मंसिरमा बैंकको ब्याजदर घट्यो, मुद्दती निक्षेपमा औसत ब्याज ३.८७ प्रतिशतमा झर्‍यो

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १, २०८३
|
|
१ पटक हेरिएको
Shares
मंसिरमा बैंकको ब्याजदर घट्यो, मुद्दती निक्षेपमा औसत ब्याज ३.८७ प्रतिशतमा झर्‍यो

सारांश

  • काठमाडौं ।
  • मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरले व्यक्तिगत मुद्दती निक्षेपकर्तालाई निराश बनाएको छ।
  • अधिकांश बैंकले ब्याजदर यथावत् राखे पनि केही बैंकले घटाएपछि समग्र औसत ब्याजदरमा गिरावट आएको छ।

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरले व्यक्तिगत मुद्दती निक्षेपकर्तालाई निराश बनाएको छ। अधिकांश बैंकले ब्याजदर यथावत् राखे पनि केही बैंकले घटाएपछि समग्र औसत ब्याजदरमा गिरावट आएको छ।

नेपालका २० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ बैंकले ब्याजदर घटाएका छन्। कृषि विकास बैंकले ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत, कुमारी बैंकले ३.७० बाट ३.६१ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट ३.९० प्रतिशत कायम गरेका छन्।

त्यस्तै, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशत, एनएमबि बैंकले ४.५० बाट ३.२५ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० बाट ३.६५ प्रतिशतमा झारेका छन्। यीमध्ये एनएमबि बैंकले सबैभन्दा धेरै १.२५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।

कात्तिककै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा एभरेष्ट, नेपाल बैंक, नेपाल एसबीआई, ग्लोबल आइएमई, प्राइम, सिटिजन्स, प्रभु, हिमालयन, सिद्धार्थ, नबिल, सानिमा, राष्ट्रिय वाणिज्य, एनआईएमबि र एनआईसी एसिया बैंक रहेका छन्।

मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिकमा ३.९८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ३.८७ प्रतिशतमा सीमित भएको छ। अर्थात् औसत ब्याजदरमा ०.११ प्रतिशत बिन्दुको गिरावट आएको छ।

मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक सानिमा रहेको छ। बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ। त्यस्तै, नेपाल बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंकले पनि ४ प्रतिशतभन्दा बढी ब्याजदर उपलब्ध गराएका छन्।

बैंकहरूले प्रत्येक महिनाको निक्षेप ब्याजदर सार्वजनिक गर्ने व्यवस्था अनुसार नयाँ दर मंसिर १ गतेदेखि लागू हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?