आगजनीले भवन र अभिलेख नष्ट भएपछि भाडाको घरबाटै भूमि प्रशासन कार्यालय नेपालगन्जद्वारा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन

Asmita-Newsdesk Asmita-Newsdesk
|
बुधबार, आश्विन ७, २०८३
|
|
१ पटक हेरिएको
Shares
आगजनीले भवन र अभिलेख नष्ट भएपछि भाडाको घरबाटै भूमि प्रशासन कार्यालय नेपालगन्जद्वारा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन

सारांश

  • भौतिक पूर्वाधार र ऐतिहासिक अभिलेख ध्वस्त भएको प्रतिकूल अवस्थाका बाबजुद बाँकेस्थित भूमि प्रशासन कार्यालय नेपालगन्जले जग्गा कारोबार व्यवस्थित गर्दै राज्यको कोषमा ठूलो योगदान पुर्‍याएको छ।
  • ‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट आफ्नै भवन र कागजपत्र पूर्ण रूपमा नष्ट भएपछि विद्युत् रोडमा भाडाको घरबाट सेवा दिइरहेको यस कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा कुल रु ७४ करोड ८६ लाख २९ हजार १०८ राजस्व सङ्कलन गर्न सफल भएको छ।
  • कार्यालय प्रमुख सन्तोष विकका अनुसार सङ्कलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा जग्गा किनबेचबाट प्राप्त हुने पुँजीगत लाभकर र रजिष्ट्रेसन दस्तुरको रहेको छ।
भौतिक पूर्वाधार र ऐतिहासिक अभिलेख ध्वस्त भएको प्रतिकूल अवस्थाका बाबजुद बाँकेस्थित भूमि प्रशासन कार्यालय नेपालगन्जले जग्गा कारोबार व्यवस्थित गर्दै राज्यको कोषमा ठूलो योगदान पुर्‍याएको छ। ‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट आफ्नै भवन र कागजपत्र पूर्ण रूपमा नष्ट भएपछि विद्युत् रोडमा भाडाको घरबाट सेवा दिइरहेको यस कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा कुल रु ७४ करोड ८६ लाख २९ हजार १०८ राजस्व सङ्कलन गर्न सफल भएको छ।
कार्यालय प्रमुख सन्तोष विकका अनुसार सङ्कलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा जग्गा किनबेचबाट प्राप्त हुने पुँजीगत लाभकर र रजिष्ट्रेसन दस्तुरको रहेको छ। गत आवमा पुँजीगत लाभकरबाट रु ३७ करोड ४० लाख ९९ हजार ६०७ र रजिष्ट्रेसन दस्तुरबापत रु ३६ करोड ९० लाख ५९ हजार १६४ उठेको छ। बाँकी रकम भने प्रशासनिक सेवा शुल्क, फारम तथा पूर्जा बिक्री, न्यायिक दस्तुर र धरौटी सदरजस्ता अन्य विभिन्न शीर्षकबाट प्राप्त भएको हो।
आगजनीका कारण ३१ हजार १८९ जग्गाधनी प्रमाणपूर्जाको स्रेस्ता जलेर नष्ट भए पनि कार्यालयले ती सबै अभिलेखलाई पुनः कायम गरी सेवाग्राहीको कामलाई निरन्तरता दिएको छ। लिखत पारित, नामसारी, दाखिला खारेज र संशोधन जस्ता कानुनी तथा प्रशासनिक प्रक्रियालाई भाडाको सीमित स्थानबाटै चुस्त रूपमा अघि बढाइएको छ।
विपद्का बिच पनि प्रविधि र कर्मचारीको निरन्तर प्रयासका कारण जग्गासम्बन्धी जटिल प्रक्रियाहरू सहज बन्दै गएका छन्। केन्द्रीय विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या आउने समयबाहेक अन्य अवस्थामा सर्वसाधारणका काममा कुनै ढिलासुस्ती हुन नदिई सेवा प्रवाह भइरहेको दाबी कार्यालयले गरेको छ।
यसरी संरचनात्मक क्षति र स्रोतसाधनको अभाव झेल्दै नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयले सेवाग्राहीको कामलाई प्राथमिकतामा राखेर सरकारी राजस्व सङ्कलनलाई प्रभावकारी ढङ्गले निरन्तरता दिइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?