Sunday, May 5
Shadow

नेपाली कम्युनिष्ट आन्दोलनका ४५ माेडहरू


  • -इ
  • इ+

१– रुसमा सम्पन्न महान् समाजवादी क्रान्ति, चीनको नयाँ जनवादी क्रान्ति र भारतको तेलङ्गाना सशस्त्र संघर्षको प्रभाव र नेपाली क्रान्तिको ऐतिहासिक आवश्यकता अनुरुप २००६ साल वैसाख १० अर्थात् २२ अप्रिल १९४९ मा नेपालमा कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । १९ सेप्टेम्बर १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र प्रकाशित गरियो । यो नेपाली सर्वहारा वर्ग र आम जनसमुदायका लागि एक युगान्तकारी ऐतिहासिक परिघटना थियो ।

२– नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको चर्चा गर्दा एकातिर सामग्रीको अभाव अत्यन्तै खड्कने विषय रहेको छ भने अर्कोतिर यस क्षेत्रमा प्रसस्तै विवाद छन् । तर पनि प्राप्त सामग्रीमाथि आवश्यक ध्यानदिंदै र पथप्रदर्शक सिद्धान्त, कार्यक्रम, नीति तथा कार्यदिशा, क्रान्तिमा संलग्नता लगायतका मान्यतालाई आधार बनाउँदै इतिहासको

वस्तुवादी मूल्याङ्कन गर्न आवश्यक छ । परन्तु, त्यसप्रकारको समग्र मूल्याङ्कन अहिले संभव छैन र त्यो उद्देश्य पनि राखिएको छैन । तरपनि यहाँ संक्षिप्तमा इतिहासका कतिपय प्रमुख मोडबारे अध्ययन गर्ने प्रयास गरिएको छ ।

३– नेपालमा कम्युनिष्ट पार्टी गठनकै प्रक्रियामा २२ अप्रिलमा पार्टीको पहिलो पर्चा प्रकाशित भयो र त्यसमा राणा शासनका विरुद्ध संघर्ष गर्न, नागरिक स्वतन्त्रता समिति बनाउन र जनवादी आन्दोलनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि जनसमुदायका नाममा विशेष अपील गरियो । पार्टीको पहिलो घोषणापत्रमा पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र आम राजनीतिक कार्यक्रमका रुपमा लोक जनवादलाई अङ्गीकार गरियो । पार्टी र किसान सहित जनवर्गीय मोर्चाका कामहरुलाई अगाडि बढाइयो । २००७ सालमा गरिएको त्रिपक्षीय दिल्ली संझौताको विरुद्ध सशक्त आवाज उठाइयो । नेपाल कम्युनिष्ट पार्टीलाई जनताका बीचमा स्थापित गर्दै जाने काम भयो । यसैबीच के.आइ.सिंहको ‘विद्रोह’मा संलग्न भएको आरोप लगाई २००८ साल माघमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो ।

४– २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको प्रथम ऐतिहासिक सम्मेलन भयो । सो सम्मेलनमा कमरेड पुष्पलालद्वारा प्रस्तुत ‘नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो’ शीर्षक राजनीतिक प्रस्ताव पारित गरियो । सो प्रस्तावमा भनिएको छ– ‘मुलुकमा सर्वोच्च अधिकार जनताको हातमा हुनु पर्दछ । यसै अधिकारको आधारमा शासन व्यवस्था खडा हुनु पर्दछ । यस शासन व्यवस्थामा साम्राज्यवाद सामन्तवाद विरोधी सम्पूर्ण जनता–मजदुर, किसान र जातीय पुँजीपति सामेल छन् । यसको रुप नयाँ जनवादी हुन्छ ।’ नेपाली नयाँ जनवादी क्रान्ति र कम्युनिष्ट आन्दोलनको इतिहासमा यस प्रस्तावको विशेष महत्व छ ।

५– २०१० सालमा पार्टीको पहिलो महाधिवेशन भयो । यस महाधिवेशनमा पारित प्रस्तावबारे आधिकारिक जानकारी पाइदैन । तरपनि आम कार्यक्रमका रुपमा नयाँ जनवाद र कार्यनीतिका रुपमा संविधान सभाको नारा पारित गरिएको अड्कल गर्न सकिन्छ । यस महाधिवेशनमा मनमोहन अधिकारीलाई महामन्त्री बनाइयो ।

६– २०१३ सालमा केन्द्रीय समितिको बहुमतद्वारा राजाको वैधानिक नायकत्वलाई अङ्गीकार गरियो र पार्टीमाथिको प्रतिबन्ध हट्यो । यसै क्रममा पार्टीमा वैधानिक राजतन्त्र र गणतन्त्रको विषयलाई लिएर तीब्र दुई लाइन संघर्ष चल्यो ।

७– २०१४ मा सम्पन्न दोस्रो महाधिवेशनमा गणतन्त्रको प्रस्ताव पारित गरियो, परन्तु वैधानिक राजतन्त्रका पक्षपोषक डा.केशरजङ्ग रायमाझी महामन्त्री पदमा निर्वाचित भए । महाधिवेशनमा कार्यनीतिका रुपमा संविधानसभाको नारा पारित गरियो । महाधिवेशनमा नयाँ जनवादको पक्षपोषण त गरियो, परन्तु दस्तावेजहरुमा त्यसको उल्लेख गरिएको भने पाइँदैन । यसै बीच राजाद्वारा जारी गरिएको संविधान मार्फत संसदको चुनाव गरियो ।

८– २०१७ साल पौष १ गतेको फौजी काण्ड पश्चात् केन्द्रीय समितिको दरभङ्गा प्लेनम सम्पन्न भयो । त्यसमा संसदीय व्यवस्थाको पुनःस्थापना, विघटित संसदको पुनः स्थापना र संविधान सभा जस्ता तीन प्रस्ताव प्रस्तुत गरिए । प्लेनमको बहुमतद्वारा संविधान सभाको प्रस्ताव पारित गरियो । तरपनि केन्द्रीय समितिको बहुमतले सो प्रस्तावलाई अस्वीकार ग¥यो र संसदीय व्यवस्थाको पुनः स्थापनाको प्रस्ताव पारित ग¥यो । यी तीन प्रस्तावहरुमा संविधानसभाको नारा नै तुलनात्मक रुपमा प्रगतिशीलता थियो ।

९– रुस र चीनका कम्युनिष्ट पार्टीहरुका बीच मतभेद तीब्र बन्दै जाने प्रक्रियामा २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन संपन्न भयो । यस महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम र सर्वसत्ता सम्पन्न सार्वभौम संसदको कार्यनीति पारित गरियो । महामन्त्रीमा तुलसीलाल श्रेष्ठ निर्वाचित भए । यस महाधिवेशनमा पार्टी ख्रुश्चोभको आधुनिक संशोधनवादद्वारा प्रभावित भयो र दक्षिणपन्थी संशोधनवादको भासमा फँस्न पुग्यो ।

१०– तेस्रो महाधिवेशन पछि पार्टीमा मतभेद बढ्दै गए । पार्टीमा पुष्पलालद्वारा ‘मूलबाटो’ र तुलसीलालद्वारा ‘कुनबाटो’ जस्ता विवादित प्रस्ताव वितरित गरिए । मूलबाटोमा पनि पुष्पलालद्वारा राष्ट्रिय प्रजातन्त्र र जनवादी प्रजातन्त्रका बीचको भिन्नतालाई गंभीरतापूर्वक लिइएको पाइँदैन । पुष्पलालको भनाइ छ–‘संसदीय प्रजातान्त्रिक व्यवस्था भन्ने बित्तिकै पुँजीवादी प्रजातन्त्र भन्नु एक गलत समझदारी हो । संसदीय प्रजातन्त्र पुँजीवादी प्रजातन्त्र अथवा राष्ट्रिय प्रजातान्त्रिक अथवा जनवादी प्रजातन्त्र दुवै हुन सक्छ ।’ पुष्पलालले यहाँ संसदीय प्रजातन्त्रलाई सारसंग्रहवादी ढङ्गले पेस गरेका छन् ।

११– पार्टीमा कैयौं क्रान्तिकारी कमरेडहरुबाट पुष्पलालको यस प्रकारको संसदीय चिन्तनको विरोध गरियो । माक्र्स, लेनिन र सबै सच्चा माक्र्सवादीहरुका अनुसार संसदीय प्रजातन्त्र भनेको पुरानो पुँजीवादी जनवाद हो र यसको जनताको जनवाद वा नयाँ जनवादसंग कुनै साइनो छैन ।

१२– तृतीय महाधिवेशन पश्चात् पार्टीमा एकातिर चीनमा माओको नेतृत्वमा रुसी संशोधनवादका विरुद्ध सञ्चालित दुई लाइन संघर्ष तथा नयाँ जनवादको प्रभाव प¥यो भने अर्कोतिर सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलन पनि विभिन्न धारा तथा उपधाराहरुमा विभाजित हुन पुग्यो ।

१३– पुष्पलाल समूहद्वारा २०२५ सालमा राष्ट्रिय सम्मेलन मार्फत् नयाँ जनवादको कार्यक्रम स्वीकार गरियो । सो लक्ष्य प्राप्तिका लागि दीर्घकालीन सशस्त्र किसान क्रान्तिको नीति पनि अवलम्बन गरियो । परन्तु नेपाली काग्रेसको वर्गविश्लेषण र कार्यनीतिको निधारणमा पुष्पलाल समूह अस्पष्ट रह्यो । त्यस समूहको कार्यनीति केवल निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध मात्र केन्द्रित रह्यो । त्यसले नयाँ जनवादका लागि सही कार्यनीति अवलम्बन गर्न सकेन र अन्ततः त्यो पनि सुधारवादी कमजोरीमा फँस्न पुग्यो ।

१४– २०२८ सालमा झापा विद्रोहको प्रक्रियाका बीचबाट विद्रोही समूहको जन्म भयो । यस समूहद्वारा भारतीय नक्सालवादी सशस्त्र संघर्ष र चीनको नयाँ जनवादी क्रान्तिद्वारा प्रभावित भई सशस्त्र संघर्षको घोषणा गरियो । यसले ‘एक एरिया, एक युनिट, एक स्क्वायड र एक एक्सन’को नीति अनुसार वर्ग शत्रु खतम अभियानको थालनी ग¥यो । यही समूह पछि नेकपा(माले) बन्न पुग्यो । यद्यपि यसले क्रान्तिको समग्र तयारी र स्पष्टता विना नै आन्दोलनमा हाम फल्यो र कतिपय निम्नपुँजीवादी कमजोरी पनि गर्यो । परन्तु, यस समूहले संशोधनवादका विरुद्ध क्रान्तिको झण्डा पनि अवश्यै उठायो र यसलाई सकारात्मक रुपमा नै लिनु पर्दछ । अन्तमा यो समूह दक्षिणपन्थी संशोधनवादी भासमा फँस्न पुग्यो ।

१५– यसैगरी २०२८ सालमा गठित केन्द्रीय न्युक्लसका बीचबाट एउटा अर्को समूह विकसित भयो । यस समूहले कमरेड पुष्पलाललाई गद्दार बताएर हद दर्जाको संकीर्णतावादी गल्ती ग¥यो । यस समूहद्वारा २०३१ सालमा चौथो महाधिवेशन आयोजित गरियो । यस समूहद्वारा पार्टीको आधारभूत कार्यक्रमका रुपमा नयाँ जनवाद र कार्यनीतिका रुपमा देशभक्त तथा जनतान्त्रिक शक्तिहरुको सरकारको नारा अङ्गीकार गरियो । यस प्रकारको सरकारको निर्माण तलैदेखि उठेको र व्यापक संयुक्त मोर्चामा आधारित सशस्त्र संघर्षद्वारा मात्र हुने कुरा बताइयो । अन्तर्विरोधको प्रश्नमा राष्ट्रियता र जनतन्त्र दुवैलाई प्रधान मानियो । मोहन विक्रमसिंह महामन्त्री बने । चौथो महाधिवेशनमा मुख्यतः नयाँ जनवादको समानान्तर नाराका रुपमा देशभक्त र जनतान्त्रिक शक्तिहरुको सरकारलाई प्रस्तुत गर्नु, सशस्त्र संघर्षको प्रकृतिबारे अस्पष्ट रहनु जस्ता कमजोरी रहे ।

१६– चौमको अवधि एक दशकको रह्यो । यस अवधिमा मुख्यतः मोहन विक्रमसिंहमा जडसूत्रीय संशोधनवादी र निर्मल लामामा सुधारवादी कमजोरी रहे । सांस्कृतिक विचलनका कारण मोहन विक्रमसिंह महामन्त्रीबाट निस्कासन भए । त्यस पश्चात् क्रमशः निर्मल लामा र भक्तबहादुर श्रेष्ठ क्रमशः महामन्त्री निर्वाचित भए । चौममा रहेका क्रान्तिकारी कमरेडहरुद्वारा ती दुवै कमजोरीको विरोधमा संघर्ष चलाइयो ।

१७– २०३५ सालमा सेक्रेटरीहरुको केन्द्रीय भेलाको प्रक्रियामा संपन्न केन्द्रीय समितिको बैठकमा किरणद्वारा प्रस्तुत दीर्घकालीन सशस्त्र संघर्षको फौजी कार्यदिशा पारित पनि भयो । यो समग्र प्रक्रियामा भक्तबहादुर श्रेष्ठ लगायतका कमरेडहरुको उल्लेखनीय भूमिका रहेको छ । निश्चित अवधिसम्म आजादको पनि महत्वपूर्ण भूमिका रह्यो ।

१८– चौथो महाधिवेशनको एउटा महत्वपूर्ण विशेषता भनेको चीनमा पुँजीवादको पुनःस्थापनाको विरोध र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको पक्षपोषण गर्नु हो । २०३८ सालमा सम्पन्न प्लेनममा नेकपा चौमको केन्द्रीय समितिद्वारा एउटा महत्वपूर्ण दस्तावेज पारित गरियो । यस प्रकारको निर्णयको राष्ट्रिय र अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहास पनि युगान्तकारी महत्व रहेको छ । साथै, यसबारे थप अध्ययनको आवश्यकता छ ।

१९– आखिरमा निर्मल लामा पक्षीय केन्द्रीय सदस्यहरुको राजीनामाको कारण चौमको केन्द्रीय समितिको विघटन भयो । २०४० सालमा आयोजित राष्ट्रिय सम्मेलनमा लामा समूहका केन्द्रीय सदस्यहरु निस्कासित गरिए । सांगठनिक क्षेत्रमा चौमको मुख्य कमजोरी दुईलाइन संघर्षलाई स्वस्थ र मैत्रीपूर्ण रुपमा सञ्चालन गर्न नसक्नु रह्यो । चौमको सिङ्गो अवधिमा कैयौं राजनीतिक एवम् वैचारिक प्रश्न र सांगठनिक क्षेत्रमा क्रान्तिकारी धारा प्रभावी बन्यो ।

२०– २०४१ सालमा सम्पन्न पाँचौ महाधिवेशनमा चौथो केन्द्रीय समितिमा तयार पारिएका कैयौं मूल दस्तावेजहरु प्रस्तुत गरिए र यसमा पनि नयाँ जनवादी क्रान्तिको कार्यदिशा पारित गरियो । सिपी गजुरेलद्वारा प्रस्तुत ‘मध्यपन्थी अवसरवाद कि गल्ती कमजोरीको ढाकछोप’ शीर्षक प्रस्ताव मोहनविक्रम सिंहमा विद्यमान सांस्कृतिक आचरणका साथै सैद्धान्तिक तथा राजनीतिक गल्ती कमजोरीका विरुद्ध समेत परिलक्षित थियो ।

२१– त्यसैगरी किरणद्वारा ‘कार्यक्रम संबन्धी राजनीतिक प्रस्ताव’ र ‘सैन्य कार्यदिशा संबन्धी’ प्रतिवेदन प्रस्तुत गरिएका थिए । ती प्रस्तावहरुमा नेपाल जस्तो अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक मुलुकका सन्दर्भमा जनयुद्धको मुख्य तथा जनसंघर्षको सहायक भूमिका हुने कुरामाथि प्रकाश पार्दै तथा जनयुद्धको तयारीका लागि विशेष जोडदिदै नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा प्रस्तुत गरिएको थियो र ती पारित पनि भएका थिए । पाँचौं महाधिवेशनमा किरणलाई महामन्त्रीमा निर्वाचित गरियो ।

२१– पाँचौ महाधिवेशन पश्चात् जडसूत्रीय संशोधनवादी धारा अत्यन्तै अनुशासन विहीन ढङ्गले प्रस्तुत भयो र केन्द्रीय समितिको बहुमत पक्षका विरुद्ध सार्वजनिक रुपमा नै मैदानमा उत्रियो । त्यस स्थितिमा त्यस धाराको प्रमुख नेतृत्वमाथि अनुशासनको कारवाही गरियो । त्यस धाराले नेकपा (मसाल) को नाममा नयाँ गुट बनायो । यसै प्रक्रियामा २०४२ सालमा सम्पन्न नेकपा(मशाल)को केन्द्रीय समितिको विस्तारित बैठकमा ‘अराजकतावादी व्यक्तिवादः दक्षिणपन्थी संशोधनवादको नयाँ आयाम’ शीर्षक राजनीतिक प्रस्ताव पारित भयो र मसाल गुटलाई दक्षिणपन्थी संशोधनवादी समूह घोषित गरियो ।

२२– अराजकतावादी व्यक्तिवादी समूहलाई निष्काशन गरे पश्चात् संगठन र संघर्षका कामहरुलाई व्यवस्थित तुल्याउँदै जाने काम भयो । सामन्तवाद र साम्राज्यवाद÷विस्तारवादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यमा आधारित रही जनयुद्धको पहलका लागि सैद्धान्तिक–राजनीतिक, सांगठनिक, संघर्ष सम्बन्धी लगायत चार तयारीका कामलाई गंभीरतापूर्वक लिइयो । माओविचारका ठाउँमा माओवाद पदावली प्रयोग गर्ने निर्णय लिइयो । राजतन्त्रका विरुद्ध आन्दोलन अगाडि बढाइयो । प्रविधिक प्रशिक्षण समेत सम्पन्न गरियो ।

२३– यस अवधिमा पञ्चायती चुनाव बहिष्कार आन्दोलनको प्रक्रियामा सेक्टर संबन्धी घटना पनि घट्यो । त्यो जुझारु प्रकारको घटना थियो र त्यसले बहिस्कार आन्दोलनमा राम्रो प्रभाव पनि पार्यो । परन्तु, त्यसमा केही कमी तथा कमजोरीहरु पनि रहे । यसै घटनालाई आधार बनाएर तीन वर्ष पछि कमरेड किरण महामन्त्री र कमरेड गौरव तथा मनु पीबीबाट हट्नु ठिक थिएन । त्यसो हुनुमा उदारवादी कमजोरी भएको छ । यसै प्रक्रियामा मूल नेतृत्वमा परिवर्तन गरियो र सो ठाउँमा प्रचण्डलाई ल्याइयो ।

२४– २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा संसदवादी धाराका विरुद्ध नयाँ जनवादलाई स्थापित गर्ने प्रयास गरियो । सो अवधिमा एकातिर स्वतन्त्र र अन्य नजिकका कम्युनिष्ट लिग, नेपाल माक्र्सवादी–लेनिनवादी पार्टी, नेकपा (मसाल), नेकपा(मशाल) पार्टी तथा संगठनहरु संम्मिलित भई ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’को गठन गरियो र त्यस मार्फत् आन्दोलनका कार्यक्रम अगाडि बढाइयो भने अर्कोतिर नेका तथा वाममोर्चाद्वारा घोषित पञ्चायती व्यवस्था विरोधी संघर्षलाई पनि सघाइयो ।

२५– नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा विभाजनका साथ, साथै ध्रुवीकरण र एकीकरणको प्रक्रिया पनि विकसित हुँदै आएको छ । बहुदलीय व्यवस्थाको पुनः स्थापना पश्चात् कम्युनिष्ट आन्दोलनमा पार्टी एकता र ध्रुवीकरणको लहर चल्यो ।

२६– नेकपा(मशाल), सर्वहारावादी श्रमिक संगठन, नेकपा(चौम) र नेकपा(विद्रोही मसाल) का बीच पार्टी एकता भयो र पार्टीको नाम नेकपा(एकता केन्द्र) राखियो । २०४८ मा एकता महाधिवेशन सम्पन्न गरियो । महाधिवेशनमा एकमतले नयाँ जनवादी गणतन्त्रको कार्यक्रम स्वीकार गरियो । यस महाधिवेशनमा माओवाद, प्रधान अन्तर्विरोध सशस्त्र संघर्षको कार्यदिशा लगायतका विषयमा सैद्धान्तिक तथा राजनीतिक बहस चले र कैयौं विषयमा गंभीर प्रकारका मतभेदहरु पैदा भए ।

२७– यसै महाधिवेशनमा बहुमतद्वारा माओवाद पदावली र दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित भए । त्यसैगरी बहुमतद्वारा प्रधान अन्तर्विरोधको रुपमा ‘भारतीय विस्तारवादद्वारा संरक्षित सामन्त, नोकरशाह एवम् दलाल पुँजीपति वर्ग मिलेर बनेको घरेलु प्रतिक्रियावादसंग नेपाली जनताको अन्तविरोधलाई’ पारित गरियो ।

२८– यसै क्रममा नेकपा(माले), नेकपा(माक्र्सवादी) लगायतका अवसरवादीहरुका बीचमा पनि पार्टी एकता भयो । पछि यस धारामा तुलसीलाल समूह पनि सामेल हुन पुग्यो । यस धाराले नयाँ जनवादको परित्याग गरी बहुदलीय जनवादलाई अँगाल्यो । यो नेपाली काग्रेससित घाँटी जोडी प्रतिक्रियावादी सरकारमा सम्मिलित भयो र यसले संसदीय व्यवस्थालाई स्वीकार ग¥यो ।

२९– यसैगरी कमरेड कृष्णदास श्रेष्ठको नेतृत्वमा २०३७ सालमा गठित नेपाल माक्र्सवादी–लेनिनवादी पार्टी र अन्य कतिपय कमरेडहरु समेत सम्मिलित भई २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टी(मालेमा)को गठन भयो । यो पार्टी माक्र्सवाद–लेनिनवाद तथा माओविचारधारा र नयाँ जनवादी क्रान्तिको मान्यतामा आधारित रहेको थियो र यसले सामन्तवाद–साम्राज्यवाद विरोधी संघर्षका साथै संशोधनवादका विरुद्धको संघर्षमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो ।

३०– क्रान्तिकारी कम्युनिष्टहरु बीच पार्टी एकता भई नेकपा (एकताकेन्द्र) बने पश्चात् जनयुद्धको ठोस तयारीमा लाग्ने कि न लाग्ने भन्ने विषयलाई लिएर केन्द्रीय समितिमा गंभीर प्रकारका मतभेद पैदा भए । यस प्रकारका मतभेदहरुलाई कायमै राखी बहुमतको निर्णय अनुसार तयारीका कामलाई अगाडि बढाउने प्रयास गरियो । परन्तु, सफलता हासिल गर्न सकिएन र एकता महाधिवेशनमा पारित क्रान्तिकारी कार्यदिशाको कार्यान्वयनका लागि अवसरवादसित संबन्ध विच्छेद गर्न अनिवार्य भयो ।

३१– २०५१ सालमा पहिलो राष्ट्रिय संमेलनको आयोजना गरी दक्षिणपन्थी विसर्जनवादी तथा सुधारवादीहरुलाई पार्टीबाट निस्काशित गरियो र क्रान्तिको प्रक्रियालाई अगाडि बढाउने निर्णय लिइयो । दक्षिणपन्थी विसर्जनवादी र क्रान्तिकारी माक्र्सवादी धाराबीचको भीषण दुईलाइन संघर्षमा अन्ततः क्रान्तिकारी माक्र्सवादी धाराको विजय भयो ।

३२– २०५१ सालको अन्त्यतिर नेकपा (एकताकेन्द्र) को क्रान्तिकारी धाराको केन्द्रीय समितिको तेस्रो विस्तारित बैठक सम्पन्न भयो र सो बैठकमा ‘नेपाली नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा’ पारित गरियो । यसमा नेपाली जनयुद्धको फौजी कार्यदिशालाई मूर्तीकृत गर्ने काम भयो । यस पश्चात् चार तयारीका कामलाई घनीभूत ढङ्गले अगाडि बढाइयो । साथै, तेस्रो विस्तारित बैठकमा नेकपा पछि कोष्ठमा राखिएको एकताकेन्द्र हटाई सो ठाउँमा माओवादी राखियो र पार्टीको नाम नेकपा (माओवादी) बन्न गयो ।

३३– यसै क्रममा केन्द्रीय समितिको बैठकमा ‘ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिबद्धताहरु’ शीर्षकमा छ बुँदे प्रतिबद्धता पारित गरियो । त्यसमा ‘कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् विदेशी प्रतिक्रियावादी गुटहरुको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन’ भनी जनताको विजय नहँदासम्म जनयुद्धलाई जारी राख्ने प्रतिबद्धता जाहेर गरियो ।

३४– आवश्यक तयारी पश्चात् २०५२ साल फागुन १ गते जनयुद्धको ऐतिहासिक पहल गरियो र त्यसलाई निरन्तरतामा अगाडि बढाइयो । जनयुद्ध रक्षा तथा सन्तुलनका बीचबाट प्रभावकारी ढङ्गले विकसित हुँदै गयो । यसले सिङ्गो देशलाई झक्झक्यायो र विश्वमा पनि एउटा तरङ्ग ल्यायो । जनयुद्धको पहलको प्रक्रियादेखि हालसम्म नेकपा(माओवादी) भित्र कहिले मन्द र कहिले तिब्र रुपमा दुई लाइन संघर्ष चल्दै आएको छ ।

३५– यसैक्रममा पार्टीमा नवसंशोधनवादी विचलन पैदा भयो र अन्ततः त्यससित सम्बन्ध विच्छेद गरियो । नेकपा(माओवादी भित्रको दुई लाइन संघर्षबारे विस्तृत रुपमा अर्को खण्डमा चर्चा गरिएको छ र यहाँ त्यसको पुनरावृत्ति गर्नु पर्ने आवश्यकता छैन ।

३६– शान्ति प्रक्रियामा आएयता पार्टी एकता प्रक्रिया पनि अगाडि बढ्दै गयो । पार्टी एकीकरण प्रक्रियामा नेकपा(माले) सित विद्रोह गरेर बनेको विद्रोही माले, नेकपा (मालेमा) र नेकपा (साम्यवादी) मिलेर बनेको नेकपा (मालेमा केन्द्र), नेकपा (एकताकेन्द्र–मसाल), नेकपा(एकीकृत) लगायतका संगठन तथा स्वतन्त्र व्यक्तित्वका रुपमा अनेकौं कमरेडहरु र नेकपा(माअ‍ोवादी)का बीच एकता हुँदै विकसित भएको छ । यस प्रकारको एकताको सैद्धान्तिक राजनीतिक र सांगठनिक आधारका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचार, नयाँ जनवाद र जनवादी केन्द्रीयतालाई लिइएको थियो ।

३७– क्रान्तिकारी मार्क्सवादीहरुका बीचमा पार्टी एकता हुनु राम्रो कुरा हो, परन्तु यसप्रकारको एकता प्रक्रियाबाट अवसरवादीहरुले पनि फइदा उठाउने गर्दछन् । यसबारे सतर्क रहन जरुरी हुन्छ । पार्टी एकताबारे मूल्याङ्कन गर्दै २०६९ असारको राष्ट्रिय भेलामा पारित प्रतिवेदनमा भनिएको छ–‘एकताको प्रक्रिया अगाडि बढ्दै जाँदा माओवादीभित्र दुईलाइन संघर्ष पनि तिव्र रुपमा बढ्दै गएको छ । त्यस स्थितिमा पार्टी एकताले दुईलाइन संघर्षमा प्रभाव पार्न सक्तथ्यो र पा¥यो पनि । यससन्दर्भमा उल्लेखनीय कुरा के छ भने पार्टीएकतामा सम्मिलित हुने एउटा ठूलो हिस्साले पार्टी भित्रको दुईलाइन संघर्षमा अवसरवादलाई साथ दिन पुग्यो । फलतः पार्टीभित्रको क्रान्तिकारी धारा अल्पमतमा पर्न गयो । यसलाई पार्टी एकताको अत्यन्तै ठूलो नकारात्मक प्रभावका रुपमा लिनु पर्दछ । यसका साथै पार्टी एकतामा सम्मिलित कैयौं कमरेडहरु क्रान्तिकारी धाराको पक्षमा पनि हुनुहुन्छ र यसलाई पार्टी एकताको सकारात्मक प्रभावका रुपमा लिनु पर्दछ ।’ राष्ट्रिय भेलामा गरिएको यो मूल्याङ्कन महाधिवेशनले पारित ग¥यो । र अहिले पनि सही नै रहेको छ ।

३८– २०६९ असार २ गते सम्पन्न राष्ट्रिय भेलामा पार्टीमा विद्यमान दक्षिणपन्थी नवसंशोधनवादसित संबन्ध विच्छेद गरी नेकपा–माओवादीको निर्माण भयो । भेलामा पारित प्रस्तावमा सर्वप्रथम पथप्रदर्शक सिद्धान्तमा उल्लेखनीय माओवाद/विचारको द्वैध पदावली हटाई माक्र्सवाद–लेनिनवाद–माओवाद राखियो । यस राष्ट्रिय भेलामा दलाल तथा नोकरशाह पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको भण्डाफोर र सबैखाले संशोधनवाद र विशेषतः दक्षिणपन्थी नवसंशोधनवादको विरोधगर्दै नयाँ जनवादी क्रान्तिका कामलाई संगठित तथा विकसित गर्ने कुरामा जोड दिइयो । नेकपा–माओवादीद्वारा क्रान्तिकारी कार्यदिशा तथा नीति पारित गरी संगठन र संघर्षका कामलाई अगाडि बढाउँदै लग्ने काम हुँदै आएको छ ।

३९– वर्तमान नेपाली कम्युनिष्ट आन्दोलन विभिन्न समूह र उपसमूहहरुमा विभाजित रहेको छ । अहिले नेपाली कम्युनिष्ट आन्दोलनमा मूलतः तीन ओटा धारा क्रियाशील रहिआएका छन्, ती हुन्–क्रान्तिकारी माक्र्सवादी धारा, दंक्षिणपन्थी संशोधनवादी धारा र मध्यवर्ती धारा । यी धाराहरुका आ–आफ्ना विशेषता रहेका छन् ।

४०– क्रान्तिकारी मार्क्सवादीधाराभित्र नेकपा–माओवादी र अन्य कतिपय समूह छन् । क्रान्तिकारी धाराभित्रका नेकपा–माओवादी र अन्य समूहबीच माक्र्सवाद–लेनिनवाद–माओवाद र नयाँ जनवाद जस्ता विषयमा मूलतः समान समझदारी वा एकरुपता भएपनि अन्य कतिपय कार्यनीतिक प्रश्नमा विभिन्नता पाइन्छ ।

४१– दक्षिणपन्थी संशोधनवादी धारा अन्तर्गत एकातिर बहुदलीय जनवादको कार्यदिशा मान्ने र माओवादको विरोध गर्ने समूहहरु छन्् भने अर्कोतिर माक्र्सवाद–लेनिनवाद–माओवाद/विचार मान्नेहरु पनि छन् । रुपमा यस धाराले आफूलाई माक्र्सवादी देखाउन खोजे पनि सारमा संसदवाद तथा सुधारवादलाई अंगाल्दै दलाल तथा नोकरशाह पुँजीपति वर्गको पक्षधर वा उन्मुख रहेको देखिन्छ । यी दुवै धाराका बीचमा कतिपय समूहरु देखापर्दछन् ।

४२– यस अन्तर्गत मार्क्सवाद–लेनिनवाद वा माक्र्सवाद–लेनिनवाद र माओविचार, नयाँ जनवाद आदिलाई मान्ने र दलाल तथा नोकरशाह पुँजीपति वर्गको विरोध गर्ने, राष्ट्रिय स्वाधीनता, जनतन्त्र तथा जनजीविकाका सवालहरुलाई लिएर आन्दोलनमा सामेल हुन चाहने कतिपय समूह पर्दछन् । परन्तु, कार्यनीतिको प्रश्नमा भने यी समूहमा एकातिर विविधता पाइन्छ भने अर्कोतिर संसदवादी राजनीतिबाट यसप्रकारका समूह मुक्त हुन सकेका देखिदैनन् ।

४३– नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा महत्वपूर्ण विशेषता के रहेको छ भने क्रान्तिकारी र विचौलिया धाराहरुभित्र पनि कैयौं क्रान्तिकारी कमरेडहरु हुनुहुन्छ भने क्रान्तिकारी धाराभित्र पनि कैयौं कमी, कमजोरीहरु रहेका छन् ।

४४– आज नेपाली कम्युनिष्ट आन्दोलनमा दंक्षिणपन्थी संशोधनवाद नै प्रमुख खतरा हो । आज कतिपय समूहहरु कम्युनिष्ट पार्टीको नाम जपेर प्रक्रियावादको भासमा उठ्नै नसक्ने गरी फँसेका छन् ।

४५– दक्षिणपन्थी संशोधनवादलाई परास्त नगरीकन क्रान्तिलाई कुनै पनि हालतमा अगाडि बढाउन सकिदैंन र यसबारे सतर्क रहनु पर्दछ । यस स्थितिमा हामीले दंक्षिणपन्थी संशोधनवादको सशक्त रुपमा सैद्धान्तिक विरोध तथा भण्डाफोर गर्दै सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबन्द गरी नयाँ प्रकारले धु्रवीकरण र एकीकरणको प्रक्रियालाई अगाडि बढाउनु आवश्यक छ ।

(वैद्यको पार्टी दस्तावेजका आधारमा)

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्