Friday, May 3
Shadow

कुमार पाैडेल हत्या प्रकरण : दाेषीलाई उम्काउने गृहकाे लविङबाट आयाेग रुष्ट


  • -इ
  • इ+

काठमाडौ । विप्लव नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेल मृत्यु प्रकरणमा सुरक्षा अधिकारीमाथि भएको कारबाही सिफारिस पुनर्विचार गर्न गृह मन्त्रालयकाे लविङबाट राष्ट्रिय मानव अधिकार आयाेग रुष्ट बनेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गृहले सुरक्षाकर्मीविरुद्ध कारबाही चलाउँदा शान्ति सुरक्षा र प्रहरी मनोवलमा असर पर्ने दाबीसहित कारबाही सिफारिस फिर्ता लिनुपर्ने आशयसहितकाे पत्र प्रेेेेेषित गरेकाे छ।

पौडेललाई प्रहरी नियन्त्रणमा लिएर हत्या गरिएको निष्कर्षसहित राष्ट्रिय मानवअधिकार आयोगले घटनामा संलग्नताको किटानसहित प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मि श्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो। यस्तै प्रहरी निरीक्षकद्वय किरणप्रसाद न्यौपाने र सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्कामा त्रुटिपूर्ण कार्य गरेको भन्दै सचेत गराउन भनिएको थियो।

आयोगले उक्त घटनामा प्रहरीलाई निर्देशन दिने पदाधिकारी माथि कानुनी कारवाहीका लागि सरकारलाई निर्देशन दिएको थियो। यति मात्र नभइ घटनामा प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारी, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिमाथि समेत अनुसन्धान गरी कानुन बमोजिम कारवाही चलाउन भनिएको थियो।

आयोगको स्थलगत अनुसन्धानबाट पौडेलको बाँच्न पाउने न्यूनतम् अधिकारको हनन् भएको ठहरसहित छानबिनपछि मुद्दाको कारबाही अघि बढाउन सिफारिस गरिएको हो। पौडेल गत असार ४ गते मारिएका थिए। प्रहरीले भने ‘इन्काउण्टर’ मा मारिएको दाबी गर्दै आएको छ। आयोगले भने प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निर्देशनमा दुई नम्बर प्रदेश प्रहरी कार्यालयको समन्वयमा परिचालित प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि अनावश्यक बल प्रयोग गरी गोली हानेको प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रहरी प्रधान कार्यालयले आयोगको निर्णय कार्यान्वयन गर्न अप्ठ्यारो भएको भन्दै पुनर्विचारका लागि गत माघ २६ गते गृहमा परिपत्र गरेको थियो। सोही पत्रका आधारमा गृहले आयोगको निर्णय कार्यान्वयनमा पुनर्विचार हुनुपर्ने भन्दै गत फागुन १५ गते प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेको छ। गृहसचिव स्तरीय निर्णयबाट पत्र प्रधानमन्त्री कार्यालयमा पठाइएको छ।

पत्रको बोधार्थ फागुन २७ गते आयोगमा पुगेको छ। मृतक पौडेलसँग सर्लाही घटनामा संलग्न भनिएका प्रहरी कर्मचारीको कुनै पूर्व रिसइवी नरहेको र मृत्युपश्चात सम्बन्धित प्रहरी कर्मचारीले कुनै प्रकारको बढुवा, सरुवा, पुरस्कार वा कुनै लाभ लिएको नदेखिएको व्यहोरा पत्रमा छ। ‘विशुद्ध कर्तव्य पालनाका क्रममा आत्म रक्षाको सिलसिलामा भएको बल प्रयोगबाट आक्रमणकारीको मृत्यु भएको घटनालाई आधार बनाई कर्तव्य परायण प्रहरीमाथि गम्भीर प्रकृतिको फौजदारी अभियोग चलाउँदा’, गृहको पत्रको व्यहोरामा उल्लेख छ, ‘विषम परिस्थितिमा सिमित स्रोत साधनको बाबजुत ज्यानसमेत पर्वाह नगरी अहोरात्र खटिने प्रहरी कर्मचारीको मनोबल खस्कन गइ देशको शान्ति सुरक्षा र जनताको जिउधनको सुरक्षा प्रदान गर्ने कार्यमा नकरात्मक प्रभाव पर्दछ।’

आयोगको स्थलगत अनुसन्धानबाट पौडेललाई ९ गोली हानी मारिएको प्रतिवेदन बुझाइएको छ। दोहोरो भीडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको ठहर आयोगको छ। प्रहरी कारबाहीमा मृत्यु भएको भन्ने घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का तयार गर्दा ‘मेडिको लिगल’ दृष्टिकोणबाट समेत त्रुटि देखिएको भनाइ आयोगको छ। गृहको भनाइप्रति आयोग रुष्ट देखिएको छ। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार यो विषयमा आयोगले चाँडै छलफल गरी कडा प्रतिक्रिया दिने तयारीमा छ ।

अन्नपुर्ण पाेष्टबाट ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्