दक्षिण एसियाकै पुरानो नगर हाँडीगाउँको पर्यटन विकासका लागि गुरुयोजना बनाउन सुझाव

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २, २०७६
|
|
३७ पटक हेरिएको
Shares
दक्षिण एसियाकै पुरानो नगर हाँडीगाउँको पर्यटन विकासका लागि गुरुयोजना बनाउन  सुझाव

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

दक्षिण एशियाकै पुरानो ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक नगरी हाँडीगाउँ–विशालनगर क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ । विशालनगर हाँडीगाउँ सम्पदा समाजले आइतबार आयोजना गरेको ‘हाँडीगाउँको सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धन’ विषयको गोष्ठीमा पूर्व लिच्छविकालीन, लिच्छविकालीन र मल्लकालीन सम्पदाको संरक्षण गर्दै पर्यटकीय नगरीका रुपमा विकास गरिनुपर्नेमा विभिन्न विद्वान्ले जोड दिए ।

मानवदेवको मानगृह, अंशुवर्माको कैलाशकूट भवनलगायत महत्वपूर्ण मठमन्दिर, चैत्य, विहार, ढुङ्गेधारा, पोखरीजस्ता सम्पदा तथा कहीँ नभएको जात्रा, गहना खोज्ने जात्राका लागि प्रख्यात हाँडीगाउँलाई खुला सङ्ग्रहालयका रुपमा स्थापित गर्ने गरी काम अघि बढाइनुपर्ने उनीहरूको सुझाव थियो । हाँडीगाउँस्थित सत्यनारायणको मन्दिर नजीक रहेको सातौँ शताब्दीको ढुङ्गेधारा काठमाडौँ उपत्यकाकै सबैभन्दा पुरानो मानिन्छ जुन मानदेवका नाति भारविले विसं ६०७ मा बनाएका थिए । म्हपूजाको थालनी पनि हाँडीगाउँबाटै भएको मानिन्छ ।

सो अवसरमा ‘हाँडीगाउँ सम्पदा, संरक्षण तथा विकास’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा यज्ञनाथ आचार्यले सन् २००३ मा तयार गरिएको हाँडीगाउँको गुरुयोजना अपुरो भएकाले यहाँको सम्पदालगायत सम्पूर्ण विषयलाई समेटी गुरुयोजना तयार गनुपर्र्ने र त्यसका अधारमा वडाको समृद्धि र विकासलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रा डा सुदर्शनराज तिवारीले ‘हाँडीगाउँमा पर्यटनको विकास’बारे कार्यपत्र प्रस्तुत गर्दै पर्यटनका लागि गहनापोखरीदेखि सत्यनारायणसम्म फैलिएको हाँडीगाउँको केन्द्रीयस्थालको विकास गरिनुपर्नेमा जोड दिनुभयो । उक्त क्षेत्रमा न्यालमलोह ९चौखट नारायण०, साल्मी चौर ९चैत्य०, तथा डबली ९अंशुवर्माको शिलालेख, जलेफे, टुँडालदेवीको खट राख्ने ठाउँ० जस्ता पुरातात्विक सम्पदा रहेको उहाँले बताउनुभयो ।

प्रदेशसभा सदस्य नारायण सिलवालले हाँडीगाउँ सम्पदा, संस्कृति र कलामा धनी भएको बताउँदै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । यहाँ भइरहेको सम्पदा निर्माणको काम कतिपय सकिएको र कतिपय काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकृत गुरुयोजना नै बनाएर हाँडीगाउँलाई समृद्ध बनाउनुपर्छ ।”

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष गरेर हाँडीगाउँलगायत काठमाडौँ महानगरपालिकाभित्रका मूर्त तथा अमूर्त कला, संस्कृति र सम्पदाको मर्मत सम्भार तथा जीर्णोद्वार गरिने जानकारी दिनुभयोे । यसको संरक्षण तीन तहका सरकारको दायित्व भएको उहाँले औँल्याउनुभयो । स्थानीय तहसँगै, प्रदेश र केन्द्र सरकार मिलेर यहाँ रहेका सम्पदाको संरक्षण गर्नुपर्नेमा उहाँको जोड थियो । अहिले भइरहेको निर्माणको काम चालु आवभित्रै सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनको प्रचुर सम्भावना रहेको यस स्थानको प्रचारप्रसारमा लाग्न सबैलाई अनुरोध गर्छु ।”

समाजका अध्यक्ष गणेश श्रेष्ठले कामपाको सहकार्यमा हाँडीगाउँको समग्र गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?