कथा : लाहुरे
सारांश
- शिव पौडेल पानी !
- पानी !
- !
शिव पौडेल
पानी ! पानी !! पानी देउ न हो मलाई मुख सुक्यो । मुख सुक्यो … । अँध्यारो कोठाभित्र खटियामा लम्बेतान सुतेको वीरमान कहिले बेस्सरी चिच्याउँथ्यो, कहिले चुपचाप शान्त सुतिरहन्थ्यो । तीन दिनदेखि आएको ज्वरोले निकै गलाइसकेको थियो उसलाई । डाक्टरलाई देखाउँदा मलेरिया, टाइफाइड भनेर औषधि लेखिदिए तर त्यसले खासै काम गरेको थिएन । कोठामा एकजना साथीसँगै बस्थे । हिजो कम्पनीबाट बिदा लिएर वीरमानलाई अस्पताल उनैले पुराएर ल्याएका थिए । साथी नजाती थिएनन् ती तर के गर्नु ? काममा नगए नोकरी छुट्ला भन्ने डर । एक जग पानी, गिलास, औषधि र मुङको दालमा बनाएको खिचडी खटियामुनि राखिदिएर उनी ड्युटी गएका थिए बिहान ।
वीरमानलाई बिहान अलि बिसेक भएको पनि थियो । तर, दिउँसो एक्कासी ज्वरो बढ्यो । सकिनसकी जगमा राखेको पानी सबै पिएर पनि मुख सुक्न छोडेको थिएन । परदेश न हो, बेला बेलामा चिच्याएर पानी माग्थ्यो ऊ तर दिने कोही थिएन । घरीघरी एकोहोरिन्छ वीरमान । सम्झन्छ, वर्षौं पहिले बितेकी आमालाई । अनि माग्छ त्यही एकलोटा पानी । भित्रभित्र भुनभुनाउछ । (आमा मेरो निधार छाम त । आमा मलाई कहिले सन्चो हुन्छ होला ?” एकपल्ट कोल्टे फेर्छ र श्रीमतीलाई बोलाएर भन्छ, “मलाई औषधि ल्याइदे, नत्र म मर्छु ।”
एउटा गरिब परिवारमा जन्मेर गाउँको हाइस्कुल पास गरी शहरको क्याम्पस पढ्न नसक्ने भएपछि बाउको पालादेखिको ऋण तिर्न आजभन्दा २० बर्ष पहिले १८ बर्षको उमेरमा मुग्लान पसेको थियो वीरमान । सरल मिजास, स्वाभिमानी आत्मा, सहयोगी भावना, उसमा भएका गुण यिनै हुन् । परदेश बसाई त्यति सुखदायी भएन । हेलाहोंचो गरेको पटक्कै सहन नसक्नाले बारम्बार नोकरी छुट्ने या छोडनु पर्ने हुन्थ्यो । बहादुर मात्र भनेर बोलाएको सुन्नसम्म नसक्ने हुनाले आफ्नो नामको पछाडिको बहादुर हटाएर वीरमान राखेको थियोे उसले । कोठामा बस्दा लगाउने ड्रेस लगाएर परपर हिंड्ने नेपाली दाजुभाइलाई ऊ सधै भन्ने गथ्र्यो, “ए शर्ट पाइन्ट लगाएर त हिंड ! नत्र देशीले हेप्छन् । नेपालीको इज्जत जान्छ क्या भनेको मान ।”
स्वदेशमा काम माम नपाएर
विदेश जाने नेपालीलाई
स्वदेशको मायाले फर्क भन्दैछ ।
उसलाई अति प्रिय लाग्ने गीत हो यो । जहिले पनि यही गीत गुनगुनाउछ ऊ । जमानामा जनकलाकार खुशीराम पाख्रिनले कुनै कार्यक्रममा गाएको सुनेको थियो उसले । भारत या अरु कुनै देशमा गएर जागिर खाने उसले कल्पना पनि गरेको थिएन । उसले कक्षा ९ मा पढेको नाटक “दशैं”को मूल मर्म (आफ्नो छानो छाउने, आफ्नै मानो खाने)लाई आत्मसात गर्न चाहन्थ्यो । तर सोचेजस्तो नहुने रहेछ । अन्ततः अरु थुप्रै ठिटाहरु जस्तै ऊ पनि मन र माया स्वदेशमा छोडेर मुग्लान भौतारिन पुगेथ्यो । मुग्लानको जागिर के जागिर भन्नु ? अलिअलि भएको भाग्य पनि भत्काउनु थियो । आवश्यकताको चाङ चुलिँदै जाँदा समस्याहरूको पहाडसित पौंठेजोरी खेल्नुपर्ने । जिन्दगीरुपी लडाइँमा कैयौं सपनाहरूको सहादत भएर वीरमानको मुटु एउटा चिहानघाट जस्तै बनेको थियो ।
“लाहुरेको बुद्धि हुँदैन, कमाउन र बचाउन जान्ने तर खर्च गर्न नजान्ने हुन्छन् ।” पछिल्लोपटक घर गएको बेला लुरेकी आमाले भनेको यो शब्द उसलाई वाणजस्तै लागेको थियो । किनकि ऊ आफू लाटो थिएन । परदेशमा बस्ने नेपालीलाइ सल्लाह दिने, परेको काम गरिदिने, परिवेशअनुसार चल्न सिकाउने वीरमानलाइ उसैकी श्रीमतीले बुद्धि नभएको भनिन् । आफू परदेश हुँदा घरदेशतिरको परिवेश बदलिएको वीरमानलाई पत्तो थिएन । उसले बीसौं बर्ष कमाएर गृहस्थी सपार्न सकेको थिएन । तर गाउँ बसेका उसका साथीहरू धेरै ब्यबस्थित भइसकेका थिए । घर गएको बेला उसका साथी भेट्न आउँदा सोध्ने एउटा कुराले ऊ सधै दुःखी हुन्थ्यो । “कहिले फर्किने ?” उसलाई यस्तो लाग्थ्यो कि ऊ दुई चार दिन गाउँ आएको विदेशी पाहुना हो । “लाहुरको पाउर खाउँ न” भन्दै आउने उसका साथीहरूले उसलाई लाहुरे ठान्थे । जो उसलाई पटक्कै स्वीकार्य थिएन । किनकि लाहुरे शब्दमा एक विदेशी नोकर, बुद्धिहीन विवश र चार दिनको गाउँको पाहुना भन्ने अर्थ दिन्थ्यो ।
वीरमानले महसुस गर्यो कि उसकी आमाले धोंतीको टालो भिजाएर उसको निधारमा राखिदिइन् । लुरेकी आमाले औषधि खुवाइन् । उसको बाले यति जाबो ज्वरोले मरिन्न उठ् भन्दै हकारे । नभन्दै उसको ज्वरो भागिसकेछ । सानी छोरी आएर वीरमानको गाला थपथपाई । लुरे छेउँमा आएर बस्यो । ऊ घरको बीच तलाको पूर्वी कोठामा सुतेको रहेछ । चार प्रहर रात बितेर उज्यालो भई पूर्व क्षितिजबाट उदाएको रातो घामले उसलाई चियाइरहेको थियो । ओहो ! कत्ति अबेरसम्म सुतेछु भन्दै ऊ उठ्न खोज्दा बिउँझियो र निराश भयो । अँध्यारो कोठामा अहिले पनि ऊ एक्लै थियोे ।
घाँटीसम्म सुकेर बोल्न नसक्ने अवस्थामा पनि ऊ धर्मराउँदै उठ्यो । अलि पर रहेको घैंटाबाट दुई लोटा पानी पियो । मुख नमिठो हुँदाहुँदै पनि अलिकति खिचडी खायो र पानीसित ट्याब्लेट निल्यो । उसलाई थाहा थियोे कि यदि संघर्ष गरेन भने ऊ परदेशमै मर्न सक्छ । प्राण भन्दा प्यारो देश, बाआमाले बनाएको घर, मनकी प्यारी लुरेकी आमा र तामाको मुना जस्तै छोराछोरीसित बाँकी जीवन सँगै बाँच्ने र रमाउने रहर अधुरो रहन सक्थ्यो । बितेको जिन्दगी जस्तोसुकै भए पनि बाँकी जिन्दगी आफ्नो घर, आफ्नै खेत खलियानमा पसिना बगाउँदै उकाली ओराली गर्ने अठोट र अन्तिम सास स्वदेशी होस् भन्ने एउटा दृढ इच्छाले उसलाई अलिक बल पुग्यो । उसलाई लाग्यो, इच्छा र संकल्पले नै मान्छेलाई ढाडस र साहस दिँदोरहेछ । स्वदेश र स्वदेशीको मायाले वीरमान अब तङ्ग्रिन थालेको थियो ।
हाल ः मुम्बई (भारत)
प्रतिक्रिया