जुम्लाको हाट सिँजामा पुग्यो फोरजी सेवा, स्थानीयलाई सहज
सारांश
- ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको जुम्लाको हाट सिँजा क्षेत्रमा फोरजी सेवासँग जोडिएको छ।
- नेपाली भाषाको उद्गमस्थल मानिने यस क्षेत्रमा नेपाल टेलिकमले नयाँ टावर निर्माण गरी फोरजी (4G) सेवा सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको छ।
- कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजारमा स्थापित नयाँ टावरमार्फत यस क्षेत्रका आधा दर्जनभन्दा बढी वडाका ग्रामीण बस्तीहरूमा फोरजी सेवा पुगेको छ।
ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको जुम्लाको हाट सिँजा क्षेत्रमा फोरजी सेवासँग जोडिएको छ। नेपाली भाषाको उद्गमस्थल मानिने यस क्षेत्रमा नेपाल टेलिकमले नयाँ टावर निर्माण गरी फोरजी (4G) सेवा सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको छ।
कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजारमा स्थापित नयाँ टावरमार्फत यस क्षेत्रका आधा दर्जनभन्दा बढी वडाका ग्रामीण बस्तीहरूमा फोरजी सेवा पुगेको छ। नेपाल टेलिकम जुम्लाका अनुसार राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण केही समय ढिलाइ भए पनि हाल सोलार ब्याट्री प्रणालीमार्फत टावर सञ्चालनमा ल्याएर द्रुत गतिको इन्टरनेट उपलब्ध गराइएको हो।
भौगोलिक रूपमा दुर्गम मानिने यस क्षेत्रमा टेलिकमले पूर्वाधार विस्तार गरेपछि स्थानीय बासिन्दा, विद्यार्थी, व्यापारी तथा सेवाग्राहीहरू लाभान्वित भएका छन्। अब हाट सिँजा, गुठीज्युला, गौरी, ओखरवाडालगायतका स्थानमा सहजरूपमा गुणस्तरीय सञ्चार तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ।
डिजिटल विभाजन घटाउने सरकारी नीति अनुरूप नेपाल टेलिकमले बाजुराको बडीमालिका, डोल्पा र ताप्लेजुङका उच्च हिमाली भेगमा समेत फोरजी सेवा पुर्याइसकेको छ। दूरसञ्चार पूर्वाधार अभाव झेलिरहेका हिमाली तथा पहाडी भेगमा सञ्चारको पहुँच पुग्दा स्थानीय तहको प्रशासनिक कार्य तथा पर्यटकीय गतिविधिमा समेत ठूलो टेवा पुग्ने देखिन्छ।
नेपाल सरकारले चालू आर्थिक वर्षमा अर्बौँ रूपैयाँको बजेट विनियोजन गरी देशभर करिब १६ सय नयाँ मोबाइल टावर स्थापना गर्ने योजना अगाडि बढाएको छ।
प्रतिक्रिया