Saturday, May 18
Shadow

महासंघकाे प्रतिवेदन भन्छ ; कतिपय मिडिया हाउसले पत्रकारहरुलाई कामबाट हटाए


  • -इ
  • इ+

काठमाडौँ । मिडिया हाउसहरुले काेराेना भाइरस संक्रमणबाट जोगाउनका लागि पत्रकारहरुलाई पर्याप्त सतर्कता अपनाउने वातावरण नबनाएकाे पत्रकार महासंघले जनाएको छ । लकडाउनका बेला सञ्चारगृहमा गरिएको अनुगमनको प्रारम्भिक प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दै महासंघले जनाएकाे हो । महासचिव रमेश विष्टद्वारा जारी प्रतिवेदनमा उल्लेख भएअनुसार कतिपय मिडिया हाउसले पत्रकारहरुलाई कामबाट हटाईएकाे छ । हटाइएका पत्रकारहरुलाई काममा बहाल गर्न र जाेखिमकाे घडीमा सहज वातावरण निर्माण गर्न महासंघले माग गरेकाे छ ।

प्रतिवेदनमा फिल्डमा खटिने संवाददाता, क्यामरा पर्सन र फोटो पत्रकार बढी जोखिममा रहेको उल्लेख छ। कार्यालयमा सञ्चारकर्मीका लागि सामाजिक दूरी कायम नगरिएको र कतिपय सञ्चार माध्यममा मास्क, स्यानिटाइजर र पञ्जाजस्ता अत्यावश्यक सामग्रीसमेत प्रबन्ध नगरिएको पाइएको महासंघले जनाएको छ। महासंघले लकडाउनमा ज्यान जोखिममा राखेर काम गरिरहेका सञ्चारकर्मीले सहजै पारिश्रमिक नपाएको नदेखिएकोसमेत औंल्याएको छ।

‘विगतका महिनाको बाँकी पारिश्रमिकसमेत प्राप्त गर्न नसक्दा पत्रकारहरूले आर्थिक अभाव झेलेर काममा खटिइरहेको दुःखद अवस्था अनुगमनका क्रममा देखियो,’ प्रतिवेदनमा उल्लेख छ। सञ्चारकर्मीले कानुनले तोकेभन्दा बढी समय काम गर्नुपर्ने अवस्था रहेको र अतिरिक्त कामबापतको पारिश्रमिकसमेत दिने नगरिएको पाइएको महासंघले जनाएको छ।

लकडाउनका समयमा पत्रकार र प्राविधिकलाई जागिरबाट हटाएको समेत पाइएको उल्लेख गर्दै महासंघले कतिपयले बेतलबी बिदा दिएको र कतिपयले आंशिक समय मात्रै काममा लगाएको प्रतिवेदनमा उल्लेख गरेको छ।

लकडाउनका समयमा पत्रकारहरू बेरोजगार हुने क्रम बढेको प्रतिवेदनमा औंल्याइएको छ। लकडाउनपछि काठमाडौंसहित धेरै जिल्लामा पत्रपत्रिका बन्द हुन पुगेकाले धेरै पत्रकारको रोजीरोटीमा समस्या परेको महासंघले जनाएको छ।

‘अधिकांश सञ्चारगृहले पत्रकारलाई घरबाटै काम गर्ने व्यवस्था गरिएको जानकारी गराएका छन्। केही सञ्चारगृहमा कार्यालयमै बसोबासको व्यवस्था गरी काम गर्ने व्यवस्था मिलाएको पाइयो,’ प्रतिवेदनमा छ।

घरबाट कार्यालय आउजाउ गर्ने सञ्चारकर्मीका लागि सवारी पासको समस्या रहेकोसमेत महासंघले उल्लेख गरेको छ। प्रतिवेदनमा लकडाउन सुरु भएपछि धम्की, दुर्व्यवहार र समाचार संकलनमा पुर्‍याइएको अवरोधबाट १९ पत्रकार पीडित भएको जनाइएको छ।

महासंघले कोभिड–१९ को जोखिमका बीच नागरिकलाई सुसूचित गराइरहेका सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि राहत प्याकेज ल्याउन सरकारलाई सुझाएको छ। महासंघले जोखिमपूर्ण स्थितिमा फिल्डमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री, नियमित स्वास्थ्य परीक्षण, बिमा, सहज सूचना प्राप्तिको व्यवस्था गर्न सरकार र सञ्चार प्रतिष्ठानहरूलाई आग्रह गरेको छ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्