रक्षामन्त्री पोख्रेलसँग जापानी राजदूत मासामीचि सिगोको भेट
सारांश
- काठमाडौं, २९ असार ।
- नेपालस्थित जापानी राजदूत महामहिम मासामीचि सिगो (Masamichi Saigo) ले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग हिजो अपरान्ह रक्षा मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
- भेटका अवसरमा नेपाल र जापानबीचको कुटनीतिक सम्बन्ध, सरकारका कार्ययोजना, आर्थिक र सामाजिक विकास, दुई मुलुकका बीचको सैन्य तालिम तथा सहकार्य एवं प्रविधि हस्तान्तरण लगायतका विषयमा छलफल भएको छ ।
काठमाडौं, २९ असार । नेपालस्थित जापानी राजदूत महामहिम मासामीचि सिगो (Masamichi Saigo) ले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग हिजो अपरान्ह रक्षा मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा नेपाल र जापानबीचको कुटनीतिक सम्बन्ध, सरकारका कार्ययोजना, आर्थिक र सामाजिक विकास, दुई मुलुकका बीचको सैन्य तालिम तथा सहकार्य एवं प्रविधि हस्तान्तरण लगायतका विषयमा छलफल भएको छ ।
भेटका अवसरमा राजदूत सिगोले नेपाल र जापानबीचको सम्बन्ध अति घनिष्ठ रहेको र यस्तो सम्वन्ध अझ गहिरो र फराकिलो बनाउँदै लैजाने विश्वास व्यक्त गरे । नेपाल र जापानबीचको अनुपम सम्बन्ध अतुलनीय भएको र दुई मुलुकबीचको आपसी सहयोग आगामी दिनमा समेत निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।
नेपालले तीन तहका निर्वाचन निष्पक्ष र पारदर्शिताका साथ सम्पन्न गराएको भन्दै वर्तमान सरकारको नेतृत्वमा नेपाल आर्थिक तथा सामाजिक विकासतर्फ अगाडि बढिरहेको जानकारीमा आएको कुरा व्यक्त गर्दै राजदूत सिगोले नेपालको विकासको लागि जापान सदैव सहकार्य गर्न तत्पर रहेको बताए । भेटघाटका क्रममा राजदूतले उपप्रधानमन्त्री तथा रक्षामन्त्री र पार्टीको उच्च तहको जिम्मेवारी सम्हाल्नु भएकोमा बधाई ज्ञापन गर्दै रक्षा क्षेत्रमा आगामी दिनमा के गर्न सकिन्छ भन्ने बारेमा योजना बनाएर छलफल गर्न सकिने विचार व्यक्त गरे ।
सो अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोख्रेलले राजदूतलाई शिष्टाचार भेटका लागि धन्यवाद व्यक्त गर्दै नेपाल र जापानबीच औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा अगाडिदेखि नै बुद्ध धर्मप्रतिको भावनात्मक एकताले दुई देश बीचको सम्वन्ध महत्वपूर्ण रहेको बताएको प्रवक्ता ऋषि राजभण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल लामो संक्रमणपछि विकास र स्थायित्वतर्फ अघि बढिरहेको बताउँदै विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुनेमा विश्वास व्यक्त गरेका थिए । वर्तमान सरकार सुविधाजनक बहुमतको अवस्थामा रहेको बताउँदैं उनले सरकार आफ्नो नीति, कार्यक्रम तथा संरचनालाई व्यवस्थित गर्दै अघि बढिरहेको र आर्थिक विकासमा आफ्नो ध्यान केन्द्रीत गरिरहेको बताएका थिए । नवनियुक्त राजदूत कृषिविज्ञ भएको भन्ने आफूले जानकारी प्राप्त गरेको भन्दै नेपालको कृषिको आधुनिकीकरण र विकासका निम्ति विज्ञताको उपयोग गर्न चाहेको बताएका थिए । लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भ्रमण नभएको प्रसङ्ग जोड्दै अब दुबै देशबीच उच्चस्तरीय राजनीतिक भ्रमणको आदानप्रदान हुने विश्वास समेत व्यक्त गरेका थिए । नेपाली सेनाले विश्व शान्तिको क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताउँदैं आगामी दिनमा दुई देशबीच पारस्परिक सैनिक तालिम सञ्चालन गर्न सकिने समेत बताएका थिए ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले हालैमात्रै जापानमा भएको प्राकृतिक प्रकोपका कारणबाट हुन गएको जनधनको क्षतिप्रति समवेदना प्रकट गरेका थिए । साथै उनले नेपालमा भएको विगतको १० बर्षे सशस्त्र द्वन्द्व आफैमा एउटा अनुपम प्रकृतिको भएको र नेपालले आफ्नै तवरले समाधान गरेको भए तापनि उक्त १० बर्षको कालखण्डमा नेपालका लागि एक अनौठो संयोग रहेको र हिंसाको औचित्य छैन भनेर नै हाल एकै ठाउँमा उभिएको घटना समेत ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण भएको बताए । शिष्टाचार भेटमा रक्षा मन्त्रालयका सहसचिव ऋषि राजभण्डारी, जापानी दूतावासका उच्च अधिकारी तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति थियो ।
प्रतिक्रिया