ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
सारांश
- हेलिकोप्टर नपठाएरै झण्डै २ लाख ठगी उदय जीएम काठमाडौं, ३० साउन ।
- राजधानीमा रहेको मुलुककै सबैभन्दा ठूलो र सुविधासम्पन्न मानिने ग्राण्डी हस्पिटलमा हुने गरेका ठगीका नयाँ नयाँ तथ्य र शैलीहरु सार्वजनिक हुन थालेका छन् ।
- पछिल्लोपटक एम्बुलेन्समा ल्याइएकी दाङकी विरामीबाट हेलिकोप्टरको चार्ज असुल गरिएको छ ।
हेलिकोप्टर नपठाएरै झण्डै २ लाख ठगी
उदय जीएम
काठमाडौं, ३० साउन । राजधानीमा रहेको मुलुककै सबैभन्दा ठूलो र सुविधासम्पन्न मानिने ग्राण्डी हस्पिटलमा हुने गरेका ठगीका नयाँ नयाँ तथ्य र शैलीहरु सार्वजनिक हुन थालेका छन् । पछिल्लोपटक एम्बुलेन्समा ल्याइएकी दाङकी विरामीबाट हेलिकोप्टरको चार्ज असुल गरिएको छ । खाएको विष त लाग्थ्यो लाग्थ्यो, दाङकी एक विरामीलाई नखाएको विष पनि लगाइएको छ ।
घटना यही साउन १३ गतेको हो । बिहान करीव ११.४५ बजेतिर भूमे– ९ रुकुम घर भई हाल घोराही उपमहानगरपालिका मिलनचोकमा बस्दै आएकी ५६ वर्षीया रुद्रा पुनलाई अचानक हृदयघात भयो । तुरुन्तै घोराहीस्थित गोरखा अस्पताल पुराइयो । अस्पतालले तुरुन्तै काठमाडौं वा लखनऊ लैजानुपर्ने र जिल्लामा उपचार हुन नसक्ने जानकारी गरायो । विरामी रुद्रा पुनका भतिजा विकास पुनका अनुसार आत्तिएका आफन्तहरुले “ग्राण्डी अस्पतालले हेलिकप्टर र डाक्टरहरुसहित रेस्क्यू गर्छ र ग्राण्डीको छतमै हेलिप्याड छ” भन्ने सुनेका आधारमा ग्राण्डीमा सम्पर्क गरिएको थियो । अस्पतालले यातायात व्यवस्थापक आशीष आनन्दसँग सम्पर्क गराइदियो । आशीष आनन्दले ४ लाख ५० हजार रुपैयाँ अग्रिम जम्मा गरिदिएपछि तत्काल हेलिकोप्टरसहितको रेस्क्यू टोली पठाउने बताए ।
“हामीले सोहीअनुसार आशीष आनन्दले दिएको नबिल बैंकमा रहेको सुरेन्द्र बुढाथोकी खातामा १३ गते नै दिउँसो १.४५ बजेतिर जम्मा गर्यौं”, विकासले भने । रकम पनि अस्पताल वा हेलिकोप्टर कम्पनीको खातामा नभई व्यक्तिको नाममा पठाउन भनिएको छ । विकासका अनुसार त्यसको करीव ४५ मिनेटपछि आशीष आनन्दले नै फोन गरी “दाङमा मौसम खराब भएकाले हेलिकप्टर पोखरामा ल्याण्ड भयो । तपाईहरु भोलिसम्म पर्खनुस् । भोलितिर मौसम मिलेमा पठाइदिन्छौं” भने । विकास भन्छन्, “उता हामीलाई बिरामीको अवस्था थप नाजुक बन्दै गएकोले चिन्तित बनाएको थियो । त्यसमाथि ग्राण्डी अस्पतालको जिम्मेवार व्यक्तिले विरामीको अवस्था के ? कस्तो ? पर्खन मिल्ने वा नमिल्ने ? केही पनि नबुझिकन फोन काट्यो ।” त्यसपछि बिरामीलाई एम्बुलेन्समा रातारात हिडाएको विकासले बताए । साउन १४ गते बिहान काठमाडौं पुराएर नर्भिक अस्पतालमा भर्ना गरिएको र ५ दिनसम्म सघनकक्षमा राखेर उपचार गरिएको विकासले बताए । उपचारपछि विरामी निको भएको र अहिले फ्लोअपमा रहेकी छन् ।
उपचारकै क्रममा पटकपटक फोन गरेर पैसा फिर्ता दिन अनुरोध गर्दा कहिले फोन काट्ने, फोन नउठाउने, कहिले पछि गर्छु भन्ने, कहिले बिजी छु, कहिले मिटिङमा भनेर झुलाएको विकासले बताए । करीव ४÷५ दिनपछि १ लाख ८० हजार काटेर बाँकी रकम २ लाख ७० हजार फिर्ता गरिएको विकासको भनाइ छ । “हामीले हेलिकोप्टर नै प्रयोग गरेका छैनौं । अस्पतालको कुनै सेवा उपभोग गरेका छैनौं”, विकासले भने, “कसरी र कुन आधारमा हामीले त्यत्रो पैसा तिर्ने ? यो सरासर लुट हो ।”

विरामीका आफन्त विकासका अनुसार नचढेको र देख्दै नदेखेको हेलिकोप्टरको शुल्क भनेर लिइएको १ लाख ८० हजारको पनि न नगदी रसिद दिइएको छ न भ्याट बिल । विकासले भने, “अस्पताल प्रशासनसँग कुरा गर्न पनि दिइएन ।” एकातिर राजस्व छली गर्ने उद्देश्यले व्यक्तिका नाममा रकम पठाउन भन्ने र अर्कोतिर चढ्दै नचढेको र देख्दै नदेखेको हेलिकोप्टरको त्यति ठूलो रकम भाडा असुलेर ग्राण्डीले ठगिरहेको आरोप विकासको छ ।

यता, ग्राण्डी इन्टरनेशनल हस्पिटलका यातायात व्यवस्थापक आशीष आनन्दले आफू बिजी भएको भन्दै पन्छिए । उनले मिडिया कोअर्डिनेटर विनोद अधिकारीसँग यस विषयमा कुरा गर्न भने । मिडिया कोअर्डिनेटर विनोद अधिकारीले हेलिकोप्टर काठमाडौंदेखि पोखरासम्म उडेकाले १ लाख ८० हजार भाडावापत काटिएको जानकारी दिए । सो रकमको रसिद आफूहरुसँग भएको दावी उनले गरे । अधिकारीले डा. अजयसिंह थापाको नेतृत्वमा मेडिकल टिम हेलिकोप्टरमा उडेको तर मौसम खराव भएर पोखरामा ल्याण्डिङ भएको उनको दावी छ । उल्टै मेडिकल टिमले लिनुपर्ने २५ हजार छुट गरिदिएको दावी अधिकारीको छ ।

यता, हेलिकोप्टर कम्पनी डाइनेष्टिकका मार्केटिङ म्यानेजर बालकृष्णले भने फोन उठाएनन् । यद्यपि, पीडित विकास पुनसँगको कुराकानीमा उनले आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताएका छन् । ग्राण्डी इन्टरनेशनल हस्पिटल, त्यहाँका कर्मचारी र हेलिकोप्टर कम्पनीको मिलेमतोमा यस्ता गम्भीर प्रकृतिका विरामीहरु कहिलेसम्म लुटिइरहने, कहिलेसम्म ठगिइरहने ? महाकालीमा हेलिकोप्टर बोलाएपछि मेचीमा ल्याण्डिङ गरेर त्यसको भाडा महाकालीमा रहेको विरामीसँग असुल्न मिल्छ ?
Mingma Sherpa
Very bad News