Saturday, May 4
Shadow

अन्तिम अवस्था आएमा रुसले परमाणु हतियार प्रयोग गर्न सक्छ : रूस


  • -इ
  • इ+

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले परमाणुअस्त्र प्रयोग गर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताएका छन्। सीएनएन टेलिभिजनलाई दिएको एउटा अन्तर्वार्तामा पेस्कोभलाई रुसले कस्तो अवस्थामा आफ्नो परमाणु क्षमताको प्रयोग गर्छ भनेर सोधिएको थियो।

उनले आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे त्यसो हुन सक्ने बताएका हुन्। त्यस्तो खतराका आयाम रुसको घरेलु सुरक्षा अवधारणामा समाविष्ट भएको उनले उल्लेख गरे। युक्रेनमा भइरहेको युद्धलाई प्रवक्ता पेस्कोभले विशेष सैनिक कारबाहीको सङ्ज्ञा दिए।  त्यसको उद्देश्य रुसको छेउछाउबाट रुस विरोधीहरूलाई निमिट्यान्न पार्ने रहेको टिप्पणी समेत उनले गरे।

पेस्कोभका टिप्पणीलाई अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले खतरनाक भन्दै एक जिम्मेवार परमाणुशक्तिले गर्ने व्यवहार त्यस्तो हुन नहुने बताए। युक्रेनमा अतिक्रमण भएको तीन दिनपछि रुसी राष्ट्रपति पुटिनले आफ्ना परमाणुबललाई उच्च सतर्कतामा रहन आदेश दिएका थिए। त्यो आदेशको शक्ति राष्ट्रका साथै संयुक्त राष्ट्रसङ्घले समेत चर्को निन्दा गरेको थियो।

त्यतिबेला विश्लेषकहरूले पुटिनको आदेशलाई मस्कोले परमाणुअस्त्र प्रयोग गरिहाल्ला भन्दा पनि उनले सम्भवतः अरू देशलाई युक्रेनको मामिलामा संलग्न नहुन चेतावनी दिएको अर्थमा बुझ्नुपर्ने बताएका थिए। त्यसैगरी पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धप्रति राष्ट्रपति पुटिनको आक्रोश र नेटोबाट रुसलाई खतरा रहेको भन्ने उनको डरका कारण सिर्जित अवस्थाको सङ्केतको रूपमा पनि त्यसलाई हेरिएको थियो।

विज्ञहरूले पुटिनका प्रवक्ताको पछिल्लो भनाइलाई रुसको पारमाणविक नीतिमा आएको परिवर्तनको रूपमा अर्थ्याउन नहुने बताएका छन्। ‘परमाणुअस्त्र प्रयोगसम्बन्धी लामो समयदेखिको उनीहरूको नीतिबारे यो पुनरभिव्यक्ति हो, कुनै नयाँ कुरा होइन,’ आईसेक पार्ट्नर्स एन्ड एनजीसी सेक्यूरका पूर्वप्रमुख सुरक्षा सल्लाहकार म्याट टेटले ट्वीट गरेका छन्।

‘मलाई गलत नठान्नुहोला, आफ्ना परमाणुअस्त्रलाई लिई अमेरिकाले चिन्ता गरेको देखेर उनीहरू आनन्द मान्छन्। तर पेस्कोभको अभिव्यक्ति उनीहरूको नीतिमा परिवर्तन आएको सङ्केत होइन,’ उनले थपेका छन्। सन् २०१८ को एउटा वृत्तचित्रमा पुटिनले भनेका थिएः ‘कसैले रुसलाई नष्ट गर्ने सोचेमा प्रतिकार गर्ने हामीसँग कानुनी अधिकार छ।

हो, त्यो मानवजाति र विश्वका लागि विनाशकारी हुनेछ।’ ‘तर म रुसको नागरिक हुँ र यसको प्रमुख हुँ। हामीलाई रुसबिनाको विश्व किन चाहियो ?’ -बीबीसी

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्