यशको ‘टक्सिक’लाई दर्शकको साथ मिलेन, दोस्रो दिनदेखि नै कमाइ सुस्त

Asmita-Newsdesk Asmita-Newsdesk
|
आइतबार, भाद्र १४, २०८३
|
|
१० पटक हेरिएको
Shares
यशको ‘टक्सिक’लाई  दर्शकको साथ मिलेन, दोस्रो दिनदेखि नै कमाइ सुस्त

सारांश

  • दक्षिण भारतीय सुपरस्टार यशको बहुप्रतीक्षित चलचित्र ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ ले ५ सय करोड भारतीय रुपैयाँको विशाल निर्माण लागत उठाउन बक्स अफिसमा कडा सङ्घर्ष गरिरहेको छ।
  • प्रदर्शनको सुरुआतमै १०१.
  • १० करोडको धमाकेदार ओपनिङ गरे पनि त्यसपछिका दिनमा दर्शक तथा समीक्षकको सोचेजस्तो साथ नपाउँदा यसको व्यापारमा तीव्र गिरावट आएको छ।
दक्षिण भारतीय सुपरस्टार यशको बहुप्रतीक्षित चलचित्र ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ ले ५ सय करोड भारतीय रुपैयाँको विशाल निर्माण लागत उठाउन बक्स अफिसमा कडा सङ्घर्ष गरिरहेको छ। प्रदर्शनको सुरुआतमै १०१.१० करोडको धमाकेदार ओपनिङ गरे पनि त्यसपछिका दिनमा दर्शक तथा समीक्षकको सोचेजस्तो साथ नपाउँदा यसको व्यापारमा तीव्र गिरावट आएको छ।
भारतीय बक्स अफिसमा चौथो दिनसम्म आइपुग्दा यस चलचित्रले कूल २२८ करोड २५ लाख ग्रस सङ्कलन गर्न सफल भएको छ। व्यापार विश्लेषक संस्था स्याकनिल्कका अनुसार दोस्रो दिनमै ६२.८ प्रतिशतले घटेर ३७ करोड ६५ लाखमा सीमित भएको कमाइ तेस्रो दिन २७ करोड २० लाख र चौथो दिन २५ करोड १५ लाखमा झरेको छ।
कमाइमा आएको यो निरन्तर मन्दी यशको आफ्नै पकड मानिने आन्ध्र प्रदेश, तेलङ्गाना, तमिलनाडु र केरल जस्ता दक्षिणी राज्यहरूसहित हिन्दी भाषी क्षेत्रमा समेत देखिएको छ। कन्नड, हिन्दी र तेलुगुबाहेक तमिल र मलयालम जस्ता अन्य भाषाहरूमा त यसको दैनिक सङ्कलन करोडभन्दा तल लाखमा खुम्चिन पुगेको दैनिक भास्करले उल्लेख गरेको छ।
व्यापारको वर्तमान सुस्त गतिलाई विश्लेषण गर्दा भारतको हल प्रदर्शनबाट यो चलचित्रले बढीमा ४ सय करोड भारु सम्म मात्र उठाउन सक्ने प्रक्षेपण गरिएको छ। हलको कमाइबाट मात्रै लागत नउठ्ने जोखिम बढे तापनि प्रदर्शनअघि नै ओटीटी तथा टेलिभिजन अधिकार बिक्रीबाट निर्माताहरूले २३५ करोड भारु सुरक्षित गरिसकेकाले केही राहत मिलेको छ।
राष्ट्रिय पुरस्कार विजेता निर्देशक गीतू मोहनदासको निर्देशनमा बनेको यस एक्सन-ड्रामा चलचित्रका लागि अभिनेता यशले चार वर्षको समय लगानी गरेका थिए। चलचित्रमा यशको दोहोरो भूमिकाका साथै नयनतारा, कियारा आडवाणी, तारा सुतारिया, हुमा कुरैशी र रुक्मिणी वसन्त जस्ता चर्चित कलाकारहरूको प्रमुख अभिनय रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?