मुम्बईबाट प्रधानमन्त्रीलाई नेपाली चेलीको भावुक पत्र:“हामीलाई उद्धार गरेर देश फर्काइदिनुहोस्”
काठमाडौँ । भारतको मुम्बईस्थित एक अँध्यारो कोठाबाट लेखिएको एक भावुक पत्र सार्वजनिक भएको छ, जसमा आफूलाई २२ वर्षीया नेपाली चेली बताउने एक युवतीले प्रधानमन्त्रीसँग उद्धारको हार्दिक अपिल गरेकी छन्। पत्रमा उनले आफ्नो जीवनको पीडा, बाध्यता र नेपाल फर्कने तीव्र चाहना व्यक्त गरेकी छन्।
पत्रमा ती युवतीले गरिबी र परिस्थितिको मारले आफूलाई परदेशको कठिन अवस्थामा पुर्याएको उल्लेख गर्दै लेखेकी छन्, “हरेक दिन मेरो आत्मा टुक्रिन्छ, हरेक रात मेरा सपना समाप्त हुन्छन्।” उनले आफ्नो पहिचान समेत अर्थहीन भइसकेको भन्दै आफूजस्ता धेरै नेपाली चेलीहरू विदेशी भूमिमा अमानवीय परिस्थितिमा बाँच्न बाध्य रहेको दाबी गरेकी छन्।
उनले नेपालमा हुँदा सानो घर, खुसी परिवार र सम्मानजनक जीवनको सपना देखेको स्मरण गर्दै अहिलेको यथार्थ अत्यन्त पीडादायक भएको उल्लेख गरेकी छन्। “यहाँ इज्जतको कुनै मूल्य छैन, हरेक दिन आत्मामा चोट लाग्छ,” पत्रमा भनिएको छ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले प्रश्न गरेकी छन्, “के तपाईंलाई थाहा छ, तपाईंका कति छोरीहरू विदेशमा यस्तै अवस्थाबाट गुज्रिरहेका छन्?” उनले नेपालभित्रै पनि धेरै युवतीहरू असुरक्षित र कठिन जीवन बिताउन बाध्य रहेको उल्लेख गर्दै राज्यको ध्यानाकर्षण गराएकी छन्।
पत्रमार्फत उनले सरकारसँग स्पष्ट माग राखेकी छन् विदेशमा अलपत्र परेका नेपाली चेलीहरूको उद्धार, स्वदेश फर्काउने व्यवस्था, तथा नेपालमै रोजगारी, शिक्षा र सुरक्षित वातावरणको सुनिश्चितता। “हामीलाई यो दलदलबाट बाहिर निकाल्नुहोस्, हामी फेरि आफ्नो देशमा सास फेर्न चाहन्छौँ,” उनले लेखेकी छन्।
उनले थपेकी छन् कि हजारौँ नेपाली युवतीहरू यस्तै अवस्थामा रहेको र उनीहरूको जीवन बचाउनु राज्यको कर्तव्य भएको बताएकी छन्। “हाम्रो आशा छ, हाम्रो आँशुले तपाईंहरूको मन पग्लिनेछ,” पत्रको अन्त्यमा उल्लेख छ।
मानव बेचबिखन तथा ओसारपसारका घटनाहरू नेपालका लागि लामो समयदेखि गम्भीर चुनौतीको रूपमा रहेको छ। विभिन्न अध्ययनहरूले गरिबी, बेरोजगारी, शिक्षा अभाव र वैदेशिक रोजगारीका नाममा हुने ठगीका कारण विशेषगरी महिला तथा किशोरीहरू जोखिममा पर्ने देखाएका छन्।
सरकारले यस्ता समस्यालाई समाधान गर्न विभिन्न नीतिगत पहल गर्दै आएको भए पनि पीडितहरूको उद्धार, पुनर्स्थापना र सुरक्षित रोजगारीको सुनिश्चितता अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरू बताउँछन्।
यसैबीच, सामाजिक सञ्जालमा भाइरल बन्दै गएको यो पत्रले सरकारलाई थप प्रभावकारी कदम चाल्न दबाब सिर्जना गरेको छ। मानव बेचबिखन विरुद्ध काम गर्ने संघसंस्थाहरूले पनि सरकारसँग समन्वय गरेर यस्ता पीडितहरूको उद्धार र पुनर्स्थापनामा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
पत्र लेख्ने युवतीले आफ्नो नाम नखुलाए पनि उनको अन्तिम आशा भने स्पष्ट छ “म नेपाल फर्किन चाहन्छु।”

