स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार, बकुलहर रत्ननगर अस्पतालमा बढ्यो नागरिकको आकर्षण

Asmita-Newsdesk Asmita-Newsdesk
|
शुक्रबार, भाद्र ५, २०८३
|
|
९ पटक हेरिएको
Shares
स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार, बकुलहर रत्ननगर अस्पतालमा बढ्यो नागरिकको आकर्षण

सारांश

  • पूर्वी चितवनका नागरिकहरूका लागि स्थानीयस्तरमै सहज र सर्वसुलभ स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य बनेको छ, बकुलहर रत्ननगर अस्पताल।
  • भरतपुर जानुपर्ने बाध्यता घटाउँदै यस अस्पतालले प्रवाह गर्दै आएको सेवा विस्तारका कारण पछिल्ला वर्षहरूमा यहाँ उपचार गराउन आउने बिरामीको उपस्थिति उल्लेख्य रूपमा बढ्दै गएको छ।
  • अस्पतालका जनस्वास्थ्य निरीक्षक पुष्पराज आचार्यका अनुसार बहिरङ्ग, आकस्मिक, प्रसूति तथा शल्यक्रिया सेवातर्फ सर्वसाधारणको आकर्षण बर्सेनि थपिँदो छ।

पूर्वी चितवनका नागरिकहरूका लागि स्थानीयस्तरमै सहज र सर्वसुलभ स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य बनेको छ, बकुलहर रत्ननगर अस्पताल। भरतपुर जानुपर्ने बाध्यता घटाउँदै यस अस्पतालले प्रवाह गर्दै आएको सेवा विस्तारका कारण पछिल्ला वर्षहरूमा यहाँ उपचार गराउन आउने बिरामीको उपस्थिति उल्लेख्य रूपमा बढ्दै गएको छ।

अस्पतालका जनस्वास्थ्य निरीक्षक पुष्पराज आचार्यका अनुसार बहिरङ्ग, आकस्मिक, प्रसूति तथा शल्यक्रिया सेवातर्फ सर्वसाधारणको आकर्षण बर्सेनि थपिँदो छ। हाल अस्पतालले बहिरङ्ग विभागमार्फत २० भन्दा बढी प्रकारका विशेषज्ञ सेवा प्रदान गरिरहेको छ, जसका कारण दैनिक करिब एक हजार २०० बिरामीले प्रत्यक्ष स्वास्थ्य लाभ लिने गरेका छन्।

स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम यस अस्पतालमा मुख्य आकर्षण बनेको देखिन्छ। अस्पताल आइपुग्ने कूल बिरामीमध्ये ८५ प्रतिशत बिरामीले बिमामार्फत नै उपचार लिने गरेका छन्। गत आर्थिक वर्षमा मात्रै दुई लाख ९५ हजार भन्दा बढी नागरिकले बिमा सुविधा प्रयोग गरी स्वास्थ्य उपचार प्राप्त गरेका छन्।

आकस्मिक उपचार तथा जटिल प्रकारका शल्यक्रिया सेवामा पनि अस्पतालले महत्त्वपूर्ण सफलता हासिल गरेको छ। विगत तीन वर्षको तथ्याङ्कलाई हेर्दा आकस्मिक कक्षमा उपचार गराउने र भर्ना हुने बिरामीको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ। गत वर्ष मात्रै एक हजार २७१ जनाको गम्भीर शल्यक्रिया सफलतापूर्वक सम्पन्न भई धेरै नागरिकले स्थानीयस्तरमै नयाँ जीवन पाएका छन्।

विशेष गरी प्रसूति सेवाको विस्तारले यस क्षेत्रका महिलाहरूलाई ठूलो राहत पुर्‍याएको छ। पहिले सामान्य तथा जटिल प्रसूति सेवाका लागि पनि भरतपुरका अस्पताल पुग्नुपर्ने बाध्यता रहेकामा अहिले स्थानीयस्तरमै गुणस्तरीय सेवा उपलब्ध भएपछि आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा  सुधार आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?