के भन्छन् जुम्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार ?
सारांश
- जुम्लाबाट वाम गठबन्धनतर्फका प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गरेका गजेन्द्रबहादुर महत(कार्मा) ले देशमा स्थायी सरकार निर्माणका लागि आफुले उम्मेदवारी दिएको बताए ।
- जनताले आफुलाई चुनाब जिताएमा जुम्लाको विकास निर्माण, स्वास्थ्य, शिक्षा र विद्युतीय समस्या समाधान गर्ने उनको भनाई छ ।
- वामगठबन्धनतर्फ प्रदेशसभा (क) बाट मनोनयन दर्ता गरेका नरेश भण्डारीले जुम्लासँगै ६ नम्बर प्रदेशको समृद्धि र विकासका लागि आफुले उम्मेदवारी दिएको भन्दै आफ्नो सपना कार्यान्वयनका लागि जनताले भारी मतले विजयी गराउने विश्वास व्यक्त गरे ।
जुम्लाबाट वाम गठबन्धनतर्फका प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गरेका गजेन्द्रबहादुर महत(कार्मा) ले देशमा स्थायी सरकार निर्माणका लागि आफुले उम्मेदवारी दिएको बताए । जनताले आफुलाई चुनाब जिताएमा जुम्लाको विकास निर्माण, स्वास्थ्य, शिक्षा र विद्युतीय समस्या समाधान गर्ने उनको भनाई छ ।
वामगठबन्धनतर्फ प्रदेशसभा (क) बाट मनोनयन दर्ता गरेका नरेश भण्डारीले जुम्लासँगै ६ नम्बर प्रदेशको समृद्धि र विकासका लागि आफुले उम्मेदवारी दिएको भन्दै आफ्नो सपना कार्यान्वयनका लागि जनताले भारी मतले विजयी गराउने विश्वास व्यक्त गरे । प्रदेशको नेतृत्व गर्ने अवसर जुम्ली जनताले जुटाईदिएको भन्दै आफु त्यसको लागि सक्षम भएको उनले दाबी गरे । चुनावी खेलमा धेरै नेताहरु मैदान उत्रिएपनि जनताले आफुलाई न्याय गर्ने व्यक्तिलाई भोट दिनुपर्ने भण्डारीको भनाई छ ।
वाम गठबन्धनतर्फ प्रदेशसभा (ख) बाट मनोनयन दर्ता गरेका पदम रोकायाले सिंजा क्षेत्रसँगै जुम्लाको विकास र समाजसेवाका लागि आफुले उम्मेदवारी दिएको बताए । आफुले चुनाब जितेमा तत्काल नाग्म गमगढी पक्की सडक र हरेक सिंजा क्षेत्रका गाउँगाउँका सडक विस्तार गर्ने उनको भनाई छ ।
लोकतान्त्रिक गठन्धनतर्फ प्रतिनिधिसभाको मनोनयन दर्ता गरेका देबेन्द्रबहादुर शाहीले लोकतान्त्रिक विचार स्थापित गरी संविधानको अक्षरस कार्यन्वयन तथा पालना गर्न आफुले उम्मेदवारी दिएको बताए । कांग्रेस विभिन्न कालखण्डमा राणाहरु हुदै कम्युनिष्टसँग लड्दै आएकाले अब वाम गठबन्धनसँगको वैचारिक लडाई जित्ने उनले दावी गरे । चुनाब जितेमा समय अनुसार जिल्लाको विकासमा आफ्नो भुमिका रहने शाहीले बताए । लोकतान्त्रिक गठन्धनतर्फ प्रदेशसभा (क) बाट मनोनयन दर्ता गरेका राजुसिंह कठायतले कम्युनिष्ट सहितको लोकतान्त्रिक समाजवाद स्थापना गर्न आफुले उम्मेदवारी दिएको बताए । आफुले चुनाव जितेमा जिल्लाको विकास जनताले सोचभन्दा राम्रो हुने उनको भनाई छ ।
लोकतान्त्रिक गठन्धनतर्फ प्रदेश सभा (ख) बाट मनोनयन दर्ता गरेका भिमनिधि हमालले वाम गठबन्धन तोड्न र स्थानीय तहलाई बलियो बनाउन आफुले उम्मेदवारी दिएको बताए । आफुले चुनाव जितेमा स्थानीय तहलाई बलियो बनाउने र जनताको हक अधिकार स्थापित गराउने उनको भनाई छ । जुम्ला प्रदेशसभाको (ख) सिजा क्षेत्रमा हरेक गाउँमा पक्की सडक निर्माण गरी नागरिक बिरामी हुँदा सहजै स्वास्थ्य सेवाको पहुँचमा पुग्ने विश्वास व्यक्त गरे ।
नेमकिपा जुम्लाबाट पुर्व सांसद डिल्लीप्रसाद काफ्लेले प्रतिनिधिको मनोनयन दर्ता गर्दै जनताको अधिकार सुनिश्चित हुने गरी संविधान संसोधन गराउन आफुले उम्मेदवारी दिएको बताए । समाजबाद उन्मुख कार्यान्वयन गर्न र वैदेशिक हस्तक्षेप रोक्न आफ्नो उम्मेदवारी दर्ता भएको उनको भनाई छ । नेमकिपा जुम्लाका अध्यक्ष समेत रहेका शिवलाल डाँगीले प्रदेश सभा (क) बाट मनोनयन दर्ता गर्दै समाजबाद स्थापितका लागि आफुले उम्मेदवारी दिएको बताए । नेमकिपा जुम्लाका गोर्ख बुढाले प्रदेश सभा (ख) बाट मनोनयन दर्ता गर्दै जनताको आधारभुत आवश्यकता तत्काल परिपुर्तिका लागि आफुले उम्मेदवारी दिएको बताए ।
प्रतिक्रिया