शेखरसँग दूरी बढाउँदै गगन, देउवाको उत्तराधिकारी बन्ने दाउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २६, २०८१
|
|
४७ पटक हेरिएको
Shares
शेखरसँग दूरी बढाउँदै गगन, देउवाको उत्तराधिकारी बन्ने दाउ

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसमा महाधिवेशन कहिले हुने भन्ने टुंगो छैन तर नेताहरूबीचको अस्वस्थ प्रतिस्पर्धा जारी छ।
  • सभापति शेरबहादुर देउवाविरुद्ध संगठित हुँदै आएका नेता डा.

काठमाडौं। नेपाली कांग्रेसमा महाधिवेशन कहिले हुने भन्ने टुंगो छैन तर नेताहरूबीचको अस्वस्थ प्रतिस्पर्धा जारी छ। सभापति शेरबहादुर देउवाविरुद्ध संगठित हुँदै आएका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा आपसमै जुध्न थालेपछि देउवालाई राहत मिलेको छ।

चतुर राजनीतिक खेलाडी मानिने सभापति देउवा पछिल्लो समय संस्थापन इतर समूहमा विभाजनको रेखा कोर्न सफल भएका छन्। पार्टीको १४औं महाधिवेशनमा सभापति देउवासँग प्रतिस्पर्धा गरेको शेखर गगन समूह अहिले विभाजित छ।

महामन्त्री थापा शेखर नेतृत्वको समूह छाडेर सभापति देउवासँग सहकार्य गर्न थालेपछि कांग्रेसभित्र आसन्न महाधिवेशनको समीकरणबारे चर्चा पनि चुलिएको छ।

कांग्रेसको विधानमा सभापतिको कार्यकाल चार वर्षको हुने उल्लेख छ। जसअनुसार कांग्रेस महाधिवेशन २०८२ मंसिरमा हुनुपर्छ। आउने मंसिरमा चुनाव गर्न कांग्रेसले अहिले नै महाधिवेशन प्रक्रिया थाल्नुपर्ने हो।

सभापति देउवा र महामन्त्री थापा दुवै महाधिवेशन केही पर सार्न सहमत देखिएका छन्। देउवा आफू प्रधानमन्त्री भएपछि महाधिवेशन गराउन चाहन्छन् भने महामन्त्री थापा सभापतिमा आफ्नो दाबी अनुकूल भएपछि महाधिवेशन गराउने पक्षमा छन्।

पार्टीभित्र आफ्नो समूहलाई व्यवस्थित गरिराख्न सफल देउवा इतर समूहमा विवाद बढेपछि तनावमुक्त देखिन्छन्। आफ्नो अनुकूलताका लागि नेताहरूलाई आलैपालो प्रयोग गर्ने देउवाको खुबी यसपटक पनि स्थापित भएको उनीनिकट नेताहरू बताउँछन्। ‘सभापतिसँग कसैको प्रतिस्पर्धा छैन। उहाँविरुद्ध उभिने होइन कि उहाँको उत्तराधिकारी बन्ने प्रतिस्पर्धा पार्टीमा चलिराछ’, देउवानिकट एक नेताको भनाइ छ।

कोशी भेलाले तरंग

कांग्रेसमा महाधिवेशन लक्षित तरंग सिर्जना हुनुका पछाडि कोशी प्रदेशको सम्मेलनमा शेखर कोइरालाको अनुपस्थिति मुख्य कारण हो। शेखरको गृहजिल्ला मोरङका पालिका समितिहरूले प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला आयोजना गरेपछि शेखर गगन विवाद पनि सतहमा आएको छ।

सो भेला रोक्न महामन्त्री थापाले नै मुख्यसचिव कृष्ण पौडेलमार्फत परिपत्र जारी गराएपछि शेखरपक्ष आक्रोशित छ। पार्टी निर्देशन अवज्ञा गर्दै आयोजित पालिका सभापति भेलामा कोशीका बहुमत पालिका सभापतिहरू सहभागी थिए। सोही भेलामा नेता कोइरालाले कांग्रेस कार्यकर्ताका संरक्षणको दायित्व आफ्नो भएको उद्घोष गर्दै कसैसँग नडराउन आग्रह गरेका थिए।

लगत्तै कोशी प्रदेश समितिले आयोजना गरेको प्रदेश सम्मेलनमा शेखर अनुपस्थित रहे। सम्मेलनमा पुगेका महामन्त्री थापाले पार्टी हितविपरीत कसैले भेला गर्न नहुने बताए। त्यसयता शेखर र गगनका कार्यकर्ताबीच सामाजिक सञ्जालमा शीतयुद्ध नै सुरु भएको छ। दुई नेताको फाटोले सभापति देउवा र संस्थापन समूहको उत्साह बढाएको छ।

नयाँ गुट बनाउँदै गगन

हरेक महाधिवेशनमा गुट फेर्ने परिचय बनाएका महामन्त्री थापाले अब पनि नयाँ गुट बनाउने कसरत थालेका छन्। निकटस्थहरूसँग १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताइसकेका उनले वडादेखि नै आफूसँग प्रतिबद्ध समूह निर्माण गरिरहनु भएको छ।

‘अब गगनजी आफैँ सभापतिको उम्मेदवार हो । त्यसैले वडादेखि नै उहाँको टिम बनाउन आन्तरिक तयारी गरेकै छौँ’ थापानिकट नेताको भनाइ छ। कांग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य, अजय शिवाकोटी, प्रतिमा गौतमलगायत थापाको समूहमा रहने निश्चित छ।

शेखरको आफ्नै सुर

अबको महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने घोषणा गरिसकेका शेखर आफूसँग महामन्त्री थापा नरहनेमा ढुक्क छन्। त्यसैले संस्थापन समूहका असन्तुष्ट नेताहरूलाई समूहमा तान्ने शेखरको सुर छ। अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग पनि निरन्तर संवादमा रहेका शेखरलाई उपसभापति धनराज गुरुङसहित डेढ दर्जन केन्द्रीय सदस्यहरूको साथ छ।

‘महाधिवेशन जित्न अघिल्लो पटकको भन्दा मत थप्नैपर्छ। त्यसैले महामन्त्रीलाई फकाउने हैन नयाँ नेताहरूलाई टिममा जोड्ने गरी अघि बढेका छौँ’, शेखरनिकट केन्द्रीय सदस्यको भनाइ छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binance推荐代码

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?