अमेरिकी राष्ट्रपतिका मित्र तथा पूर्वसल्लाहकारलाई जेलसजाय

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
अमेरिकी राष्ट्रपतिका मित्र तथा पूर्वसल्लाहकारलाई जेलसजाय

सारांश

  • बीबीसी।
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका मित्र तथा पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिना जेलसजाय सुनाएकी न्यायाधीशले उनीप्रति "घृणा" व्यक्त गरेकी छन्।
  • कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा ६७ वर्षीय स्टोनलाई गत नोभेम्बर महिनामा दोषी पाइएको थियो।

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका मित्र तथा पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिना जेलसजाय सुनाएकी न्यायाधीशले उनीप्रति "घृणा" व्यक्त गरेकी छन्।

कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा ६७ वर्षीय स्टोनलाई गत नोभेम्बर महिनामा दोषी पाइएको थियो।

स्टोनले आफूलाई धम्काएको न्यायाधीशले बताएकी छन् भने ट्रम्पले उनलाई सफाइ दिइनुपर्ने बताएका छन्।

सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएका स्टोन ट्रम्पका छैटौँ सल्लाहकार हुन् जो दोषी ठहर भएका छन्।

विकिलिक्ससँग सम्पर्क स्थापित गर्ने आफ्ना प्रयासहरूबारे संसद्‌को गुप्तचर समितिसमक्ष झूटो बोलेको भन्दै स्टोनलाई दोषी ठहर गरिएको हो।

विकिलिक्सले ट्रम्पका डेमोक्र्याटिक प्रतिद्वन्द्वी हिलरी क्लिन्टनसम्बन्धी चुहावट गरिएका इमेलहरू सार्वजनिक गरेको थियो।

अमेरिकी गुप्तचर अधिकारीहरूका अनुसार रुसी ह्याकरहरूले क्लिन्टनसम्बन्धी इमेलहरू चुहावट गरेका थिए।

स्टोनलाई २० हजार डलर जरिवाना तिर्न र समुदायमा २५० घण्टा सेवा गर्न पनि न्यायाधीशले आदेश दिएकी छन्।

अभियोजनकर्ताहरूले स्टोनविरुद्ध सातदेखि नौ वर्षको जेलसजाय सुनाउन माग गरेका थिए।

वाशिङ्टन डीसी अदालतमा बिहीवार आदेश सुनाउँदै न्यायाधीश एमी बर्मन ज्याकसनले स्टोन आफूलाई "धम्काउने र प्रभावित पार्ने" काममा संलग्न रहेको बताइन्।

न्यायाधीश ज्याकसनले गत वर्ष आफ्नो टाउकोको छेउमा बन्दुकको चित्र राखेर सामाजिक सञ्जालमा तस्वीर राखेका स्टोनलाई "आफूले के गरिरहेको छु भन्ने कुरा राम्ररी थाहा रहेको" उल्लेख गरिन्।

उनले भनिन्, "न्यायको शासनका लागि यो असहनीय कुरा हो। अदालत केही नगरी 'रोजरले आफूलाई मन परेको कुरा गरेका हुन्' भन्दै बस्न सक्दैन।"

न्यायाधीश ज्याकसनले राष्ट्रपतिको पक्षमा उभिएकोले नभई राष्ट्रपतिका कामलाई ढाकछोप गरेको अभियोगमा चाहिँ स्टोनलाई दोषी ठहर गरिएको हो।

गत हप्ता अभियोजनकर्ताहरूले स्टोनलाई सातदेखि नौ वर्षको जेलसजाय सुनाउन सिफारिश गरेपछि ट्रम्पले आपत्ति जनाएका थिए।

त्यत्रो जेलसजाय "डरलाग्दो र पूर्वाग्रही" हुने भन्दै उनले ट्वीट गरेका थिए।

त्यसलगत्तै न्याय मन्त्रालयले स्टोनलाई दिइने जेलसजाय घटाउने गरी मागदाबी गर्ने बतायो।

न्याय मन्त्रालयको त्यो योजनालाई लिएर चारजना अभियोजनकर्ता उक्त मुद्दाबाट अलग भए भने एक जनाले मन्त्रालय नै छाडे।

बिहीवार न्यायाधीश ज्याकसनले मुद्दामा न्याय मन्त्रालयको हस्तक्षेप "अभूतपूर्व" भएको टिप्पणी गरिन्।

अदालतको आदेशपछि लस भेगासमा बोल्दै ट्रम्पले स्टोनको प्रतिरक्षा गरे।

उनले स्टोनलाई माफी दिने तत्काल आफ्नो योजना नरहे पनि एउटा बिन्दुमा आफूले निर्णय लिने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?