धनुषाबाट बाढीपीडितका लागि आर्थिक र भौतिक राहत जुट्दै

Asmita-Newsdesk Asmita-Newsdesk
|
बिहिबार, भाद्र १८, २०८३
|
|
६ पटक हेरिएको
Shares
धनुषाबाट बाढीपीडितका लागि आर्थिक र भौतिक राहत जुट्दै

सारांश

  • भोटेकोशी क्षेत्रमा बाढी र पहिरोले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मधेश प्रदेशका स्थानीय तह र समुदायबाट आर्थिक तथा भौतिक सहयोग जुट्ने क्रम बढेको छ।
  • बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएपछि प्रभावित नागरिकलाई मद्दत पुर्‍याउन धनुषाका विभिन्न निकाय तथा सर्वसाधारणले स्वतःस्फूर्त रूपमा आर्थिक एवम् भौतिक सहयोग जुटाइरहेका हुन्।
  • यसैक्रममा धनुषाको मिथिला नगरपालिकाले प्राकृतिक विपत्तिको यस घडीमा मानवीय दायित्व बोध गर्दै कुल ४१ लाख रुपैयाँ राहत स्वरूप सहयोग गर्ने निर्णय गरेको छ।

भोटेकोशी क्षेत्रमा बाढी र पहिरोले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मधेश प्रदेशका स्थानीय तह र समुदायबाट आर्थिक तथा भौतिक सहयोग जुट्ने क्रम बढेको छ। बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएपछि प्रभावित नागरिकलाई मद्दत पुर्‍याउन धनुषाका विभिन्न निकाय तथा सर्वसाधारणले स्वतःस्फूर्त रूपमा आर्थिक एवम् भौतिक सहयोग जुटाइरहेका हुन्।

यसैक्रममा धनुषाको मिथिला नगरपालिकाले प्राकृतिक विपत्तिको यस घडीमा मानवीय दायित्व बोध गर्दै कुल ४१ लाख रुपैयाँ राहत स्वरूप सहयोग गर्ने निर्णय गरेको छ। नगरप्रमुख महेन्द्र महतोका अनुसार नगरपालिकाभित्र कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालयका कर्मचारीहरूले ऐक्यबद्धता जनाउँदै स्वेच्छिक रूपमा यो रकम संकलन गरेका हुन्।

राहत कोष निर्माणका लागि नगरप्रमुख स्वयंले ५१ हजार १५१ रुपैयाँ, उपप्रमुखले १२ हजार रुपैयाँ र अन्य जनप्रतिनिधिहरूले ३ लाख ३३ हजार १६५ रुपैयाँ व्यक्तिगत योगदान गरेका छन्। स्थानीय तह विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराइएको छ भने बाँकी रकम कर्मचारी, शिक्षक तथा विद्यालयका कर्मचारीबाट संकलन गरिएको हो।

उता जनकपुरधाम क्षेत्रबाट पनि उद्योगी, व्यवसायी, धार्मिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा स्थानीय समुदायको संयुक्त पहलमा १५ लाख ५५ हजार ७३२ रुपैयाँ नगद संकलन भइसकेको छ। जनकपुरधाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साह एक्लैले ८ लाख ५१ हजार रुपैयाँ योगदान गर्नुभएको छ भने नेपाल औषधि व्यवसायी सङ्घ, मस्जिद तथा मदर्सा कमिटी र जानकी बोर्डिङ स्कुलले पनि उल्लेख्य रकम जुटाएका छन्।

नगदका अतिरिक्त जनकपुरधामबाट ठूलो परिमाणमा खाद्यान्न, लत्ताकपडा, जुत्ता-चप्पल, सरसफाइ र भान्साका सामग्रीहरू समेत एकीकृत गरिएको छ। सङ्कलित सम्पूर्ण राहत सामग्रीहरूलाई व्यवस्थित ढङ्गले बाढीप्रभावित क्षेत्रसम्म पुर्‍याउनका लागि आवश्यक ढुवानीको तयारी भइरहेको जानकारी जनकपुरधाम उद्योग वाणिज्य सङ्घका सचिव निरजविक्रम साहले दिनुभएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?