आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा !
सारांश
- वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा गत शनिबार धर्मशाला शिलान्यास गरे ।
- वडाध्यक्ष श्यामबाबु चौरसिया र मेयर सरावगीले ६० लाख रुपैयाँमा निर्माण हुने धर्मशालाको एक कार्यक्रमबीच शिलान्यास गरे पनि नगर परिषद्बाट धर्मशाला निर्माण गर्ने योजना भने पारित भएको छैन ।
- मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत महिनादेखि नै आचारसंहिता लागिसकेको छ ।
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा गत शनिबार धर्मशाला शिलान्यास गरे । वडाध्यक्ष श्यामबाबु चौरसिया र मेयर सरावगीले ६० लाख रुपैयाँमा निर्माण हुने धर्मशालाको एक कार्यक्रमबीच शिलान्यास गरे पनि नगर परिषद्बाट धर्मशाला निर्माण गर्ने योजना भने पारित भएको छैन ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत महिनादेखि नै आचारसंहिता लागिसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साका प्रवक्ता युवराज अधिकारीका अनुसार आचारसंहिता लागू भएपछि चालु योजनामा परेका बाहेक अन्य कुनै पनि निर्माण कार्य गर्न पाइँदैन । ‘मतदातालाई प्रभाव पार्ने किसिमले कुनै पनि निर्माण कार्य गर्न पाइँदैन,’ उनले भने ।
वडाध्यक्ष चौरसियाका अनुसार आगामी पुस १२ गते बस्ने नगर परिषदको बैठकमा धर्मशाला निर्माण गर्ने योजना पारिनेछ । ‘त्यतिखेर नै बजेट पनि पास गराउँछौं,’ उनले भने, ‘महानगरपालिका र वडाको बजेटबाट धर्मशाला निर्माण गर्ने योजना छ ।’
जानकारका अनुसार चुनावको मुखमा मेयर सरावगीले विभिन्न प्रलोभन दिएर मतदाता आकर्षित गर्न खोजेका छन् । कुल ३२ वडा रहेको महानगरपालिका पर्सा १ र २ नम्बर क्षेत्रमा पर्छ । उनी संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका हुन् । धर्मशाला शिलान्यास गरेकै दिन सरावगीले नगवामा केही व्यक्तिलाई पार्टी प्रवेशसमेत गराएका थिए ।
स्थानीय उमेश यादवका अनुसार नगवामै रहेको मुस्लिम धर्मावलम्बीहरूको इदगाहका लागि मेयरले पर्खाल निर्माण गरिदिने आश्वासन बाँडेका थिए । चुनावको मुखमा मतदाता र ठेकेदार प्रभावित पार्न मेयरले अनेक आश्वासन बाँडिरहेका छन् । उनको यस कार्यको अन्य दलले भने विरोध गरेका छन् ।
आचारसंहिता उल्लंघनमा फोरम मात्र सक्रिय छैन । कांग्रेसले वीरगन्जको सौराहामा मतदाता आकर्षित गर्न चापाकाल वितरण गरेको सूचना आएपछि मुख्य निर्वाचन अधिकृतको टोली तत्काल पुगेर नियन्त्रणमा लियो ।
वाम गठबन्धनका पर्सा २ का उम्मेदवार पनि आफ्नो अस्पतालको गाडीमै साउन्ड बक्स जडान गरी चुनावी गीत बजाउँदै घरदैलो गरिरहेका छन् । चारवटासम्म चारचक्के सवारी प्रयोग गर्न पाइने प्रावधान भए पनि यहाँका प्रत्येक उम्मेदवारले दर्जनभन्दा बढी गाडी प्रयोगमा ल्याइरहेका छन् । – कान्तिपुर दैनिकबाट ।
प्रतिक्रिया