उडाइदिन्छ जिन्दगी
सारांश
- विजय तिमिल्सिना क्यान्सर हस्पिटलबाट निस्कनासाथ चुरोट सल्काउन आतुर हुन्छ ।
- भित्र बिरामीको अवस्था देख्दा किन खान्छन् मान्छे चुरोट, किन खान्छु म ?
- आफै पनि साह्रै ग्लानी हुन्छ ।
विजय तिमिल्सिना
क्यान्सर हस्पिटलबाट निस्कनासाथ चुरोट सल्काउन आतुर हुन्छ । भित्र बिरामीको अवस्था देख्दा किन खान्छन् मान्छे चुरोट, किन खान्छु म ? आफै पनि साह्रै ग्लानी हुन्छ । तर त्यो पीडा हस्पिटल बाहिर निस्कना साथ भुलिहालिन्छ । कस्तो लत लाग्यो लाग्यो । हरेक दिन छोड्ने कोसिस गर्छु, हरेक दिन फेल हुन्छु ।
स्कुल पढ्दा गनाउने टवाइलेटभित्र बसेर किन ज्ञानबहादुरले चुरोट तान्थ्यो ? आज बल्ल थाहा भो । ज्ञानेलाई त्यति नै बेला लत लागिसकेको थियो । पूरै बिग्रिने समयमा लाइन समाएको टोलकै उदाहरण मान्छे पनि चुरोटको लतमा फसेछ भन्दै सबैले कुरा काट्न थालिसकेछन् । मलाई भने पत्तो नै छैन ।
पाइन्टको पछिल्लो खल्तीमा एउटा कापी भिरी जब क्याम्पस पढ्न थालियो, लाग्थ्यो अब सबै सपना पूरा गर्ने ढोका खुल्यो । तर कहाँ सोचे जस्तो हुँदोरहेछ ? यो १५/१६ वर्षको उमेर पो झन डरलाग्दो हुँदोरहेछ । देखेजति सबै गर्न मन लग्ने । कुन बाटो सही कुन बाटो गलत ? छुट्याउनै गाह्रो पर्यो । देखासिकी र फेशनले छुँदै गरेको शहरमा अंग्रेजी र हिन्दी फिलिमको प्रभावमा चुर्लुम्मै डुबियो । घरमा अभिभावकको किचकिचको सामना गर्दागर्दै बल्लबल्ल २० काटियो ।
जुँगाको रेखी बसेपछि बुद्धि पनि आउँछ भन्थे, हो जस्तो पनि लाग्न थाल्यो । ठेट्नाको संगत अब कम गर्नुपर्छ र आफै कमाउनु पर्छ भन्ने लाग्यो । सधैं अभिभावकको पकेटमा भर पर्दा आफ्नो खुशीको गला रेटिएको महसुस भयो । जागिर खाने आफ्नो कमाइले आफ्नो गर्ने सोचका साथ अघि बढियो । तर पहिलो महिनाकै तलबमा घरकाको आँखा लाग्दो रैछ । अभिभावकलाई जिम्मेवारी कम भएको मात्रै होइन आधार पनि थपिदो रैछ । मेरो कमाई मेरो लागि मात्रै होइन रैछ । घरका लागि पनि खर्चिनु पर्ने ठूलो दायित्व रैछ । ममाथिको लगानी त आमाबाबुले मलाई साँवा, ब्याज उठाउने गरी दिइएको सापटीको रहेछन् ।
घडीको सुई एकनास चल्छ तर मौसम र जिन्दगीमा फेरबदल किन ? जब २÷३ वर्षकै उमेरमा घरबाट झोला बोकाई स्कूल पठाइन्छ, हो त्यही दिनदेखि नै मान्छेले तनाव बोक्न सुरु गरिसकेको हुने रैछ । पढाइको तनावमा जीवनलाई घिसार्दाघिसार्दै अर्को व्यबहारिक तनावले भेटाइहाल्छ । पढाइ, घरपरिवार, समाज र राष्ट्र सोच्दासोच्दै जीवनले पूर्ण श्वास फेर्ने समय पनि आइहाल्छ ।
अभिभावकले डाक्टर, इन्जिनियर, पाइलट, प्रोफेसर सबै बनाउने सपना देखे होलान् ? हालको परिणाम म मेरो पोजिसन खोइ कहाँ छ ? त्यो स्कुल फस्टब्वाई के गर्दैछ भनेर आज पनि मलाई स्कूल खोज्दै होला ? मेरा साथी जो मभन्दा पढाइमा कमजोर थिए, तिनीहरुले मलाई ठूलो मान्छे भएको ठान्दा हुन् । तर म चुरोटको धुवाँको मुस्लोमा हराएको छु । कहिलेकाहीं त म आफूले आफैलाई पनि भेट्दिन ।
“सोचे जस्तो हुन्न जीवन” यो गीत वास्तवमै हो जस्तो लाग्यो । जस्तो भोग्यो उस्तै हुँदोरहेछ जीवन । काम, घर, परिवार, आफन्त, समाज आदिइत्यादि भोग्दाभोग्दै जीवनले बिट मार्दै रहेछ । म जस्तै धेरैलाई यो लतले सताएको छ । सुरुमा धुवाँमा रमाउने म जस्ता धेरैको अहिले दुःख भुल्ने साथी भएको छ । सरासर गलत लतको शिकार भएको थाहा हुँदाहुँदै पनि किन यस्तो गल्ती गर्दैछु म ? आफैले आफैलाई प्रश्न गर्यो, बेतुकको प्रश्न भइरहेको छ । सुन्छु, प्रधानमन्त्रीको फोक्सोमा दाग छ रे । गृहमन्त्री सुधारको कुरा धुवाँ उडाउँदै गर्छन् रे अनि स्वास्थ्यमन्त्री पनि होशियार भन्दै चोर औंलाको ठाउँमा चुरोट ठडाउँछन रे । अर्थमन्त्रीको लत ठीक छ, उनी पैसाको लतमा भएको कुरा बेलाबेलामा भाइरल भइरहन्छ । कर्मचारी नियतमै दाग लिएर कार्यालय छिर्छन् । त्यो पनि सबैलाई थाहा भएको कुरा हो । सोच्छु दाग न भएको को छ र ? दाग चन्द्रमा पनि छ । फरक यत्ति छ कि हामी धर्तीमा अन्धकार छर्दैछौं, चन्द्रमा आकाशमा दागी भएर पनि उज्यालो दिन सफल छ ।
प्रतिक्रिया