सर्वोच्चले दियो अर्को आदेश : सुमार्गीले बैंकबाट झिकेको रकम फिर्ता गर्नुपर्ने
सारांश
- काठमाडौं ।
- सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगको नाममा जम्मा भएको रकमलाई शंकास्पद मान्दै बैंकबाट झिकेको रकम खातामै फिर्ता गर्न अर्को आदेश दिएको छ।
- सर्वोच्चले यसअघि रकम झिक्न दिएको आदेश खारेज गर्दै यस्तो आदेश गरेको हो ।
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगको नाममा जम्मा भएको रकमलाई शंकास्पद मान्दै बैंकबाट झिकेको रकम खातामै फिर्ता गर्न अर्को आदेश दिएको छ। सर्वोच्चले यसअघि रकम झिक्न दिएको आदेश खारेज गर्दै यस्तो आदेश गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले इन्भेष्टमेन्ट बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन नेपाल राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको हो। सुमार्गीले इन्भेस्टमेन्ट बैंकबाट जति रकम निकालेका थिए त्यत्ति नै रकम फिर्ता गर्नुपर्ने भएको छ।
यसअघि न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश दिँदै बैंकबाट रकम झिक्ने अनुमतिको आदेश दिएको थियो। त्यस आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले खातामा रकम जम्मा गराउन आदेश भएको हो ।
सुमार्गीको मातहतमा रहेको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा इन्भेष्टमेन्ट बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएकोसमेत सर्वोच्चले आदेशमा उल्लेख गरेको छ ।
पुस १० मा न्यायाधीश जोशीले सुमार्गीको भुक्तानी दिन राष्ट्र बैंकका नाममा दिएको आदेश कानुनविपरीत भएको र रकम झिकिनु गलत भएको भन्दै अदालतले जति रकम झिकिएको थियो त्यत्ति नै फिर्ता गर्न आदेश गरेको हो।
प्रतिक्रिया