दशैको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
नेपाल सानो देश भएता पनि धार्मिक, सांस्कृतिक एवम प्राकृतिक विविधताले भरिएको छ । प्रकृतिले जति सुन्दर छ, यहाँ भित्र त्यति नै सुन्दर र जीवन्त संस्कृति पनि छ । मौसम र ऋतु परिवर्तनसँगै यहाँ विभिन्न चाडपर्व तथा जात्रा मनाउने गरिन्छ । त्यसैमध्ये एक हो बडा दशै । बडा दशैलाई राष्ट्रिय पर्वका रुपमा प्राचीनकालदेखि देशभर मनाउने गरिएको छ । दशै धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले निकै महत्वपुर्ण चाड हो । हुन त नेपालमा वर्षभरि नै विभिन्न चाडपर्व मनाउने गरिएता पनि दशै भन्ने बित्तिकै खास उत्साह र उमंग छाउने गर्छ नेपालीको मनमा ।
पारिवारिक जमघट तथा टाढा–टाढा पुगेका आफन्तसँग मेलमिलाप हुने भएकाले समेत यो चाड बच्चादेखि बृद्धासम्म सबैका लागि समानरुपले महत्वपुर्ण र उल्लासमय बनेको हो । नयाँ नयाँ लुगा लगाउने, पिङ खेल्ने, चङ्गा उडाउने जस्ता अवसरका कारण खासगरि बच्चाका निम्ति दशै निकै नै मनोरञ्जक चाड बनेको छ । देवीदेवताको पूजाआजा, एक अर्काबीच शुभकामना आदानप्रदान, मान्यजनबाट टीका थाप्नु, मीठा मीठा परिकार खानु दशैको थप विशेषता हो ।
वर्षमा दुईपटक दशै मनाउने गरे पनि शरद ऋतुमा मनाइने दशै विशेष महत्व दिएर मनाउने गरिएको छ । बसन्त ऋतुमा मनाइने दशै चैते दशै र शरद ऋतुमा मनाउने दशैलाई बडा दशै भनिन्छ । दशै विभिन्न नामले प्रख्यात छ । विजय दशमी, शरद पर्व, टीका, चालँ, मोहनि नखः नवरात्री, दुर्गा पूजा, बडा दशै जस्ता नामले पनि दशैलाई जनाउँछ । नेवार समूदायमा दशैलाई मोहनि नखःका रुपमा मनाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिन दशै मनाइन्छ । सत्ययुगमा देवगण र राक्षसगणबीच युद्ध हुँदा श्री दुर्गा भवानीले महिषासुरलगायत अन्य दैत्यलाई संहार गरेको दिनका रुपमा पनि बडा दशै मनाइन्छ । त्यस्तै अर्को धार्मिक कथा अनुसार त्रेता युगमा मर्यादा पुरुषोत्तम श्री रामले श्री दुर्गा भवानीको आराधना गरी रावणको संहार गरेको दिन पनि आश्विन शुक्ल दशमी नै हो । त्यसैले दशैलाई आसुरी शक्ति माथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयका प्रतिक रुपमा समेत मनाउने परम्परा रहि आएको छ ।
दशैको पहिलो दिन घटस्थापनामा दशैलाई स्वागत गर्ने क्रममा जमरा राखिन्छ । पूजा कोठा तथा दशै घरमा जमरा राख्ने क्रममा दीयो, कलश र गणेश स्थापना गरी नदी, खोला एवम तालतलैयाबाट ल्याइएको बालुवामा जौ, गहुँलगायत छरि जमरा उमार्ने गरिन्छ । यसरी उमारिएको जमरा विजयादशमीमा आफ्ना कुलदेवतालाई अर्पण गरी टीका लगाउँदा शिरमा सिउरिने प्रचलन रहेको छ । जमरालाई अन्यन्तै पवित्र फूलको रुपमा लिइन्छ । जमराको धार्मिक महत्वसँग भगवान रामको कथासमेत जोडिएको छ । भगवान रामले रावणसँग युद्ध गर्न लागेको समय शक्तिस्वरुपा देवी भगवतीसँग शक्तिको आराधना गर्दा अत्यन्तै चोखो फूलको रुपमा जमरा चढाएका थिए भन्ने धार्मिक कथा छ । त्यसैले विजयको प्रतिक मानिने बडा दशैमा जमरा लगाउने गरिएको हो ।
दशैको अवसरमा नेपालका विभिन्न स्थानमा जात्रा तथा पर्व मनाउने परम्परा समेत रहि आएको छ । घटस्थापनाको भोलीपल्ट काभ्रेको साँगामा नवदुर्गाको नाँच देखाउने परम्परा छ । मल्लकालीन शासनकालदेखि नै यहाँ नवदुर्गा नाँच देखाउन थालिएको विश्वास गरिन्छ ।
बडा दशै मातृ शक्तिका रुपमा रहेका देवीहरुको पूजा आराधना गरिने पर्व पनि हो । त्यसैले घटस्थापनादेखि नै सुरु हुने नवरात्रका नौ दिनसम्म विभिन्न शक्तिपीठमा गई श्रद्धाभक्तिपूर्वक नवदुर्गा तथा अष्टमातृकाको आराधना गर्ने गरिन्छ । नवरात्रमा पुजिने नवदुर्गाका रुपमा शैलपुत्रि, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री रहेका छन् । त्यस्तै घर–घरमा दुर्गा सप्तसति चण्डि पाठ गर्ने चलन समेत रहि आएको छ । दशैको नवरात्रभर काठमाडौँका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, शोभा भगवती, कालिकास्थान, नक्साल भगवती, पचली भैरव, हयग्रीव भैरव लगायत पलाञ्चोक भगवती, मनकामना, तानसेन भगवती, गढीमाईजस्ता प्रशिद्ध शक्तिपीठमा गई दर्शनार्थीले नवदुर्गा भवानी र अष्टमातृकाको पूजा–अर्चना गर्ने गर्दछन् ।
नवरात्रीको चौथो दिन काठमाडौँ सहरको तल्लो भेगका बासिन्दाले घ्याम्पोरुपी पचली भैरवलाई पचली भैरव मन्दिरमा लगी विराजमान गराउछन् । सो दिनको भोलीपल्ट अर्थात पञ्चमीका दिन पचली भैरवको ठूलो पूजा आराधना गरी पचिमरः जात्रा मनाइन्छ । दशैकै अर्को महत्वपुर्ण दिन हो फूलपाती । फूलपाती नवरात्रीको सप्तमीमा पर्छ । घटस्थापना देखि नै दशै सुरु भए पनि खास चहलपहल भने फूलपाती देखि सुरु हुन्छ । यस दिन काठमाडौँको हनुमान ढोका दरबार परिसरमा अवस्थित तलेजु भवानीलाई मूलचोकमा हर्ष बढाइका साथ विराजमान गराइन्छ । यही दिन फूलपाती लिन हनुमान ढोकाबाट गुरुजु पल्टनका साथ हर्ष बढाइ गर्दै जमल जाने गरिन्छ । र, नुवाकोटबाट ल्याइएको फूलपाती हर्ष बढाइँ गर्दै जमलबाट हनुमान ढोकास्थित दशै घरमा भित्र्याइन्छ । दशै सुरु भए लगत्तै ललितपुरको खोकनामा सिकाली जात्रा आरम्भ हुन्छ । घटस्थापनादेखि नै सुरु भएको सिकाली जात्रा फूलपातीका दिन समापन हुन्छ । यस क्षेत्रकै मुख्य जात्रा विजयादशमी भन्दा अघि नै सकिएका कारण तथा जमरा राख्ने परम्परा नभएकले खोकनाबासीले दशैमा टीकाटालो गर्दैनन् ।
बडा दशैका महत्वपुर्ण दिनमध्ये अष्टमी पनि एक हो । यस दिन महाकाली, महालक्ष्मी, महासरस्वती, नवदुर्गा एवम अष्टमातृकाको आराधना गरिन्छ । नेवार समूदायमा यस दिनलाई कुछी भ्वय भनि सपरिवार भेला भई पूजा आजा गरी केराको पातमा राखी भोज खाने चलन छ । महाअष्टमीको रातमा कालरात्री मनाइन्छ ।। कालरात्रीमा राती गुप्त पूजा गरी दुर्गा भवानीलाई वलि पूजा गरिन्छ ।
कालरात्री देखि नवरात्रको नवौ दिनसम्म हनुमान ढोका दरबारभित्र रहेको मूल चोकमा ठूलो वलि पूजा गरिन्छ । नवमीका दिन हनुमान ढोका दरबार परिसरमा अवस्थित तलेजु भवानीको मन्दिर खोलिन्छ । वर्षको एक पटक महानवमीमा मात्रै खोलिने भएकाले यस मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्दछ । महानवमीकै रात नौ कुमारीलाई तलेजु मन्दिर भित्र लगि तलेजु भवानीको दर्शन गराएपश्चात नौ कुमारी छान्ने गरिन्छ । नौ कुमारी छानी सके पछि जीवित कुमारीलाई पनि तलेजु मन्दिरभित्र लगि तान्त्रिक विधिबाट पूजा तथा दर्शन गराइन्छ । महानवमीकै राती तारणी भवानीको खड्ग जात्रा समेत सम्पन्न हुन्छ । यसै दिन भक्तपुरमा राँगा जात्रा मनाउने चलन छ । नवदुर्गा मन्दिरबाट राँगोलाई महिषासुरको प्रतिक मानी ब्रह्मायणी मन्दिरतर्फ लगिन्छ । ब्रह्मायणी मन्दिर लगि सके पछि राती महिषासुर वधको स्मरणमा सो राँगोलाई वलि दिइन्छ । बडा दशैमा ब्रह्मायणी मन्दिरमा विश्व शान्तिको कामना गरी जीव बत्ति बालिन्छ । जीव बत्ति बाल्न बालकदेखि बृद्धसम्म सहभागि हुने गर्दछन् ।
विजयादशमी अर्थात टीका, यस दिन घटस्थापनाका दिन रोपिएको जमरा विधिवतरुपमा पूजा–आजा गरी निकालिन्छ । यस दिन नवरात्रभर पूजा–अर्चना गरिएका देवीदेवताका प्रसादस्वरुप वर्षभरि नै रोगव्याधीले नसताओस्, सुखशान्ति होस्, सफलता मिलोस् भनि मान्यजनका हातबाट आशिरबाद सहित टीका ग्रहण गर्ने परम्परा छ । विजयादशमीकै दिन नेवार समूदायमा खड्गा जात्राका रुपमा शक्ति सञ्चय गरी पूजाआजा गरिएका खड्ग निकाली जात्रा गर्ने प्रचलन छ । दशमीका दिनदेखि सुरु भएको टीका पूर्णिमासम्म पाँच दिनसम्मै लगाउने गरिन्छ । टीकाकै दिन जीवित देवी कुमारीको हातबाट टीका लगाउन कुमारी घर जाने चलन समेत छ ।
विजयादशीको भोलीपल्ट काठमाडौँको असनमा बालकदेखि बृद्धासम्म मिलेर खड्ग जात्रा मनाउँछन् । खड्ग जात्रालाई स्थानीय भाषामा असँ चालः भन्ने गरिन्छ । पूर्णिमाको अघिल्लो दिनदेखि काठमाडौँको हाँडीगाउँमा चोक्ते नारायणको जात्रा सुरु हुन्छ । कहिँ नभएको जात्राको रुपमा प्रख्यात यो जात्रामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतिकस्वरुप तीन खटलाई नगर परिक्रममा गराइन्छ । घटस्थापनाको दिनदेखि सुरु भएको बडा दशैको अन्तिम दिन कोजाग्रत पूर्णिमा हो । यसरी नेपालीहरुको महान चाड बडा दशै विधिवतरुपमा अर्को वर्षसम्मका लागि समापन हुन्छ ।
प्रतिक्रिया