पत्रकार (कटुकथा)

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
पत्रकार (कटुकथा)

सारांश

  • -मुक्ति रातिको खाना खाएर दिनभरका मुख्य घटनाहरु बारे बुझ्न फेसबुकको भित्तो नियाल्दै हुन्छु त्यति नै बेला मोबाइमा घण्टि बज्छ ।
  • ‘हेलो, रमेश हो ?
  • ’ उताबाट गह्रौ बोली सुनिन्छ ।

-मुक्ति

रातिको खाना खाएर दिनभरका मुख्य घटनाहरु बारे बुझ्न फेसबुकको भित्तो नियाल्दै हुन्छु त्यति नै बेला मोबाइमा घण्टि बज्छ ।
‘हेलो, रमेश हो ?’ उताबाट गह्रौ बोली सुनिन्छ ।
‘हो, भन्नुस ।’ मैले सामान्य जवाफ दिन्छु ।
‘तपाईँ मानव समाचार दैनिकको लागि काम गर्नुहुन्छ ?’ म केही आकस्मिक समाचार छपाउनुपर्ने भएको अनुमान गर्छु ।
‘हो, भन्नुस के सेवा गरुँ ?’ टेवलमै रहेको डायरी थोरै आफूतिर तान्छु, कलम पहिल्यै हातमा हुन्छ ।
‘तपाईँसँग हाम्रो सर कुरा गर्न खोज्दै हुनुहुन्छ ।’ म घटनाको प्रकृति गम्भिर भएको अडकल काट्छु ।
‘को सर ?’ म फोन कहाँबाट र कसले ग¥यो भन्ने जान्न चाहेको हुन्छु ।
‘भाईले पत्रकारिता सुरु गरेको कति भयो ?’ उताबाट अर्को स्वर सुनिन्छ ।
‘हजुर रु?’ म थोरै अकमकिन्छु ।
‘तपाईँ पत्रकार भएको कति भो भनेको ?’ उसले प्रश्न दोहो¥याउँछ ।
मैले काम गर्न सुरु गरको धेरै नभएको भएपनि कोही भन्दा पनि कम छैन भन्ने स्तरको आत्मविश्वास ममा थियो । अनपेक्षित रुपमा उताबाट आएको प्रश्नले मलाई सानो धक्का दिन्छ । मलाई अहिले सम्म यस्तो प्रश्न कसैले गरेको हुँदैन ।

‘एक वर्ष, किन होला ?’ म छ महिना बढाएर भन्छु ।
‘मैले यो काम गर्न लागेको दश वर्ष भयो ।’ उताको बोलिमा शैलिगत परिवर्तन आउँछ ।
‘कुन काम सर ?’ म उस्का कुरा बुझ्ने कोशिस गर्छु ।
‘मैले आज तपाईँको लेख पढेको थिएँ ।’ उसले मेरो प्रश्नमा खासै चाख दिँदैन ।
मलाई आज तयार पारेको लेखको सम्झना आउँछ । लेख एउटा वैदेशिक रोजगार सम्बन्धि काम गर्ने निजी कम्पनीका बारेमा हुन्छ । निकै लामो अनुसन्धान गरेर तयार पारेको उक्त रिपोर्टमा एउटा ठग मेनपावर कम्पनी र उक्त कम्पनीको मालिकको नाम समेत उल्लेख गरिएको हुन्छ । मलाई उ मानव दैनिकको नियमित पाठक हो जस्तो लाग्छ ।
‘हो र सर ? केही गल्ती भयो कि ?’ म थोरै मख्खिँदै प्रश्न गर्छु ।
‘म तपाईँको कथाको पात्र बोल्दैछु ।’ तिख्ततापूर्ण एक वाक्य उत्तर मेरो कानमा पर्छ । मलाई डर जस्तै केही लाग्छ । काम गर्न थालेको यतिका समय सम्म मलाई यस्तो फोन आएको थिएन ।
‘करियर बल्ल सुरु हुँदै रहेछ, सुरु नहुँदै अन्त्य नहोस ।’ अर्को वाक्य चेतावनी जस्तै धम्कि पोखिन्छ । उसले आफ्नो माथि धेरै ठूला नेताहरुको हात रहेको, चाहेको खण्डमा पुरै कार्यालय नै बन्द गराउन सक्ने क्षमता भएको बताउँछ म डराइदिन्छु ।
‘आईन्दा यस्तो गल्ती नहोस नत्र म जे पनि गर्न सक्छु।’

जे पनि बाट उसको मतलब के थियो मलाई थाहा हुँदैन तर म उसले ज्यान कै धम्कि पस्केको बुझ्छु।
मलाई डर लाग्छ, चिट्चिट् पसिना आउँछ अनि एक गिलास पानी खान्छु । आफैलाई के गरेँ जस्तो लाग्छ । घडिले रातिको साढे एघार बजाउँछ तर म अझै सुत्न सक्दिन । हठात सम्पादक सरलाई फोन गर्छु ।
‘सर, मलाई एउटा फोन आयो ।’ म सुरुमै भन्छु ।
‘कस्तो फोन ? उताबाट तन्द्रामा बोलेको प्रष्ट थाहा हुन्छ ।
‘ज्यान मार्ने धम्कि आयो सर । अब के गर्ने ?’ आफूलाई नियन्त्रण गर्दा गर्दै पनि मेरो बोलिमा भयको गन्ध मिसिन्छ ।
‘कहाँबाट ? के भन्यो ?’ उताबाट सामान्य प्रतिक्रिया आउँछ ।
‘आज पत्रिकामा आएको लेखको बारेमा । जसको बारेमा समाचार थियो उसले फोन गरेको थियो । माथिसम्म पहुँच छ रे त्यसको, जे पनि गर्न सक्छु भन्दै थियो । मलाई डर लागेर हजुरलाई फोन गरेको, मलाई केही त हुँदैन नि सर ?’ म सबै कुरा एकै सासमा भनिसक्छु ।
‘जाबो त्यति कुरा भन्नलाई यति राति फोन गरेको ?सुत सुत भोलि अफिसमा कुरा गरौँला ।’ मलाई झनक्क रिस उठ्छ । यहाँ मेरो ज्यानको सवाल भैरहेको बेला उता यो सबै सामान्य लाग्छ र फोन काटिन्छ ।

घडिले विहानको संकेत गर्छ तर रात सकिन अझै केही घण्टा बाँकि हुन्छ । मलाई निद्रा पटक्कै लाग्दैन । त्यै पनि आँखा बन्द गर्छु । सपना पनि निकै नराम्रो देख्छु । अफिस एक घण्टा अघि नै जान्छु, खाना पनि नखाईकन । म चाँडो आएको कारण सम्पादक दिपक सरले बुझिहाल्छन् । मलाई आफ्नो क्याविनमा बोलाउँछन् । बसालेर पानी पिउन लगाउँछन् ।
‘हेर यहाँ के देख्छौ ?’ आफ्नो मोबाईलको आगमन कलको सुचि देखाउँदै भन्छन् । मेरा लागि ति सबै अपरिचित क्रियाकलाप हुन्छन्, केही बुझ्दिन उनको कुरा ।
‘हजुरले रिसिव गर्नुभएका कलहरु ।’ मैले उत्तर दिन्छु ।
‘ध्यानसँग हेर । यो सबै मैले उठाएका फोन कलहरु हुन् । यहाँ आधा भन्दा बढि सेभ नगरेका अथवा अपचित नम्बर छन् ।’ मैले उनले भन्न खोजेको कुरा अझ प्रष्टसँग बुझ्दिन ।
‘यी नयाँ नम्बर सबै हिजाेको तिम्रो कल जस्तैहुन्, धम्किका । कुट्ने पिट्ने मार्ने धम्कि ।’ म उनलाई हेरिरहन्छु ।

‘तिमिलाई जस्तो फोन मलाई दिनकै पाँच छ चोटि सम्म पनि आउँछ ।’ यति भनिरहँदा उनको मुहारम कतै पनि भयको रेखा देखिँदैन । बरु मिठो मुस्कान दौडन्छ मुहार भरी ।
‘हामी पत्रकार हौँ भाई । यस्ता धम्कि सुन्नलाई आफ्नो कामकै एउटा पाटो भनेर सम्झे हुन्छ ।’ उनले थप्छन् ।
यतिबेला सम्म मेरो मनमा भएको डर हराईसक्छ ।
उनले विकास दाईलाई बोलाउँछन् । विकास दाई काममा म भन्दा केही महिनाले जेठा छन्। तर मैले सर नभनेर दाई भन्छु ।
‘अँ विकास , तिमिलाई धम्किका फोन कति आए अरे ?’ दिपक सर ठट्यौलो पारामा सोध्छन् ।
‘खै सर कति कति हिसाब गरे पो ।’ विकास दाई पनि हाँस्दै बाहिरिन्छन् । म अचम्मित हुन्छु । खासमा जुन फोन मलाई आएको थियो धम्किको, त्यो त धेरै पहिले देखि सबैलाई आईरहेको रहेछ । त्यसैले बानी परिसकेका रहेछन् । मलाई पनि आत्मविश्वास आउन थाल्छ । डर कोषाैँ पर भाग्छ । तर मेरो मनमा लागेको खुल्दुली मेटाउन सरलाई प्रश्न गर्छु, ‘अनि सर यतिका धम्कि आउँदा पनि किन कसैले केही गरेन ?’
सर हाँस्दै भन्छन्, ‘भाई भुक्ने कुकुरले टोक्दैन भनेर टोक्ने कुकुर नै हुँदैन त ? फोन गर्नेले केही गरेका छैनन्, केही गर्नेले फोन गरेका छैनन् ।’
म सोच मग्न हुन्छु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
होम
रेडियो
पात्रो
युनिकोड
लगइन