प्रचण्डपथ त्याग्याैं, कमजाेरी भयाे : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा बहस र छलफल नगरी प्रचण्डपथलाई स्थगित गर्नु कमजोरी भएको स्वीकार गरेका छन् । तर अब फेरि प्रचण्डपथ भन्नु पछाडि फर्किनु हुने भन्दै यसबारे पार्टीमा भइरहेको बहसलाई अन्त्य गरिदिएका छन्।काठमाडौंमा चलिरहेको पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सोमबार राजनीतिक प्रस्ताव पेश गर्दै प्रचण्डले जनयुद्धको गुणात्मक विकासमा प्रचण्डपथ र त्यही आधारमा विकसित २१औं शताब्दीको जनवादको विकाससम्बन्धी प्रस्तावनाको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले आफ्नो प्रस्तावमा तत्कालीन नेकपा माओवादीलाई एकतावद्ध राख्ने बलियो वैचारिक हेडक्वार्टरका रुपमा प्रचण्डपथलाई दोस्रो राष्ट्रिय सम्मेलनले स्वीकार गरेको स्मरण गरेका छन् ।तर शान्ति सम्झौता, संविधानसभा निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रपछि बदलिँदो राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनको बृहत एकताका निम्ति प्रचण्डपथ पदावली सबैका निम्ति स्वीकार्य हुन सम्भव नभएको पनि स्वीकार गरेका छन् ।
यद्यपि पार्टीमा बहस छलफल नै नगरी प्रचण्डपथलाई स्थगित गर्नु कमजोरी भएको भन्दै उनले भनेका छन्, ‘दोस्रो राष्ट्रिय सम्मेलनको सर्वसम्मत निर्णय तथा माओवादी कार्यकर्ता र समर्थन जनमुदायबाट अनुमोदित प्रचण्डपथलाई न केन्द्रीय समितिमा न राष्ट्रिय भेलामा कुनै खालको बहस छलफल गरिएन, बरु प्रचण्डको व्यक्तिगत पुँजी जसरी स्थगित गर्दा पार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा दिइयो ।

