निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
सारांश
- ‘बहुराष्ट्रवाद’को विषयले राष्टिय जनता पार्टी नेपालमा विवाद देखिएको छ ।
- प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको घोषणा पत्रमा ‘बहुराष्ट्रवाद’ उल्लेख भएपछि राजपामा विवाद उत्पन्न भएको हो ।
- राजपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।
‘बहुराष्ट्रवाद’को विषयले राष्टिय जनता पार्टी नेपालमा विवाद देखिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको घोषणा पत्रमा ‘बहुराष्ट्रवाद’ उल्लेख भएपछि राजपामा विवाद उत्पन्न भएको हो ।
राजपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीमा कुनै निर्णय नभए पनि युरोपियन देशहरूको प्रभाव र दबाबमा परेर अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले घोषणापत्रमा ‘बहुराष्ट्रवाद’ उल्लेख गरेको आरोप अध्यक्षमण्डलकै केही सदस्यले लगाएका छन् ।
राजपाभित्र ‘बहुराष्ट्रवाद’को पक्षमा ठाकुरसँगै अनिल झा खुलेरै देखिएका छन् । अध्यक्ष मण्डलकै सदस्यहरू शरदसिंह भण्डारी र महेन्द्र राय यादव विपक्षमा छन् भने राजेन्द्र महतो र राजकिशोर यादवले मुख खोलेका छैनन् ।
संविधान निर्माणको विरोधमा आन्दोलित तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसमक्ष राखेको ११ बुँदे मागमा पनि ‘बहुराष्ट्रवाद’ को विषय उल्लेख थियो । तर, पछि मधेसवादी दलहरूले छाडेका थिए ।
निर्वाचनको मुखैमा फेरि यो विषय घोषणापत्रमा उल्लेख भएपछि अध्यक्ष मण्डलका संयोजक ठाकुरको नियतमाथि राजपाकै नेताले प्रश्न उठाएका छन् ।
प्रतिक्रिया