नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ५, २०७४
|
|
५५ पटक हेरिएको
Shares
नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी

सारांश

  • ५ असार, नेपालगञ्ज ।
  • पश्चिम नेपालको प्राचीन शहर नेपालगञ्ज उपमहानगरपालिका आजभन्दा २० वर्ष पहिले जो व्यक्ति मेयर थिए, उनै व्यक्ति अहिले फेरि मेयरमा उठेका छन् ।
  • २० वर्षअघि उपमेयर चलाएका व्यक्ति अहिले मेयरको दाबेदार बनेका छन् ।

५ असार, नेपालगञ्ज । पश्चिम नेपालको प्राचीन शहर नेपालगञ्ज उपमहानगरपालिका आजभन्दा २० वर्ष पहिले जो व्यक्ति मेयर थिए, उनै व्यक्ति अहिले फेरि मेयरमा उठेका छन् । २० वर्षअघि उपमेयर चलाएका व्यक्ति अहिले मेयरको दाबेदार बनेका छन् । साथै, दुई दशक पहिलेका ८ जना वडाअध्यक्षहरु अहिले फेरि वडाध्यक्षमा भिड्दै छन् ।

नेपालगञ्जको रोचक पक्ष नै यही हो कि ०५४ सालमा मेयर र उपमेयरको कुर्सीमा बसेकाहरु अहिले फेरि पुरानो अनुभवका आधारमा उपमहानगरपालिका चलाउने दाउमा छन् ।

तत्कालीन नेपालगञ्ज नगरपालिकामा ०४९ मा कांग्रेसका बिजय गुप्ताले मेयरमा जितेका थिए । उनी अहिले राष्ट्रिय जनता पार्टी नेपालमा छन् ।

त्यस्तै, ०५४ मा एमालेका तर्फबाट धवल शमसेर मेयर र समसुद्धिन सिद्धिकीले उपमेयर जितेका थिए । अहिले धवलशमसेर राप्रपाबाट मेयरका उम्मेदवार छन् भने सिद्धिकी एमालेबाट मेयर उम्मेदवार छन् । ०५४ मा धवल शमसेरसँगै जितेका ८ जना वडाध्यक्षहरु अहिले एमालेबाट पुनः सोही पदका उम्मेदवार छन् ।

पञ्चकोणात्मक प्रतिस्पर्धा

अन्यत्रको चुनावमा भन्दा नेपालगञ्जमा भिन्न ढंगको प्रतिस्पर्धा छ । प्रायः ठाउँमा दुईपक्षीय वा त्रिपक्षीय प्रतिस्पर्धा भइरहँदा नेपालगञ्जमा भने पाँच पक्षीय प्रतिस्पर्धा देखिन्छ ।

माओवादीले पार्टी संगठनको बलमा भन्दा पनि मेयर उम्मेदवारको लोकप्रियताका कारण प्रतिस्पर्धामा आफ्नो उपस्थिति बलियो रहेको बताउँदैछ । राप्रपा र संघीय समाजवादी फोरम पनि कडा प्रतिस्पर्धामा देखिएका छन् । कांग्रेस र एमाले दुबै दलहरु त झनै मुख्य प्रतिस्पर्धी हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको संयोग यो पनि हो कि प्रायः सबै मेयरका उम्मेदवार धनाड्य व्यवसायी छन् ।

नेपाली कांग्रेसका मेयरका प्रत्यासी डा. सुरेशकुमार कनोडिया मेडिकल कलेज नेपालगञ्जका सञ्चालक तथा मेडिकल ईक्युपमेन्टका चर्चित व्यवसायी हुन् ।

एमालेका समशुद्दिन सिद्दिकी खेल क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । नेपालगञ्जका पूर्वउपमेयर समेत रहेका सिद्दिकी भारत्तोलनका अन्तराष्ट्रिय खेलाडी हुन् ।

माओवादी केन्द्रका उम्मेदवार दामोदर आचार्य नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका डा. धवलशम्शेर राणाको होटल तथा विद्यालयमा लगानी रहेको छ । उनी ०५४ सालमा नेपालगञ्जको मेयरमा विजयी भएका थिए ।

संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेदवार कमरुद्दिन राईको अटो रिक्सा तथा भन्सार क्लियरिङ्ग व्यवसाय सञ्चालनमा छ ।

त्यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रितु शाही र नयाँ शक्तिबाट जगतकुमारी खड्काले उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।

नेपालगञ्जको चुनावी परिणाम सधैं एकनास हुने गरेको छैन । नगर क्षेत्र समेटिएको संसदीय क्षेत्रमा ०४८ मा कांग्रेसले संसदीय चुनाव जितेको थियो । ०५१ मा राप्रपाले जित्यो भने ०५४ मा नगर चुनाव एमालेले जित्यो ।

यहाँबाट फेरि ०५६ को संसदीय चुनावमा कांग्रेसकै सुशील कोइरालाले जितेका थिए भने ०६४ मा फोरमका सर्वदेव ओझाले जिते । ०७० सालको दोस्रो संविधानसभामा नगर क्षेत्र समेटिएको २ नम्बरमा एमालेका दिनेशचन्द्र यादव र ३ मा कांग्रेसका सुशील कोइराला बिजयी भएका थिए ।

जातीय र धार्मिक सन्तुलन

सबै दलका उपमेयर उम्मेदवार महिला छन् । कांग्रेसले पत्रकार उमा थापा मगरलाई उपमेयरमा उठाएको छ । एमालेले जिल्ला नेतृ शान्ति ढकाललाई खडा गरेको छ ।

राप्रपाले रमारानी वैश्य, माओवादीले कलामुन अन्सारी र संघीय फोरमले शोभा लखेरलाई उपमेयर उम्मेदवार बनाएको छ ।

मेयर र उपमेयमार सकेसम्म दलहरुले जातीय र धार्मिक सन्तुलन मिलाउन खोजेका छन् । कांग्रेसले मारवाडी समुदायबाट मेयर उठाएपछि उपमेयरमा आदिवासी जनजातिबाट उम्मेदवारी दिएको छ । एमालेले मुस्लिम समुदायबाट मेयरमा उम्मेदवार उठाएको छ भने उपमेयरमा पहाडे हिन्दू परिवारकी शान्ति ढकाललाई उपमेयरमा खडा गरेको छ ।

माओवादीले पनि मुस्लिमलाई उपमेयर दिएको छ ।

मुस्लिम भर्सेस वैश्य र गायत्री फ्याक्टर

नेपालगञ्जमा पार्टीगत रुपमा पाँचपक्षीय प्रतिस्पर्धा रहे पनि यहाँको हारजितमा केही धार्मिक र जातीय फ्याक्टरले पनि निणर्ायक भूमिका खेल्न सक्छन् । उम्मेदवारहरुको ध्यान पनि निर्णायक भोट बैंकतिरै केन्दि्रत छ ।

नेपालगञ्जमा मुस्लिम मत निर्णायक हुन सक्छ । एमाले र फोरमका उम्मेदवार मुस्लिम भएकाले मुस्लिम मत काटिने र प्रतिवद्ध मुस्लिम भोट पाएर जित्ने विश्वास कांग्रेसको छ ।

मुस्लिम समुदायका अगुवा र प्रभावशाली व्यक्तिहरु अहिले कतै पनि खुलेका छैनन् । कसलाई मत दिने भन्ने निर्णय मस्जिदका अगुवा र मौलानाहरुले गर्ने भएकाले उनीहरुको मत कसलाई जान्छ भन्ने अझै टुंगो छैन ।

त्यस्तै यहाँ ‘बनियाँ’ फ्याक्टर पनि छ । वैश्य समाजले बनियाँको भोटलाई प्रभावित पार्न सक्छ । वैश्य समाज पनि अहिलेसम्म कतै खुलेको छैन । हुन त वैश्य समाजबाटै राप्रपाले उपमेयर उम्मेदवार दिएको छ, तर राप्रपाको उपस्थिति यो समुदायमा कमजोर छ ।

एक हजार देखि १२ सय मत प्रभावित पार्ने गायत्री परिवार पनि नेपालगञ्ज उपमहानगरमा छन् । यो समुदायबाट फोरमले शोभादेवी लखेललाई उपमेयर बनाएको छ । यस्ता फ्याक्टरले नेपालगञ्जको चुनावलाई प्रभावित पार्न सक्छन् ।

फोरमका उम्मेदवार भन्दा एमालेका उम्मेदवार हेबिवेट र प्रतिस्पर्धामा जित्नेखालका रहेकाले मुस्लिम समुदायले अन्तिममा एकोहोरो मत खन्याउन सक्ने भय पनि विपक्षीलाई छ ।

मुस्लिम फ्याक्टरमा एमाले हाबी हुन खोजेकाले कांग्रेसले बनियाँ फ्याक्टरमा आफ्नो उपस्थिति बनाउन खोजेको छ । तर, कांग्रेसका सुरेन्द्र हमालले टिकट नपाएपछि बनियाँ फ्याक्टरमा माओवादीका दामोदर आचार्य हाबी हुन सक्छन् ।

दामोदर आचार्य व्यापारीबीच लोकप्रिय व्यक्ति हुन् । नेपालगञ्ज व्यापार संघमा उनले लामो समय नेतृत्व गरे र अहिले पनि उनले भनेका व्यक्ति नन्दलाल वैश्यले जितेका छन् ।

नन्दलाल कांग्रेस निकट भए पनि उनले दामोदरलाई टाढा राख्न सक्दैनन् । त्यसैले बैश्य अर्थात बनियाँ फ्याक्टर यसपटक बिभाजित भएर मतदानमा जान सक्छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा सबै उम्मेदवार ढुक्क छन् तर कोही पनि आफ्नो जितप्रति विश्वस्त पनि छैनन् । किनकि सबैका आ-आफ्नो सबल र दुर्वल पक्ष छन् ।

यद्यपि कांग्रेसका सुरेश कनोडिया र एमालेका समसुद्धिन सिद्धिकी सांगठानिक हिसाबमा कडा टक्करमा छन् । उनीहरुलाई राप्रपाका धवल शमसेर, माओवादीका दामोदर आचार्य र फोरमका कमरुद्धिन राईले चुनौती दिइरहेका छन् ।

प्रदेश नं. ६ र ७ को समेत प्रवेशद्वारको रुपमा रहेको नेपालगञ्ज उपमहानगरपालिकामा ६२ हजार ५ सय ३० मतदाता छन् । जयसपुर, पिप्रहवा, भवानियापुर, कारकाँदो र हिरमिनियाको ७ नं. वडा क्षेत्र नं. २ बाट नगरमा गाभेर उप-महानगर बनाइएको हो ।

यो उपमहानगर बाँकेको मात्र नभएर केन्द्रीय राजनीतिको समेत चासो र प्रतिष्ठाको विषय बनेको छ । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र भएकाले पनि नेपाली कांग्रेसका लागि उच्च प्रतिष्ठाको विषय बनेको छ ।

यो क्षेत्रबाट एमालेका दिनेशचन्द्र यादवले ०७० को निर्वाचन जितेका थिए । त्यसैले एमालेका लागि पनि नेपालगञ्ज चासोको स्थानीय तह हो ।

समग्रमा नेपालगञ्ज उप-महानगरमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादी फोरमबीच नै कडा प्रतिस्पर्दा हुने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संस्कृति खोजमा ४५  वर्ष
संस्कृति खोजमा ४५ वर्ष
अनामनगर क्षेत्रमा पनि डोजर चल्यो, विद्यालयको कम्पाउण्ड नै भत्काइयो
अनामनगर क्षेत्रमा पनि डोजर चल्यो, विद्यालयको कम्पाउण्ड नै भत्काइयो
रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री
रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री
सर्लाही–४ का वाम उम्मेदवारको उम्मेदवारी खारेज
सर्लाही–४ का वाम उम्मेदवारको उम्मेदवारी खारेज
निर्मला पन्तकाे पाेस्टर टास्न हिसिला यमी धनगढीमा
निर्मला पन्तकाे पाेस्टर टास्न हिसिला यमी धनगढीमा
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट
पूर्वराजा भन्छन्-विद्रोहको भुसको आगो भित्रभित्रै सल्कदैछ
पूर्वराजा भन्छन्-विद्रोहको भुसको आगो भित्रभित्रै सल्कदैछ
“mostbet Online Мостбет Официальный Сайт Букмекерской Компании И Казин
प्रदेश एकमा शेरधनलाई मुख्यमन्त्री बन्न अवरोध, उनी भन्छन्,-‘पछि हट्दिन’
प्रदेश एकमा शेरधनलाई मुख्यमन्त्री बन्न अवरोध, उनी भन्छन्,-‘पछि हट्दिन’

तपाईंले छुटाउनुभयो कि?