो भाषा’का हिमायती रेग्मी सरकारले साहित्य क्षेत्रलाई र काठमाडौँले मोफसललाई बेवास्ता गरेको बताउनुहुन्छ । “खोज अनुसन्धान गरेर निकालिएका कृतिले राम्रो प्रकाशक र बजार नपाउनु ज्यादै दुःखको कुरा हो,” उहाँ भन्नुहुन्छ – “दुःख गरेर छापेका कृति सित्तैमा बाँड्ने रहर कसैको हुँदैन । बजारमा बिक्री नहुँदा सर्जकको मन कुँडिन्छ ।”

झापाली साहित्यकारहरुका पुस्तक संख्यात्मक र गुणात्मक दुबै आधारमा अब्बल भए पनि बजारमा सित्तै बाँड्नु पर्ने तीतो यथार्थप्रति समालोचक एवं मेची बहुमुखी क्याम्पसका प्राध्यापक तारा विविध दुःख व्यक्त गर्नुहुन्छ । “चूडामणि सर प्रसिद्ध भाषाविद् हुनुहुन्छ,” समालोचक विविध भन्नुहुन्छ –“उहाँका कृतिहरु नजीकको हेला भएका छन् भने अरुले प्रकाशन गरेका कृतिको बजारीकरणमा त झन् ठूलो समस्या छ ।”

ऋणपान गरेर छापिएका कृति बिक्री भएनन् भन्दैमा घरमा थन्क्याएर राख्नु उचित छैन । त्यसो गर्दा पुस्तक पाठकसामु पुग्न सक्दैन । आफैं प्रकाशक बनेर कृति निकाल्ने थुप्रै साहित्यकारहरु प्रचारप्रसारकै लागि भए पनि सित्तैमा पुस्तक बाँड्न बाध्य भएका समालोचक विविधको ठम्याइ रहेको छ ।

झापामा अलि बढी खोज, अध्ययन र अनुसन्धान गरेर कृति निकाल्नेमा गनिनुहुन्छ साहित्यकार पुण्यप्रसाद खरेल । तर, उहाँका एक दर्जन कृतिमध्ये ‘त्रिवेणी आमा’ उपन्यासको बिक्री मात्रै उल्लेख्य रह्यो । साझा प्रकाशनले एक हजार प्रति प्रकाशन गरेको सो कृतिको बिक्रीबाट उहाँलाई रु २२ हजार लेखस्व प्राप्त भयो ।

खरेलको अर्को औपन्यासिक कृति ‘दोसाँधको घाम’ले पनि बजारमा राम्रै चर्चा पायो । उहाँ भन्नुहुन्छ – “निजी खर्चमा एक हजार प्रति प्रकाशित गरेको थिएँ । थोरै प्रति बिक्री गरेर भए पनि छपाइ खर्च उठाएँ ।” साहित्यकार खरेल सामाजिक सञ्जाल र अनलाइनतिर युवा जमातको झुकाव बढ्दै जाँदा दुःख गरेर निकालिएका कृतिको बजारीकरण हुन नसकेको बताउनुहुन्छ ।

कथा, उपन्यास, निबन्ध र कविता विधामा कलम चलाउँदै आउनुभएका खरेलले झापामा २०२८ सालमा भएको ‘किसान विद्रोह’को भावभूमिमा एक वर्षअघि ‘झापाली गर्जन’ उपन्यास प्रकाशनमा ल्याउनुभयो । विवेक सिर्जनशील प्रकाशन प्रालिले छापेको ऐतिहासिक धरातलमा आधारित उक्त कृतिले बजारमा प्रशस्तै चर्चा बटुले पनि त्यसको बिक्री राम्रो भएन ।

“खरेलका कृति प्रायः खोज अनुसन्धानबाट लेखिएका, समाज रुपान्तरणमा योगदान पु¥याउने खालका छन्,” उहाँको कृतिमाथि टिप्पणी गर्दै साहित्यकार विनोद खनालले भन्नुभयो – “विडम्बनाको कुरो, खर्च उठ्ने गरी बजारमा बिक्री हुन सकेका छैनन् ।” मोफसलका प्रतिभालाई राष्ट्रले चिन्न नसक्दा उहाँहरुको कृति ओझेलमा परेको खनाल ठान्नुहुन्छ । फलतः सर्जकहरुलाई घाटा बेहोनुपर्ने स्थिति आइलागेको छ ।

झापाको मेचीनगरलाई कर्मथलो बनाउँदै साहित्य साधनामा निरन्तर लागिरहनु भएका तेजराज खतिवडा ९तेराख०ले रचना गर्नुभएका २० वटा कृतिमध्ये ‘सर्वजा’ उपन्यास सर्वाधिक चर्चामा छ । विसं २०६० सालमा प्रकाशित उक्त कृति ५ हजार प्रति छापिएको थियो । खतिवडाका अनुसार ‘सर्वजा’का सबै प्रति बिक्न सक्यो । ‘सर्वजा’ पछि उहाँका ‘आगो र पानी’ र ‘टेस्ट ट्यूव बेबी’ जस्ता लोकप्रिय रचनाहरु हजार–हजार प्रति छापिएका थिए । तर, अन्य कृति भने ५०० प्रति भन्दा बढी छापिएनन् । ती कृति अलि अलि मात्रै बेच्न सकेको र अधिकांश कार्यक्रममै बाँडेरै सक्ने गरेको उहाँ बताउनुहुन्छ ।

झापामा पुस्तक लेखेर बजारमा बिकाउने साहित्यकार कृष्ण धरावासी मात्र रहेको उहाँ बताउनुहुन्छ । झापामा वार्षिक २० वटा भन्दा बढी कृति प्रकाशन हुने गरेका छन् । पछिल्लो समय अध्ययन अनुसन्धान बिना देखासिकीमै सतही कृति प्रकाशन गर्ने होड चल्दा बजारको समस्या भएको उहाँको ठम्याइ छ ।दुई दशकदेखि काँकडभिट्टामा अंकित पुस्तक सदन सञ्चालन गर्दैआउनु भएका खिलबहादुर घिमिरेलाई अहिलेसम्म पाठकले स्थानीय लेखकको पुस्तक खोज्दै आएको थाहा छैन । “ऐतिहासिक पृष्ठभूमि बोकेका धेरै पुस्तक स्थानीय साहित्यकारले प्रकाशित गर्नुभएको छ,” पुस्तक बिक्रेता घिमिरे भन्नुहुन्छ – “हामी बिक्रीका लागि भनेर स्थानीय लेखकका कृति राख्छौं तर, किन्न कोही पनि आउँदैनन् ।”

उहाँले झापामा एक लेखकले लेखेको कृति अर्को लेखकले किनेर पढ्ने संस्कृतिको विकास नभएको टिप्पणी गर्नुभयो । स्थानीय साहित्यकारको कृति सित्तैमा पाइने बुझाइका कारण बिक्री प्रभावित भएको उहाँको भनाइ छ ।प्राज्ञ सभा सदस्य एवम् साहित्यकार यज्ञराज प्रसार्इँले स्थानीय लेखकले आर्थिक कठिनाइका कारण आकर्षक कलेवरमा पुस्तक प्रकाशन गर्न र प्रचारप्रसारलाई सशक्त पार्न नसक्दा बजार पाउन नसकेको बताउनुभयो ।

विद्युतीय सञ्चार प्रविधिको बढ्दो प्रयोगले पनि पाठकलाई पुस्तकमा भन्दा सामाजिक सञ्जालतर्फ बढी आकर्षण गर्ने गरेको बताउँदै उहाँ भन्नुहुन्छ – “लेखन आञ्चलिक परिवेशमा मात्र सीमित हुँदै गएको छ । नवीनतम विषयवस्तुमा अनुसन्धान गरी लेख्ने लेखकको अभावमा पनि बजारीकरणको समस्या आएको स्वीकार्नुपर्छ ।”चार वटा कृति प्रकाशनमा ल्याइसक्नुभएका उहाँ स्थानीय लेखकले छानेका विषयवस्तु र लेखेका पुस्तकमाथि जिल्लामै पर्याप्त अन्तरक्रिया हुन नसक्दा गहकिला पुस्तकसमेत ओझेलमा परेको बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?