मलाइ पनि प्रश्न सोध्न मन लाग्यो !

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २८, २०७५
|
|
३७ पटक हेरिएको
Shares
मलाइ पनि प्रश्न सोध्न मन लाग्यो !

सारांश

  • गणेश शाक्य, न म पत्रकारनै हुँ, न त कुनै उच्चपदस्थ व्यक्तिनै ।
  • न म कुनै नेता हुँँ न त उद्योगि व्यापारी नै ।
  • हुँ त केवल एउटा सामान्य नेपाली नागरिक मात्र ।

गणेश शाक्य,
न म पत्रकारनै हुँ, न त कुनै उच्चपदस्थ व्यक्तिनै । न म कुनै नेता हुँँ न त उद्योगि व्यापारी नै । हुँ त केवल एउटा सामान्य नेपाली नागरिक मात्र । तर पनि किन किन मलाई पनि केहि प्रश्न सोध्न मन लाग्यो।

मल्लकालिन शासनको कुरालाई छाडौं । राणाकालिन शासनलाई पनि बिर्सौं । अव कुरा गरम् राणाकाल पछिका नेपालका वारेमा । राणाकालको अन्त्य पछि नेपालमा राजा देखि लिएर विभिन्न राजनैतिक दलहरुले राज्यको बागडाैल सम्हालि सकेका छन् । राणाकालिन जहानिया शासनअन्त गर्न प्रजाले साथ दिए । कति नेपाली सपुतहरुले आफ्नो ज्यानको आहुती दिए । शहिद भएर गए । प्रजातन्त्र पनि आयाे । अव चाहिं देश उभो लागे, प्रजाले सुख पाउने भो भठानी चैनको स्वास फेरे । तर त्यो खुशीको क्षण कालान्तर सम्म टिक्न सकेन । किन?

प्रजालाई चित्त बुझेन । दलिय नेताहरुको अगुवाईमा आन्दोलन चर्कियाे । आन्दोलनकै क्रममा फेरी पनि सयाैँले ज्यान गुमाए, हजाराै अंङ्गभङ्ग भए । जनताले जिते, बहुदलिय  शासन प्रणाली लागु भयाे । कहिले काँग्रेस, कहिले कम्युनिष्ट र कहिले राजा पार्टिले आलापालो राज्य चलाउदै गए । यसरी आलापालो गरि चलाएको सत्ताले पनि आम गरिब जनतालाई अझ भनौं गरिब निमुखा जनतालाई कुनै ठोस राहत दिन सकेन । देश विकासको कुरा त परै जावस, विकासको लागि वातावरण बन्यो भन्ने पनि कसैलाई लागेन । गरिब झनझन गरिब हुंदै गए, नेता अनि नेताका भक्तहरु भने धनि माथि धनि हुंदै गए । किन?

गरिब र धनिको दूरी दिन रात फराकिलो हुंदै गयाे । परिणामस्वरुप, फेरि बिद्रोहको आवाज गुञ्जिन थाल्याे । जन आन्दोलनको बिगुल फुके । आन्दोलन चर्किदै गयाे । सरकारी तथा आन्दोलनकारी दुबै तर्फवाट हतियार उठाए । एकले अर्कालाई सिध्याउने नीति पलाए । द्वन्द चर्किदै गर्दा फेरि हजारौं हजार नेपालीले ज्यान गुमाए । सारा नेपाली मर्माहत र शोकाकुल अवस्थामा रहे । किन?
लामो द्वन्दकाल पछि सरकार र आन्दोलनकारी विच हतियार बिछाएर वार्तामा बस्नको लागि प्रयासहरु भए । हतियार विसाइयो, चरणगतरुपमा वार्ता हुंदै गए र अन्ततः वार्ता सफल भए । आम नेपालीको अनुहारमा खुसी छाए । फेरि एकपल्ट नेपालीले खुसीकाे स्वास फेरे । तर, यतिले पनि पुगेनछ नेपालीलाई । राजाको उपस्थिति पच्दै पचेन । किन ?

राजा हटाई गणतन्त्र नेपालको आवश्यक महशुस गरिन थाले जताततै । गणतन्त्र ल्याउन अनवरत प्रयास भई नै रहे । र एकदिन त्यो प्रयास पनि सफल भयाे, अनि नेपाल गणतन्त्र राज्य घोषित भयाे, राजाले गद्दी छाडे । गणतन्त्र आए पश्चात नयाँ नेपालको संविधान कोरिए र लागु पनि भए । देशमा क्रमैसंग स्थानिय देखि प्रदेश, प्रतिनिधि सभा सबै तहको चुनाव पनि सम्पन्न भई सकेको छ । र सबै तहहरुमा जनप्रतिनिधिहरु आआफनो आसनमा विराजमान पनि भईसकेको अवस्था छ । सरकार दुई तिहाई मतमा छ । देशमा गणतन्त्र स्थापना भईसकेको छ, नेपालीलेनै कोरेका संविधान लागु छ, दुई तिहाईको सरकार छ भनेपछि अव सारा नेपाली देश विकास हुने भो भनेर ढुक्क भए बसे भो त ? प्रश्न गर्न मन लाग्यो ।

अव एक क्षण सपनाको कुरा गरौं, त्यो पनि दिवा सपनाको । हो, सपना देख्नु पर्छ सबैले । तसर्थ, देशको प्रधानमन्त्रिले सपना देख्नु कुनै आश्चर्य कुरा हुंदै हैन । मलाई लाग्छ वहांले त सपना देख्नै पर्छ । नेपालमा समुद्र छैन तर समुद्रि मार्ग भएर नेपालको नदीमा पानीजहाज त्यो पनि नेपालको झण्डा सहितको छिर्न सक्तैन भनि कसैले भन्छ भने त्यो गलत हो । रेल त जति बेला नि गुडाउन सकि हालिन्छ । तर, सपना साकार पार्न राज्यले कसरी र कुनस्तरमा कार्य गरेको छ वा गर्दै छ भन्ने मात्र मेरो प्रश्न हो ।

अहिलेको काम गराई हेर्दा त प्रधानमन्त्रिज्यूको सपना तत्काल पुरा हुने सम्भावना न्यून छ । ठाउँठाउँमा सडक पुल आदि निर्माण भइरहेको छन् । यस्ता पूर्वाधार बनाउँदा रात दिन नभनि युद्धस्तरका कार्य गर्नु पर्ने हैन र ? काठमाण्डौं शहर भित्रै सबैले देख्दै गरेका हुन एउटा सानो पुल निर्माण होस वा १÷२ किलोमिटर सडक फराकिलो गर्ने काम होस वर्षौं वर्ष समयमा पनि पुरा हुंदैन । यस्तो कामले त सपना साकार पार्न गाह्रो हुन्छ नि । ठुल्ठुला सपना साकार पार्न सानसाना सपना कति पुरा भएको छ भन्ने कुरावाट पनि अनुमान लगाउन सकिन्छ । यसै सन्दर्भमा म यहाँनेर काठमाण्डौं महा नगरपालिकालाई केहि प्रश्न राख्न चाहन्छु ।

काठमाण्डौं महा नगरपालिकामा मेयर लगायत वडा अध्यक्ष, न.स.स.हरुले पदभार सम्हालेको पनि डेढ वर्ष हुन लागि सक्यो । के काठमाण्डौंको मूख्य मूख्य शहरमा व्याप्त खाल्डा खुल्डि पुरियो ? सडकमा दौडा दौड गर्ने भुस्याहा कुकुर, सडकको विचौंविच लम्पसार विराजमान गाई गोरु अब नियन्त्रणमा लिइयो ? मान्छे हिड्ने सडक पेतीमा, निर्माण सामाग्रि थुपार्ने कार्य बन्द भो ?मोटरसाइकल, साइकल वर्कशपले पेटी कब्जा गरि पेटीमै बसी मर्मत गर्ने कार्य बन्द गरियो ? अनि पेटीमा विभिन्न वस्तु बेच्ने कार्य रोकियो ? सडक गल्लीहरुमा फोहरको थुप्रो देखिन छोड्यो ? धुलो धुंवारहित स्वच्छ वातावरण श्रृजना भयो ? अव मास्क विनानै वाहिर निस्कन सक्ने भएकै हो त? हामी स्थानियको नजरमा त यी समस्याहरु जिउं का तिंउ नै छन् । कि यी सब काम महानगरको कार्य क्षेत्र बाहिरको भन्नु हुन्छ ?

यसैगरि, कालीमाटी तरकारी वजार तथा अन्य वस्तुहरुको अनुगमन वारे पनि केहि प्रश्न गर्न मन लागेको छ । कालीमाटी तरकारी वजारमा केहि समय अगाडि सम्वन्धित मन्त्रि आफै जानु भई अनुगमन गर्ने कार्य भएको थियो जुन अत्यन्तै सह्राहनिय कामको रुपमा लिएका थिए आम उपभोक्ताले ।बिचौलियाहरु खत्तम, तरकारी सस्तोमा पाइने भो जस्तो लागेकाे थियाे तर त्यसो त भएको आभास भएन त । के अव कालीमाटी तरकारी वजारका बिचौलियाको निर्मूल भएकै हाे त? खाद्य तथा गुण नियन्त्रण विभागले पनि बेलाबेलामा वजार अनुगमन गर्ने कार्य गर्दै गरेकाे हाे त ! मिसावट, अखाद्यवस्तु मिश्रण भएको प्रमाणित पनि हुने गरेकै हुन् । तर अनुगमन पश्चात के कारवाहि भयो, मिसावट, अखाद्यवस्तु मिश्रण भएको वस्तु पुन वजारवाट किनि उपभोग गर्न हुने नहुने केहि खबर छैन । के अव वजारमा मिसावट, अखाद्यवस्तु मिश्रण भएको वस्तु बेचविखन गर्न बन्द भएकै हो त ?

यी भए केहि उदाहरणहरु । यस्ता समस्या अनगिन्ति छन् यहाँ । यी समस्याहरू हेर्दा खेरि सानातिना देखिएतापनि आम नेपालीको लागि आधारभूत साम्हरिक महत्वका विषय हुन । यस्ता महत्वपूर्ण पक्षलाई राज्यले तत्काल सम्वोधन गर्नु पर्ने कि नपर्ने ? प्रश्न गर्न मन लाग्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?