चुनावी प्रचारमा व्यस्त छन् : उम्मेदवार र कार्यकर्ता

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर ९, २०७४
|
|
४१ पटक हेरिएको
Shares
चुनावी प्रचारमा व्यस्त छन् : उम्मेदवार र कार्यकर्ता

सारांश

  • ललितपुर, ९ मंसिर : प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार र कार्यकर्ता प्रचारप्रसारमा व्यस्त बनेका छन् ।
  • निर्वाचनको मिति दुई सातामात्रै बाँकी हुँदा प्रमुख दलका नेता घरदैलो कार्यक्रममार्फत जनताका आँगनमै पुगेर भोट मागिरहेका छन् ।
  • भूगोलका हिसाबले ग्रामीण क्षेत्र बढी पर्ने यस क्षेत्रमा उम्मेदवार घण्टौँ हिँडेर पनि मतदाताका घरघरमा पुगिरहेका छन् ।

ललितपुर, ९ मंसिर : प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार र कार्यकर्ता प्रचारप्रसारमा व्यस्त बनेका छन् ।

निर्वाचनको मिति दुई सातामात्रै बाँकी हुँदा प्रमुख दलका नेता घरदैलो कार्यक्रममार्फत जनताका आँगनमै पुगेर भोट मागिरहेका छन् । भूगोलका हिसाबले ग्रामीण क्षेत्र बढी पर्ने यस क्षेत्रमा उम्मेदवार घण्टौँ हिँडेर पनि मतदाताका घरघरमा पुगिरहेका छन् । मतदाता बढी भएकाले गाउँपालिकाभन्दा नगरपालिकाको भोट निर्णायक मानिन्छ ।

त्यसैले पनि उम्मेदवार दक्षिणी क्षेत्र र नगर क्षेत्र दुवैमा पालोपालो गरेर चुनावी कार्यक्रममा लागेका छन् । विशेष गरेर यातायात, पानी, मल, बीउलगायतका समस्या मतदाताले उम्मेदवारसँग राखेका छन् । उम्मेदवारले यी समस्या समाधानका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

यो क्षेत्रमा नेपाली काँग्रेसबाट अर्थराज्यमन्त्री उदयशमशेर राणा उम्मेदवार हुनुहुन्छ । यसअघि उहाँ यसै क्षेत्रबाट संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो । युवा नेता राणा तरुण दलका पूर्व सभापति समेत हुनुहुन्थ्यो । उहाँको चर्चा यस क्षेत्रमा मात्रै नभएर सबैतिर छ । नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका पूर्व डिआइजी नवराज सिलवाल भर्खरै नेपाल प्रहरीबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा ओर्लनुभएको छ । वाम गठबन्धनका कारण उहाँ पनि सशक्त उम्मेदवारका रुपमा देखिएको छ ।

प्रदेशसभा सदस्यतर्फ (क) मा नेपाली काँग्रेसबाट ऋषिराम घिमिरे र (ख) मा मीनकृष्ण महर्जन उम्मेदवार छन् । वाम गठबन्धनबाट (क) मा माओवादी केन्द्रकी लालकुमारी पुन र (ख) मा चेतनाथ सञ्जेल उम्मेदवार बनेका छन् । विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधिसभामा केशव तिमल्सिना उम्मेदवार हुनुहुन्छ ।

नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका राणाले आफूले यस क्षेत्रमा चार वर्षमा गरेको विकास आफ्नो जित्ने आधार भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “मैले यस क्षेत्रमा यो चार वर्षमा काम गरेको देखेर नै उहाँहरुले माग गर्नुभएको हो, काम गर्नेसँग जनताको आशा हुनु स्वभाविक हो ।” अघिल्लो निर्वाचनको घोषणापत्रमा उल्लेख गरे बमोजिम त्यसको ९० प्रतिशत काम गरेको उहाँको दाबी छ ।

यो चार वर्षमा सडक, सार्वजनिक भवन, पुललगायतका पूर्वाधार निर्माण गरेको नेता राणा बताउनुहुन्छ । पूर्वाधार विकास र आर्थिक समृद्धि मेरो चुनावी एजेण्डा हो, उहाँ भन्नुहुन्छ— मतदाताले सडक, खानेपानीलगायतका माग गरिरहेका छन् । आफ्नो प्रतिस्पर्धा वाम गठबन्धनसँग हुने भए पनि ठूलो मत अन्तरले आफू विजयी हुने उहाँको विश्वास छ ।

एमालेबाट उम्मेदवार बन्नुभएका सिलवाल जनताले आफूप्रति आशा र भरोसा गरेर विजयी गराउने बताउनुहुन्छ । राज्यले उपेक्षा गरेको यस क्षेत्रलाई राज्यसँग जोड्ने योजना लिएर जनताका घरआँगनमा पुगिरहेको छु, उहाँ भन्नुहुन्छ— “यस क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षा, भूकम्पपीडितलाई आवासको समस्या छन् । कृषि र पर्यटनमार्फत यस क्षेत्रको विकास सम्भव छ ।”

उम्मेदवार सिलवालले भन्नुभयो, “कृषिमा प्रविधि जोडेर आधुनिकीकरण गर्ने र पर्यटकीय क्षेत्रको विकास गर्दा मात्रै आर्थिक समृद्धि सम्भव छ ।” आफूले मतदातालाई ठूलो आश्वासन नदिए पनि विजयी भएपछि फर्किएर आउने र योजना पूरा गर्ने उहाँ बताउनुहुन्छ । उहाँ पनि आफू ठूलो मत अन्तरले विजयी विश्वास व्यक्त गर्नुभयो ।

वाग्मती, कोञ्जेसोम र महाँकाल गरेर तीन वटा गाउँपालिका र गोदावरी नगरपालिकाको १२ वटा वडा यस क्षेत्रमा पर्छ । स्थानीय निकायको निर्वाचनमा तीन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमध्ये नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र एक÷एकमा विजयी भएको थियो । गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।

यस क्षेत्रमा विसं २०४८, विसं २०५१ र विसं २०५६ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी विजयी भयोे । संविधानसभा २ मा नेपाली काँग्रेसका उम्मेदवार राणा विजयी हुनुभएको थियो ।

भूगोलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो भए पनि मतदाताका हिसाबले यो क्षेत्र जिल्लाको सानो क्षेत्रमा पर्छ । यस क्षेत्रमा ५३ वटा मतदानस्थलमा जम्मा ८७ वटा मतदान केन्द्र छन् । यो क्षेत्रमा कुल मतदाता संख्या ६५ हजार ९१८ रहेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि १२ वटा राजनीतिक दल र नौ जना स्वतन्त्र गरी कुल २१ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा क मा छ वटा राजनीतिक दल र दुई जना स्वतन्त्र गरी आठ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभा (ख) मा आठ राजनीतिक दल र चार स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद
कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
ओलीले मन्त्री पदको चारो फालेपछि विरोधीको घेराबन्दी तोड्न सफल भए
महिलामुखी एमालेको घोषणापत्र, स्यानिटरी प्याड खरिद गर्न १५०० रुपैयाँ दिने
महिलामुखी एमालेको घोषणापत्र, स्यानिटरी प्याड खरिद गर्न १५०० रुपैयाँ दिने
नेकपा एसको चुनावी एजेण्डा: निःशुल्क खानेपानीदेखि २०० युनिट विजुली निःशुल्क
नेकपा एसको चुनावी एजेण्डा: निःशुल्क खानेपानीदेखि २०० युनिट विजुली निःशुल्क
नयाँ बसपार्कमा मोबाइल पसल लुटपाट गर्ने ४ जना पक्राउ
नयाँ बसपार्कमा मोबाइल पसल लुटपाट गर्ने ४ जना पक्राउ
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द
चुनावी हारमा एमालेको समीक्षाः बामपन्थीसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव
चुनावी हारमा एमालेको समीक्षाः बामपन्थीसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी

तपाईंले छुटाउनुभयो कि?