प्रम ओलीलाई किन यति धेरै पिएचडी मोह ?
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक पढाई एसएलसीभन्दा मुनी नै हो ।
- गरिबी र अभावमा हुर्किएका उनको बाल्यकाल पीडाले भरिएकाले औपचारिक पढाई अगाडि बढाउन सकेनन् ।
- १४ वर्ष जेल बसेका ओलीले पढेर भन्दा परेर जाने ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक पढाई एसएलसीभन्दा मुनी नै हो । गरिबी र अभावमा हुर्किएका उनको बाल्यकाल पीडाले भरिएकाले औपचारिक पढाई अगाडि बढाउन सकेनन् । १४ वर्ष जेल बसेका ओलीले पढेर भन्दा परेर जाने । स्वअध्ययन गरेकाले ओली तर्कक्षमतामा अब्बल मानिन्छन् । तैपनि, उनमा पिएचडीको मोह बढ्दै छ । गएको तीन वर्षमा लगातार तीनवटा विश्वविद्यालयहरुबाट मानार्थ विद्यावारिधीको सम्मान थापिसकेका छन् ।
प्राज्ञिक थलोप्रति आकर्षण
ओली विगतमा विदेश जाँदा समेत कुनै न कुनै विश्वविद्यालयमा पुग्थे । प्रवचनमा सहभागी भई पीएचडी शोधकर्ताहरुसँग अन्र्त्क्रियामा सहभागी हुन्थे । उनी भारत जाँदा सबैभन्दा बढी पुग्ने जवाहरलाल नेहरु विश्वविद्यालय हो । त्यहाँको दक्षिण एशिया अध्ययन केन्द्रमा पीएचडी शोधकर्तासँग अन्र्त्क्रिया गर्थे ।
अंग्रेजी तिख्खर बोल्ने ओली पढेलेखेकाहरुसँग समय बिताउन चाहने नेतामा गनिन्छन् । बौद्धिक व्यक्तिहरुको आलोचनाप्रति बेला बखत व्यङ्ग्य गर्ने उनी आफैलाई बौद्धिक मान्छन् भन्ने पीएचडी मोहले पनि देखाउँछ ।
आँचा चिम्लेर उपाधि
ओली आफूले औपचारिक अध्ययन गर्न नपाएकोमा पीडाबोध गर्न छाडेका छैनन् भन्ने मानार्थ विद्यावारिधीको मोहमा परेका छन् । जसले मानार्थ विद्यावारिधी दिन्छ थापिहाल्ने स्वभाव ओलीमा देखिएको छ । विश्वविद्यालयको स्तर र उद्देश्य नबुझी ओलीले सम्मान थापिदिंदा पदको मर्यादा नराखेको भन्दै आलोचना हुनेगरेको छ ।
ओलीले हालैमात्र दक्षिण कोरियाको काङनाम विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीको सम्मान लिए । काठमाडौंमा विश्वविद्यालयका प्रतिनिधि आएर गाउन लगाइदिंदा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थ खनियाँ समेत सहभागी थिए । उक्त विश्वविद्यालय धार्मिक उद्देश्यबाट प्रेरित रहेको छ । क्रिश्चियन धर्मको प्रचार प्रसारमा विश्वविद्यालय लागेको भेटियो ।
ओलीले २०६७ मा अमेरिकाको ग्रिनफोर्ड युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी लिएका थिए । उक्त विश्वविद्यालय विवादास्पद रहेको भेटियो । उक्त विश्वविद्यालय अस्तित्वमा नभएको पत्ता लागेपनि ओलीले विश्वविद्यालयको बचाऊ गर्दै मानार्थ विद्यावारिधी लिनुलाई गर्व ठाने । उनीसँगै मानार्थ पीएचडी लिने मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र क्याप्टेन रामेश्वर थापाले फिर्ता गरिहाले ।
दोस्रोपटक प्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा ओलीलाई खाली हात पठाइएन । उनको मानार्थ पीएचडीको मोह बुझेर भारत सरकारले बन्दोबस्त गरिदियो । उत्तराखण्डस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयबाट मानार्थ पीएचडीबाट ओली सम्मानित भए ।
संयुक्तराष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएको बखत ओलीलाई खुशी बनाउन अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुन कार्की लागिपरे । उनकै पहलमा ओलीलाई कोस्टारिकाको युनिभर्सिटी फर पिसबाट मानार्थ विद्यावारिधीबाट विभुषित गर्ने बस्दोबस्त गरियो । ओलीलाई गाउन लगाएर सम्मान दिने कार्यक्रममा कार्की समेत पुगेका थिए ।
सरकारी खर्चमा कोस्टारिका पुग्नुमा ओलीको विद्यावारिधीको गाउन र टोपी लगाउने मुख्य उद्देश्य थियो । ओलीलाई खुशी पार्ने तरिका अहिले पीएचडीको मानार्थ उपाधि समेत भएको छ । ओलीबाट काम लिन खोज्नेहरुले उनलाई खुशी पार्न यो उपाय अपनाउन थालेका छन् । उनलाई अझै धेरै मानार्थ पीएचडीको उपाधि दिलाउन बालुवाटारमा केही व्यक्तिहरु सलबलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओललाई मानार्थ पीएचडी दिनेको विवरण
उपाधि पाएको वर्ष, देश र विश्वविद्यालय
२०७६ दक्षिण कोरिया काङनाम विश्वविद्यालय
२०७५ कोस्टारिका युनिभर्सिटी फर पिस
२०७४ भारत गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालय
२०६७ अमेरिका ग्रिनफोर्ड युनिभर्सिटी
प्रतिक्रिया