डा.केसीसँगको सहमति तोड्दै चिकिस्ता शिक्षा विधेयक बहुमतले पारित
सारांश
- काठमाडौं।
- बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले पारित गरेको छ।
- समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले विवादित विषयमा छलफल गरेर सुझाव दिन गठित उपसमितिले तयार पारेको प्रतिवेदन समितिको बैठकले हुबहु बहुमतले पारित गरेको हो।
काठमाडौं। बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले पारित गरेको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले विवादित विषयमा छलफल गरेर सुझाव दिन गठित उपसमितिले तयार पारेको प्रतिवेदन समितिको बैठकले हुबहु बहुमतले पारित गरेको हो।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरितका बुँदाहरु पनि समावेश गरिएको भन्दै सो विधेयकको विपक्षमा मत राखेका थिए। २३ जना समितिका सदस्यमध्ये १८ जना बैठकमा सहभागी भएका थिए।
उनीहरु मध्ये १४ जना सांसदहरुको बहुमतले सो विधेयक पारित गरिएको समितिकी सभापति जयपुरी घर्तीमगरले जानकारी दिइन्। काँग्रेसका ४ जना सांसदहरुले भने सो विधेयकको विपक्षमा मत राखेका थिए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुको बहुमतले विधेयक पारित गरेपछि त्यसमा असहमति राखेका समितिका सदस्य एवम् काँग्रेस सांसद गगन थापाले केसीको माग पूरा नगरी प्रतिवेदन पारित हुनु थियो भने किन सरकारले केसीसँग सहमति गरेको भन्दै प्रश्न गरेका थिए।
उनले वरिष्ठ चिकित्सक केसीलाई सरकारले फेरि पनि ठूलो धोका दिएको प्रतिक्रिया दिए। यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद योगेश भट्टराईले भने विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसारनै पारित भएको दावी गरे। उनले विधेयकले चिकित्सा क्षेत्रको सुधारमा उल्लेख्य योगदान पुर्याउने विश्वास व्यक्त गरे।
विधेयकको प्रस्तावना, काठमाडौं बाहिर मेडिकल कलेज खोल्ने, सिटिईभीटीको कार्यक्रम फेज आउट गर्नेलगायतका विषयमा समितिमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदबीच मत बाँझिएको थियो। विधेयकमा यसअघि सम्बन्धन लिएका मेडिकल कलेजहरु खारेज नहुने व्यवस्था राखिएकोमा काँग्रेस सांसदहरुको आपत्ति छ। सोही बुँदा वरिष्ठ चिकित्सक गोविन्द केसीसँग सरकारले गरेको सहमति विपरितको बुँदा पनि हो।
प्रतिक्रिया