आरोप–प्रत्यारोपमा नेविसंघका पदाधिकारी
सारांश
- काठमाडौं, माघ ३ ।
- कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा पदाधिकारीहरूबीचको विवाद बढेको छ ।
- प्रधानमन्त्री देउवानिकट अध्यक्ष नैनसिंह महर र कृष्णप्रसाद सिटौलानिकट पदाधिकारी आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
काठमाडौं, माघ ३ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा पदाधिकारीहरूबीचको विवाद बढेको छ । प्रधानमन्त्री देउवानिकट अध्यक्ष नैनसिंह महर र कृष्णप्रसाद सिटौलानिकट पदाधिकारी आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
दुवै गुटका नेताले एक–अर्कालाई कारबाहीको चेतावनी दिइरहेका छन् । अध्यक्ष महरले समानान्तर गतिविधि गरेको भन्दै प्रदेश नं. ३ का उपाध्यक्ष रामप्रसाद अधिकारी र विधानविपरीत संगठनको तर्फबाट गलत काम गरेको भन्दै अनुशासन समितिका संयोजक राजेश रौनियारलाई स्पष्टीकरण सोधेका छन् । स्रोतका अनुसार रौनियारलाई स्पष्टीकरणको जवाफ आएपछि जिम्मेवारीबाट हटाउने तयारी छ ।
सिटौलानिकट मानिएका उपाध्यक्ष रामप्रसाद अधिकारी, महामन्त्री कुन्दन काफ्लेलगायतले अध्यक्ष महरले नेविसंघलाई गतिशील बनाउन नसकेको आरोप लगाउँदै आएका छन् । उनीहरूले अध्यक्षको अनुमति नलिई बुधबार धादिङमा प्रदेश नं ३ स्तरीय कार्यकर्ता प्रशिक्षण गर्दै छन् । प्रदेश नं. ३ का उपाध्यक्ष रामप्रसाद अधिकारीले अध्यक्षले मनोमानी गरेको र संगठनलाई तदर्थवादमा चलाएकाले संयोजकको हैसियतमा कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।आजको नयाँपत्रिका दैनिकमा खबर छ
समानान्तर कार्यक्रम
केन्द्रीय महाधिवेशन सम्पन्न भएको डेढ वर्ष हुँदा पनि महर नेतृत्वले जिल्ला तथा क्याम्पस अधिवेशन गर्न नसकेको आरोप उपाध्यक्ष अधिकारीले लगाएका छन् । ‘अधिवेशन हुन बाँकी ११ जिल्ला तथा केही क्याम्पसहरूमा तीन महिनाभित्र विधिवत् अधिवेशन सम्पन्न गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन । त्यसैले, संगठनको आन्तरिक गतिशीलताका लागि प्रदेश न. ३ को धादिङमा प्रदेशस्तरीय कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने ।
विधानअनुसार नै चलेको छु : अध्यक्ष महर
कार्यसमितिका केही व्यक्तिले विधानविपरीत समानान्तर कार्यक्रम अघि बढाएकाले कारबाही प्रक्रिया अघि बढाएको अध्यक्ष नैनसिंह महरले बताए । अध्यक्ष महरले भने, ‘म विधानअनुसार नै अघि बढेको छु, समानान्तर गतिविधि गर्ने र संगठनविरुद्ध जानेलाई स्पष्टीकरण सोधेको छु, जवाफ आएपछि त्यसबारे निर्णय हुन्छ ।’
केन्द्रीय कमिटीले सरकारसमक्ष आठबुँदे माग राखेर आन्दोलन गरिरहेका वेला केही व्यक्तिले समानान्तर गतिविधि गरेको अध्यक्ष महरको आरोप छ । प्रदेशस्तरीय कार्यक्रम गर्ने निर्णय भए पनि ठूलो आन्दोलन चलेका वेला सल्लाह नगरी कार्यक्रम गरेर उपाध्यक्ष अधिकारीले समानान्तर गतिविधि गरेको उनको आरोप छ । उनले ५ माघदेखि अनसनको समेत तयारी भएका वेला यस्तो आन्दोलनलाई ओझेलमा पार्ने गरी समानान्तर गतिविधि गर्न नमिल्ने बताए ।
सबै नियमित विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा गर्नुपर्ने, सबै नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नुपर्ने, बेरोजगार जनशक्तिलाई भत्ताको व्यवस्था गर्नुपर्ने, प्राविधिक उच्च शिक्षाको ग्यारेन्टी गर्न सातवटै प्रदेशमा एक-एक मेडिकल कलेज, इन्जिनियरिङ कलेज र कृषि क्याम्पस तत्काल स्थापना गर्नुपर्नेलगायत माग राखेर नेविसंघले आन्दोलन गरिरहेको छ । सबै स्थायीन तहमा कम्तीमा एक प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने, उच्च शिक्षामा सबैको पहुँच पु¥याउन सर्टिफिकेट धितो राखेर (अध्ययन ऋण) लिने प्रबन्ध मिलाउनुपर्नेलगायत माग नेविसंघले राखेको छ ।
अध्यक्ष विधानविपरीत चले : महामन्त्री काफ्ले
नेविसंघ महामन्त्री कुन्दन काफ्लेले अध्यक्ष नैनसिंह महर लोकतान्त्रिक विधि र विधानविपरीत चलेको आरोप लगाए । प्रदेश नं. ३ का उपाध्यक्ष रामप्रसाद अधिकारीले गरेको कार्यक्रम विधानअनुसार नै रहेको उनको भनाइ छ । ‘अध्यक्षज्यूले नेविसंघको विधान पढ्नुपर्नेछ, उहाँले अध्यक्ष भएपछि केही काम गर्न सक्नुभएन, हामीले संगठन अघि बढाउन धेरै घच्घच्यायौँ तर उहाँले नसुनेपछि समस्या भयो,’ महामन्त्री काफ्लेले भने ।
प्रतिक्रिया