भोटेकोशीका बाढीपीडितलाई शाही युवा शक्तिद्वारा खाद्यान्न तथा राहत सामग्री वितरण
सारांश
- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित बनेका नागरिकहरूलाई सहयोग पुर्याउने उद्देश्यका साथ शाही युवा शक्ति नेपालले आपत्कालीन राहत सामग्री वितरण गरेको छ।
- प्राकृतिक विपत्तिका कारण गाँस र बासको समस्या झेलिरहेका स्थानीयहरूलाई तत्काल राहत प्रदान गर्नका लागि यो अभियान सञ्चालन गरिएको हो।
- शाही युवा शक्ति नेपालका महामन्त्री रेशम चन्द्र मल्लका अनुसार राजी राणा निजी गुठीको सहकार्यमा मंगलबार सो राहत सामग्री हस्तान्तरण गरिएको हो।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित बनेका नागरिकहरूलाई सहयोग पुर्याउने उद्देश्यका साथ शाही युवा शक्ति नेपालले आपत्कालीन राहत सामग्री वितरण गरेको छ। प्राकृतिक विपत्तिका कारण गाँस र बासको समस्या झेलिरहेका स्थानीयहरूलाई तत्काल राहत प्रदान गर्नका लागि यो अभियान सञ्चालन गरिएको हो।
शाही युवा शक्ति नेपालका महामन्त्री रेशम चन्द्र मल्लका अनुसार राजी राणा निजी गुठीको सहकार्यमा मंगलबार सो राहत सामग्री हस्तान्तरण गरिएको हो। विदुर, ढुंगे र होल्डिङ सेन्टर लगायतका प्रभावित क्षेत्रमा पुगेर करिब ३ सयभन्दा बढी बाढीपीडित नागरिकहरूलाई प्रत्यक्ष रूपमा सहायता उपलब्ध गराइएको छ।
पीडित परिवारहरूलाई खाद्यन्नतर्फ ४ सय ५० बोरा चामल, दाल, नुन र तेलका साथै ५० दर्जनभन्दा बढी मिनरल वाटर वितरण गरिएको छ। यसका अलावा १ सय ३० सेट ग्यास चुलो, अति आवश्यक भाँडाकुडा, लत्ताकपडा र ओत लाग्नका लागि त्रिपाल समेत हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
राहत सामग्री सुरक्षित रूपमा प्रभावित क्षेत्रसम्म पुर्याउन काठमाडौँबाट ३ वटा ठूला र ४ वटा साना गरी कुल ७ वटा गाडी प्रयोग गरिएको थियो। शाही युवा शक्ति नेपालको टोली आफैँ बाढीग्रस्त स्थलमा खटिएर पीडित परिवारहरूका हात-हातमै राहत सामग्री हस्तान्तरण गरेको महामन्त्री मल्लले जानकारी दिनुभएको छ।
विपत्तिमा परेका नागरिकलाई तत्काल सहायता पुर्याउने प्राथमिकताका साथ संस्थाले यो कार्य सम्पन्न गरेको छ। हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेको यस संस्थाले मानवीय सङ्कटको यस घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै राहत वितरण कार्यलाई अगाडि बढाएको जनाएको छ।
प्रतिक्रिया