Saturday, May 4
Shadow

युद्धमैदानदेखि प्रदेश सभाको उपभामुखसम्म


  • -इ
  • इ+

० बिस्नप्रसाद न्याैपाने

सुर्खेत: कर्णाली प्रदेश सभाकी उपसभामुख यसोदा न्यौपानेको राजनीतिक जीवनको संघर्ष फरक छ। उनी विद्यालय पढ्दा ताका नै दुई दशकअघि जुम्ला तातोपानी हिमशिखर माविमा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भईन्। मुलुकमा माओवादी द्वन्द्व बढ्दै जाँदा उनी ०५७ असोज ३ गते नेकपा माओवादीको पूर्णकालीन सदस्य बनिन्।

परिवारले भने भाइलाई माओवादी आन्दोलनमा पठाउने र दिदी यसोदालाई थप पढाउन काठमाडौं पठाउने तयारी गरेको थियो। परिवारको निर्णय विपरीत उनी युद्ध मोर्चामा सहभागी भइन्।

उनलाई युद्धमा होमिएका बेला बाच्छु जस्तो लागेको रहेनछ। विगत सम्झँदै उनले युद्धमा जोगिएर उपसभामुख हुन्छु भन्ने थाहै नभएको बताइन्। उनले भनिन्, ‘परिस्थितिले सत्तामा पुर्‍याउँदो रहेछ। उति बेला त देश र जनताको लागि ज्यान गएप नि जाला भनेर युद्धमोर्चामा लागेका थियौँ। आज उपसभामुखको जिम्मेवारी आएको छ।’

माओवादी युद्ध सुरु हुनु अघि गाउँमा महिला अधिकारको बारेमा आफूलाई कुनै जानकारी नभएको बताउँदै उनले गाउँमा महिला माथि हुने हिंसा भने सामान‍्य देखेको बताइन्। उनले भनिन्, ‘जब माओवादी जनयुद्धले महिला अधिकारका बारेमा प्रशिक्षण दिन थाल्यो अनि मैले गाउँमा महिला दिदिबहिनी माथि हुने हिंसा अत्य गर्न माओवादी पार्टी रोजेकी थिए।’

उनले भनिन्, ‘२०५७ सालमा तत्कालिन प्रतिक्रियावादी सरकारले माओवादी पार्टीलाई निकै दमन गरिरहेको थियो। त्यो बेला यो पार्टीमा प्रवेश गरेर देशको निम्ति लड्न जान्छु भन्दा गाउँ र घरकाले अकालमै मर्न गई भनेर कुरा काट्थ्थे। ती दिन सम्झँदा आफैँलाई पनि पीडाबोध हुन्छ। मैले कुनै पनि काम गर्दा धेरै पटक सोचेर निर्णय गर्ने भएकाले मैले जनयुद्धमा लागेकोमा कुनै पछुतो गर्नु परेन।’

माओवादी युद्धमा प्रवेश गरेको केही महिनामा अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को एरिया कमिटी अध्यक्ष हुदै जिल्ला सदस्य बनेकी यसोदा २०५८ मा पार्टीको एरिया सचिव, अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सचिव र किसान संगठनको क्षेत्रीय ब्यूरो सदस्य बनेकी थिइन्। ‘तत्कालिन राजा ज्ञानेन्द्रको नेतृत्वको शाही सरकार र माओवादी पाटी बीचको युद्ध चर्किदै थियो। त्यो बेला पाटीको निर्देशन अनुसार २०५९ मा माओवादी जनमुक्ति सेनामा सरुवा भएर प्लाटुन कमाण्डरको भूमिकामा निर्बाह गरेँ’, उनले भनिन्, ‘म जनमुक्ति सेना प्रवेश गरेकै वर्ष कालीकोटको सेरावाडामा शाही नेपाली सेनाको घेरामा परेँ। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेनाको घेरामा परेकी कति बेला मर्छु जस्तै भएको थियो। दुश्मनले मलाई भनेर मेरो झोला खसेको ठाउँमा २५ राउण्ड गोली हान्यो तर म बाँचे।’

जनमुक्ति सेनामा हुँदा नै घर भेटघाटमा गएको बेला तत्कालिन जुम्ला गर्जेङ्गकोट गाविसमा शाही नेपाली सेना र आफु आम्ने साम्ने भएको र गाउँकै एक दाइले बचाएको उनी सम्झिन्छिन्। जनमुक्ति सेना उनकव कार्यक्षेत्र गण्डकमा थियो। त्यो बेला उनी जनमुक्ति सेनाको राजनीतिक कमिसार भइसकेकी थिइन्।

जनयुद्धका बेलाको बिर्सनै नसक्ने क्षण चाहिँ म्याग्दीको आक्रमणको रहेछ। त्यो बेला दुई दिन दुई रात खाना नपाएको क्षण सम्झिदा अहिले पनि उनलाई सपना जस्तो लाग्छ। उनले भनिन्, ‘शान्ति प्रक्रियामा अरु ब्यारेकमा बसे म खुला राजनीतिमा आएँ।’

जनयुद्ध अबधिभर जनमुक्ति सेनाको रुपमा काम गरेकी यसोदा पाटी शान्ति प्रक्रियामा आइसकेपछि उनका सहपाटी सबै जनमुक्ति सेनाहरु ब्यारेकमा बसे तर उनी खुला राजनीतिमा आइन्। माओवादी युवा संगठन योग कम्युनिष्ट लिग नेपालको महिला विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्यक्षसम्म बनेकी यशोदा अहिले पाटीको केन्द्रीय सदस्य हुँदै कर्णाली प्रदेश सभाको उपसभामुख बनेकी छन्।

जनयुद्धका ती अविस्मणीय क्षण सम्झँदै यसोदाले भनिन्, ‘अहिलेको अवस्थामा आइपुग्छु भन्ने कल्पना समेत गरेकी थिइन्। परिस्थितिले आज मलाई सत्ताको एक जिम्मेवारी दिएको छ। जनयुद्धको संकटपूर्ण परिस्थितिमा राजनितिमा प्रवेश गरेर यो देशको व्यवस्था बदल्नको निम्ति गरेको त्याग, तपस्या, बलिदान र जनताको अपार मायाले यो ठाउँ सम्म पुर्‍यायो। अब युद्धताका लिएका योजना पूरा गर्नु पर्ने दायित्व हामी र हाम्रो पार्टीको छ।’

यो जिम्मेवारी पाउँदा उनी निकै खुसी लागेको बताउँछिन्। अहिले कर्णाली प्रदेशसभाको नेतृत्व महिलाको काँधमा आएको हुनाले त्यसलाई कसरी प्रभावकारी गर्न सकिन्छ त्यसतर्फ ध्यान दिएर लाग्ने उनले बताइन्। उनले भनिन्, ‘पाटीको आदेशमा यो मोर्चा सम्हालेको हुँ। उपसभामुख भए पनि मान्छेको इच्छा शक्ति भयो भने र क्षमता भयो भने यसैबाट धेरै काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेर देखाउनेछु।’

अन्नपूर्णपाेष्ट डटकमबाट

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्