चीनसँग प्रधानमन्त्री ओलीले गरेका सबै सन्धिसम्झौतालाई मसालले गर्यो स्वागत
सारांश
- काठमाडौं, १४ असार ।
- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र त्यो भ्रमणका दौरानमा गरिएका सबै सन्धि र सम्झौताहरूलाई नेकपा (मसाल)ले स्वागत गरेको छ ।
- नेपाल लामो समयदेखि एकतर्फी रूपमा दक्षिणमाथि आश्रित रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला गरिएका सन्धिसम्झौताहरुले नेपालको राष्ट्रियता, विकास र व्यापार विविधिकरणमा निर्णयात्मक महत्व राख्ने महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र त्यो भ्रमणका दौरानमा गरिएका सबै सन्धि र सम्झौताहरूलाई नेकपा (मसाल)ले स्वागत गरेको छ । नेपाल लामो समयदेखि एकतर्फी रूपमा दक्षिणमाथि आश्रित रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला गरिएका सन्धिसम्झौताहरुले नेपालको राष्ट्रियता, विकास र व्यापार विविधिकरणमा निर्णयात्मक महत्व राख्ने महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारतमा ब्रिटिस शासनको अन्त्यपछि आएका भारतीय शासक वर्गहरूले नेपालको भूपरिवेष्ठित र उत्तरतर्फको भौगोलिक दुर्गमताबाट नाजायज फाइदा उठाएर नेपालप्रतिको आफ्नो विस्तारवादी उद्देश्य पूरा गर्ने प्रयत्न गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । त्यही प्रयत्नस्वरुप कैयौँपल्ट नेपालमाथि नाकाबन्दी पनि लगाएको विज्ञप्तिमा उल्लेख छ ।
चीनसितको सम्बन्धको विस्तारले नेपालको राष्ट्रियता, विकास र व्यापारको विविधीकरणमा समेत निर्णयात्मक महत्व रहेको बताउँदै महामन्त्री सिंहको विज्ञप्तिमा भनिएको छ, “त्यसैले अहिलेको प्रधानमन्त्री ओलीको चीन भ्रमण र त्यस सिलसिलामा भएका सन्धि र सम्झौताहरूले पनि नेपालका लागि विशेष महत्व राख्ने कुरा प्रष्ट छ ।”
उत्तरसितको सम्बन्धको विस्तारलाई भारतीय विस्तारवादले सधैँ नियन्त्रण गर्ने र चीनसित कुनै सन्धि–सम्झौता भए पनि नेपालका विभिन्न सरकारहरूमाथि दबाब दिएर वा प्रशासनमा घुसपैठ गरेर ती सन्धि वा सम्झौताहरूलाई कार्यान्वयन हुन नदिने प्रयत्न गर्दै आएको उल्लेख गर्दै त्यसले गर्दा नेपालमा बन्ने गरेका विभिन्न सरकारहरूले चीनसितको सम्बन्धको विस्तारमा अत्यन्त कम पहल गर्ने वा कुनै सन्धि–सम्झौता भए पनि तिनलाई कार्यान्वित नगर्ने नीति अपनाउँदै आएको विज्ञप्तिमा उल्लेख छ । यो पृष्ठभूमिमा नेपालका कुनै सरकारले चीनसितको सम्बन्धको विस्तारमा जे जति प्रयत्न गर्दछन्, त्यो नेपालको राष्ट्रिय हितमा नै हुने कुरा विज्ञप्तिमा उल्लेख छ ।
भारतीय शासक वर्गको कडा दबाब र नाकाबन्दीको स्थितिमा ओलीले आफ्नो पहिलेको चीन भ्रमणका बेलामा यातायात र पारवहन, पेट्रोल र ग्याँसको अन्वेषण, चीनदेखि नेपालसम्म रेलमार्गको निर्माण आदि कैयौँ महत्वपूर्ण विषयहरूमा सन्धि वा सम्झौताहरू गरेको उल्लेख गर्दै त्यही कारणले नै भारतको ग्राइन्ड डिजाइनमा ओली सरकारलाई अपदस्त गरिएको उदाहरण पनि हाम्रा अगाडि रहेको जनाइएको छ ।
भारतीय विस्तारवादको नाकाबन्दी समेतको दृढतापूर्वक सामना गरेकाले ओली सरकारको वा सरकारबाट हटिसकेपछि पनि देशमा एमालेको एउटा राष्ट्रिय छवि बनेको र त्यसका आधारमा नै तत्कालीन एमाले र माओवादी केन्द्र सम्मिलित वामपक्षीय गठबन्धनलाई चुनावमा ठूलो सफलता प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । “अहिले अत्याधिक बहुमतका साथ सरकार बनाएको नेकपाले राष्ट्रियता र चीनसितको सम्बन्ध समेतबारे पहिलेभन्दा उच्च कदम वा नीतिहरू अपनाउनु पर्ने थियो”, विज्ञप्तिमा भनिएको छ, “तर अहिलेको चीन भ्रमणका बेलामा ओली सरकार पहिलेको नीति र अडानबाट केही पछाडि हटेको त होइन ? प्रश्न उठाउने ठाउँ छ ।”
“अहिलेको ओलीको चीन भ्रमणका बेलामा पारवहन सन्धिसम्बन्धी प्रोटकलमा हस्ताक्षर गरिएन । यसको कारण के हो ? वास्तवमा चीनसितको पारवहन सन्धिले नेपालका लागि ठूलो महत्व राख्दछ भने भारतका लागि त्यो असह्य कुरा हो । त्यो प्रोटोकलमा हस्ताक्षर नगर्नुका पछाडि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भारतीय दबाबले काम गरेको वा कुनै न कुनै रूपमा भारतप्रतिको सम्झौतापरस्त नीतिले काम गरेको त होइन ?”, विज्ञप्तिमा प्रश्न गरिएको छ । लिपुलेकबारे नेपालसित कुनै सम्पर्क नगरिकन चीन र भारतका बीचमा भएको सन्धि नेपालको सार्वभौमिकता विरुद्धको कार्य हो भन्दै अहिलेको चीन भ्रमणका बेला त्यो सन्धिलाई खारेज गराउन कुनै पहल नगरिएकोमा भने आपत्ति प्रकट गरिएको छ ।
Sanjaya Palpali
Neta haru hunta sabi yasta
Gopal Sharma
बुडि लाइ मन्त्रि बनाउन हाेला नि