फाेरम र राजपाबीच एकताकाे पहल, दुवै दलद्वारा वार्ता टाेली गठन
सारांश
- काठमाडौं।
- संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकताको प्रयास भएको छ।
- संघीय समाजवादी फोरम नेपालले एकतकालागि राजपालाई औपचारिक पत्र पठाएपछि यी दुई दलबीच एकताका विषयमा छलफल अगाडि बढेको हो।
काठमाडौं। संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकताको प्रयास भएको छ। संघीय समाजवादी फोरम नेपालले एकतकालागि राजपालाई औपचारिक पत्र पठाएपछि यी दुई दलबीच एकताका विषयमा छलफल अगाडि बढेको हो। संघीय समाजवादी फोरम नेपालकातर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठले पुस १९ गते राजपालाई एकताको प्रस्तावसहितको पत्र पठाएका थिए।
फोरमले पठाएको पत्रमा लेखिएको छ, ‘देशमा यथास्थितिवादी राजनीतिक शक्तिहरुलाई पहिलो र दोस्रो राजनीतिक शक्तिको रुपमा स्थापित गरेको छ। देशले आज श्रमजीवी वर्ग तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरुबीच एकता खोजिरहेको। यस्तो एकताले देशको प्रतिकुल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने छ।’
फोरमको पत्र पाएपछि उत्साहित बनेको राजपाले फोरमको बुझाइलाई यथार्थपरक, बस्तुपरक भनेको छ। राजपाले फोरम नेपाललाई जवाफ स्वरुप पठाएको पत्रमा भनिएको छ, ‘वर्तमान अवस्थामा केन्द्रीय राजनीतिको दुई ध्रुव सत्ता पक्ष र प्रतिपक्षमा रहेका हामीबीच कसरी एकता गर्ने? एकता वार्ता अगाडि बढाउन संघीय समाजवादी फोरम नेपाललाई वातावरण बनाउन आग्रह गर्दछौं। र, इमान्दार एवं कठोर भइ मधेसी, आदिवासी जनजाति, खस, थारु, मुस्लिम, शिल्पी/दलित, अल्पसंख्यक, सीमान्तकृत पछाडि पारिएका वर्ग, समुदाय र आधा आकाश ओगट्ने महिलालगायत पहिचान, पहुँच, प्रतिनिधित्व अधिकारको संघर्षलाई निष्कर्षमा पुर्याउन साहस र हिम्मतकासाथ पार्टी एकता गरी एकतावद्ध भएर अगाडि बढ्न सकिन्छ।’
राजपाले फोरम नेपाललाई एकताकालागि आग्रह गर्दै पत्रसमेत पठाएको छ। समान मुद्दा र विचार भएका संघीय समाजवादी फोरम नेपाल र राजपाले दुई नम्बर प्रदेशमा संयुक्त सरकार संचालन गरिरहेका छन्। स्रोतका अनुसार राजपाले पार्टी एकताकालागि संघीय समाजवादी फोरम केन्द्र सरकारबाट बाहिरिनुपर्ने शर्त राखेको छ।

फाेरमसँग वार्ता गर्नकालागि राजपाले नेता राजेन्द्र महताेकाे संयाेजकत्वमा वार्ता टाेलीसमेत गठन गरेकाे छ। वार्ता टाेलीमा नेताहरु बृखेषचन्द्र लाल, केशव झा, रमेश यादव र सुनिल राेहित छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया