८५ प्रतिशत बढी सामुदायिक विद्यालयमा इन्टरनेट: डिजिटल शिक्षातर्फ मुलुकको फड्को

Asmita-Newsdesk Asmita-Newsdesk
|
बिहिबार, आश्विन २२, २०८३
|
|
२५ पटक हेरिएको
Shares
८५ प्रतिशत बढी सामुदायिक विद्यालयमा इन्टरनेट: डिजिटल शिक्षातर्फ मुलुकको फड्को

सारांश

  • शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मुलुकभरका सामुदायिक विद्यालयहरूमा प्रविधि र पूर्वाधारको विकासमा उल्लेख्य प्रगति भएको छ।
  • देशभर सञ्चालित कुल २७ हजार १० सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशत विद्यालयमा इन्टरनेटको पहुँच पुगिसकेको छ।
  • डिजिटल साक्षरता प्रवर्धन गर्ने उद्देश्यले २०७७ सालदेखि सुरु गरिएको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ मार्फत हालसम्म चार हजार छ सय आठ विद्यालयमा सूचना प्रविधि (आइसिटी) प्रयोगशाला निर्माण भइसकेका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मुलुकभरका सामुदायिक विद्यालयहरूमा प्रविधि र पूर्वाधारको विकासमा उल्लेख्य प्रगति भएको छ। देशभर सञ्चालित कुल २७ हजार १० सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशत विद्यालयमा इन्टरनेटको पहुँच पुगिसकेको छ।
डिजिटल साक्षरता प्रवर्धन गर्ने उद्देश्यले २०७७ सालदेखि सुरु गरिएको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ मार्फत हालसम्म चार हजार छ सय आठ विद्यालयमा सूचना प्रविधि (आइसिटी) प्रयोगशाला निर्माण भइसकेका छन्। यससँगै समग्र सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशतमा प्रविधि प्रयोगशालाको पहुँच पुगेको छ भने ६९ दशमलव ६ प्रतिशत विद्यालयमा वैकल्पिक स्रोतबाट विद्युत् सेवा उपलब्ध गराइएको छ।
पूर्वाधार पुनर्निर्माणतर्फ विसं २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित सात हजार छ सय ६७ विद्यालयको निर्माण कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ। बाँकी १४ विद्यालयमा निर्माण कार्य जारी रहेको छ भने पश्चिम नेपालमा भूकम्पबाट क्षतिग्रस्त दुई सय १६ विद्यालयको पुनरुत्थान सरकार तथा विकास साझेदारहरूको सहयोगमा भइरहेको छ।
मन्त्रालयले ठूला विद्यालयहरूको शैक्षिक वातावरण सुदृढ बनाउन दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत ३६ वटा विद्यालयमा १२ कोठे नयाँ भवन निर्माणको काम अगाडि बढाएको छ। मुलुकभर धार्मिक प्रकृतिका विद्यालयसहित कुल ३५ हजार नौ सय ५१ विद्यालय सञ्चालनमा रहेका छन्।
भूकम्पपछिको पुनर्निर्माण, आधुनिक प्रविधिको विस्तार र विद्युतीकरणले देशका दुरदराजमा रहेका सामुदायिक विद्यालयहरूको शिक्षण सिकाइ प्रक्रियालाई थप आधुनिक, समावेशी र प्रभावकारी बनाउन ठूलो योगदान पुर्याएको देखिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?