पोखरा विमान दुर्घटना: आफन्तलाई शव बुझाउन सुरु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ३, २०७९
|
|
३६ पटक हेरिएको
Shares
पोखरा विमान दुर्घटना: आफन्तलाई शव बुझाउन सुरु

सारांश

  • कास्की।
  • आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाको शव आफन्तलाई बुझाउन थालिएको छ।
  • सोमबार साँझ पोखरा–१३ का सदाकत अलि मियाँको शव परिवारले बुझेका हुन्।

कास्की। आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाको शव आफन्तलाई बुझाउन थालिएको छ। सोमबार साँझ पोखरा–१३ का सदाकत अलि मियाँको शव परिवारले बुझेका हुन्।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार साँझदेखि मात्र शव परीक्षण सुरु गरिएको थियो। बाँकी शवको परीक्षण भइरहेकाले आज बिहान आफन्तलाई हस्तान्तरण गरिने अस्पताल प्रशासनले जनाएको छ।

दुर्घटनामा हालसम्म फेला परेका ७० शवमध्ये २४ जनाको मात्र पोखरामा परीक्षण हुने अस्पतालको भनाइ छ। विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव काठमाडौँस्थित शिक्षण अस्पतालमा शव परीक्षण हुनेछ।

ती शवलाई हेलिकप्टरमार्फत आज काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाडौँदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ।

शव बुझ्न अस्पताल परिसरमा बिहानैदेखि मृतकका आफन्त जम्मा भएका थिए। शव हस्तान्तरणमा अस्पतालले ढिलाइ गरेको भन्दै कतिपयले गुनासोसमेत गरिरहेका थिए। शव परीक्षणको प्रक्रियाले समय लिएपछि परिवारले बेलैमा शव बुझ्न नपाएका हुन्।

पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनमा परी ज्यान गुमाएका ७० जनाको शव फेला परेको छ। विमानमा सवार बाँकी दुई यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?