निर्मला प्रकरण : डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
सारांश
- भीमदत्तनगर।
- कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ।
- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका छ।
भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ।
‘निर्मला प्रकरण’मा डेढ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयबाट चार अनुसन्धान अधिकृत परिवर्तन भइसकेको छ। शुरुका अनुसन्धान अधिकृत खड्का निलम्बन परेपछि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सम्हालेका थिए। उनीपछि सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले सो प्रकरणको अध्ययन गर्दैैगर्दा इलाका प्रहरी कार्यालय अत्तरिया काज सरुवा भयो। यसपछिका प्रहरी नायब उपरीक्षक गणेश बम पनि थोरै समय जिल्ला प्रहरीमा बसेर जिल्ला प्रहरी कार्यालय बझाङको प्रमुख भएर सरुवा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जनाएको छ।
विसं २०७५ भदौ ४ गते सार्वजनिक हत्या अभियुक्त भन्दै सार्वजनिक गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका मानसिक अवस्था ठीक नभएका दिलीपसिंह विष्टलाई प्रहरीले पुनः गहन अनुसन्धान घेरामा राखेको छ। पक्राउ परेको केही सातापछि अभियुक्त भनी सार्वजनिक गरिएका विष्टको डिएन नमिलेपछि सरकारी वकिल कार्यालयबाट साधारण तारेखमा रिहा भएका थिए।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवनप्रसाद रिजाल नेतृत्वमा गठित छानबिन समितिले डिएनएको नमूना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्ष चार महिनाअघि गृहमन्त्रालयलाई दिएको थियो। डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि परिस्थिति प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाइरहँदा शङ्काको सुई फेरि यसअघि सार्वजनिक गरिएका विष्टमाथि रहेको छ।
झण्डै दुई महिनायता प्रहरीको टोलीले दिलीपसिंह विष्टलाई नै अभियुक्त बनाएर अभियोजन सरकार वकिल कार्यालय कञ्चनपुर लैजान चाहे पनि बाह्य परिस्थितिले रोकिएको प्रहरी स्रोतको भनाइ छ। “भिडियो क्लिपकै आधारमा दिलीपलाई पक्राउ गरेर प्रक्रिया अघि बढाउन सकिन्न भन्ने सरकारी वकिलको जवाफपछि प्रहरी पछि हटेको हो।” प्रहरी स्रोतले भन्यो, “दिलीप पक्राउ गर्न केन्द्रबाटै दबाब पनि छ।”
गत भदौ तेस्रो साता निर्मलाका आमा दुर्गादेवी पन्तले पनि दिलीपसिंह विष्टको नाममा किटानी जाहेरी दिए पनि सुनुवाइ भएको छैन। यसअघिकै जसरी सरकारी वकिलले विष्टलाई प्रमाण नपुगेको भन्दै छाडेपछिको अवस्था के हुने भन्ने चिन्ता अनुसन्धानमा खटिएका प्रहरी अधिकृत वृत्तमा छ।
प्रतिक्रिया