Saturday, May 18
Shadow

माओवादी केन्द्रले छान्यो तीन मन्त्री, आजै सपथग्रहण


  • -इ
  • इ+

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको हो ।

माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । नेपाली कांग्रेसले पनि मन्त्रीको नाम टुंग्याउन बिहीबार बैठक गरेको छ ।

अहिले कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, कुमार खड्का सामाजिक विकास मन्त्री छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाउने छ । २ मन्त्री मागेको जनता समाजवादीका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् । जसपाले एक मन्त्रालय मात्र पाउने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ । टुंगो लागेका मन्त्रीहरुले आज १ बजे सपथ लिने तयारी गरेका छन् ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको बिहीवार निरीक्षणपछि उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए ।

कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री पोखरेलले आइसोलेसनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पत्ति संक्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमूना बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताए । अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले सीमित स्रोत र साधनका बीच पनि अस्पतालले छोटो अवधिमा उत्कृष्ट कार्यसम्पादन गरेको उल्लेख गर्दै गत आर्थिक वर्षमा ८२१ जना कोभिड बिरामीको उपचार गरेको जानकारी दिए ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्