स्थापना दिवसमा पनि बाढीपीडितको सेवामा रेडक्रस, पाँच हजार जनशक्ति परिचालन
सारांश
- सिन्धुपाल्चोक र रसुवा क्षेत्रका भोटेकोशी एवम् त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य तीव्र पारिरहेकै अवस्थामा नेपाल रेडक्रस सोसाइटीले आफ्नो ६४औँ स्थापना दिवस मनाएको छ।
- हालैको विपद् पछि प्रभावित परिवारलाई राहत, सरसफाइ तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।
- ‘मानवताको लागि एकबद्ध होऔँ’ भन्ने मूल नाराका साथ मनाइएको यस दिवसका अवसरमा महामन्त्री ऋषिरमण खनालले सन्देश जारी गर्दै विपद्को बेला अग्रपङ्क्तिमा खटिने स्वयंसेवकहरूको योगदानको उच्च कदर गर्नुभएको छ।
सिन्धुपाल्चोक र रसुवा क्षेत्रका भोटेकोशी एवम् त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य तीव्र पारिरहेकै अवस्थामा नेपाल रेडक्रस सोसाइटीले आफ्नो ६४औँ स्थापना दिवस मनाएको छ। हालैको विपद् पछि प्रभावित परिवारलाई राहत, सरसफाइ तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।
‘मानवताको लागि एकबद्ध होऔँ’ भन्ने मूल नाराका साथ मनाइएको यस दिवसका अवसरमा महामन्त्री ऋषिरमण खनालले सन्देश जारी गर्दै विपद्को बेला अग्रपङ्क्तिमा खटिने स्वयंसेवकहरूको योगदानको उच्च कदर गर्नुभएको छ। भदौ १० गतेको बाढी प्रभावित परिवारका लागि संस्थाले स्थापना कालदेखिको मानवीय धर्म निभाउँदै विशेष प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको हो।
नेपाल सरकारको सहयोगीका रूपमा देशभर स्वास्थ्य, रक्तसञ्चार र विपद् व्यवस्थापनमा सक्रिय यस संस्थामा हाल करिब १० लाखभन्दा बढी स्वयंसेवकहरू आबद्ध रहेका छन्। सातै प्रदेश, ७७ जिल्ला शाखा र हजारौँ उपशाखामार्फत हरेक वर्ष करिब ३५ लाख नागरिकले यसका विभिन्न मानवीय सेवाहरूबाट प्रत्यक्ष लाभ उठाउँदै आएका छन्।
हाल बाढीप्रभावित दुर्गम क्षेत्रमा खोज, उद्धार, त्रिपाल, कम्बल र सरसफाइ सामग्री वितरणका लागि झन्डै पाँच हजार जना जनशक्ति तथा स्वयंसेवक परिचालन गरिएको छ। विपद् व्यवस्थापनलाई थप व्यवस्थित बनाउन प्राथमिक उपचार बक्स, शव व्यवस्थापन झोला र अस्थायी शौचालय निर्माण जस्ता अत्यावश्यक कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।
नेपालमा विक्रम संवत् २०२० भदौ १९ गते स्थापित यो संस्था अन्तर्राष्ट्रिय रेडक्रस अभियानको अभिन्न अङ्गका रूपमा कार्यरत छ। भविष्यमा बाढीप्रभावित क्षेत्रमा उत्थानशील समुदाय निर्माणका लागि पुनर्लाभ कार्यक्रम सञ्चालन गर्न आइएफआरसी, आइसीआरसी तथा अन्तर्राष्ट्रिय साझेदार निकायसँग सहकार्य गर्ने अपेक्षा गरिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया