भोटेकोशी बाढी: सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, २३९ उडानमार्फत उद्धार जारी

Asmita-Newsdesk Asmita-Newsdesk
|
बिहिबार, भाद्र ११, २०८३
|
|
८ पटक हेरिएको
Shares
भोटेकोशी बाढी: सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, २३९ उडानमार्फत उद्धार जारी

सारांश

  • नेपाल-चीन सीमा क्षेत्र नजिकै तिब्बततर्फको ल्हेन्दे खोलामा आएको पहिरोका कारण भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्र ठूलो जोखिममा परेको छ।
  • रसुवागढी नाकाभन्दा करिब २० किलोमिटर उत्तरपूर्वमा हिम-चट्टान खसेपछि नदीमा गेग्रानसहित आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय बस्तीहरू संकटग्रस्त बनेका छन्।
  • बाढीका कारण तटीय क्षेत्रमा व्यापक जनधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

नेपाल-चीन सीमा क्षेत्र नजिकै तिब्बततर्फको ल्हेन्दे खोलामा आएको पहिरोका कारण भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्र ठूलो जोखिममा परेको छ। रसुवागढी नाकाभन्दा करिब २० किलोमिटर उत्तरपूर्वमा हिम-चट्टान खसेपछि नदीमा गेग्रानसहित आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय बस्तीहरू संकटग्रस्त बनेका छन्। बाढीका कारण तटीय क्षेत्रमा व्यापक जनधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

विपद्को यो घडीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रका नागरिकको रक्षालाई प्राथमिकतामा राख्दै तीव्र गतिमा उद्धार कार्य अघि बढाएको छ। उद्धार टोलीले भोटेकोशी र त्रिशूली नदी वरपरका जोखिमपूर्ण स्थानहरूबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा बेपत्ताहरूको खोजि कार्यलाई उच्च सतर्कताका साथ जारी राखेको छ।

संकटग्रस्त तटीय क्षेत्रमा नागरिकको जीवन रक्षा र राहत व्यवस्थापनका लागि सरकारले सात हजार चार सय १५ जना सुरक्षाकर्मी परिचालन गरेको छ। प्राधिकरणका अनुसार नेपाल प्रहरीका तीन हजार तीन सय १८, नेपाली सेनाका दुई हजार तीन सय ५५ र सशस्त्र प्रहरी बलका एक हजार सात सय ४२ जना उद्धारकर्मीहरू प्रभावित स्थलमा प्रत्यक्ष रूपमा खटिएका छन्।

स्थलगत पहुँच कठिन रहेका दुर्गम स्थानहरूमा हवाई मार्गमार्फत उद्धारलाई प्रभावकारी बनाइएको छ। खोज तथा उद्धार कार्यका लागि अहिलेसम्म दुई सय ३९ वटा हेलिकप्टर उडान सम्पन्न भइसकेका छन्। जसमध्ये नेपाली सेनाका हेलिकप्टरले दुई सय ११ पटक उडान भरेका छन् भने निजी क्षेत्रका हेलिकप्टरमार्फत २८ जना संकटमा परेका नागरिकको सफल उद्धार गरिएको छ।

प्राधिकरणले नदी तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गर्दै राहत तथा खोज उद्धार कार्यलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। प्राकृतिक विपद्को सामना गर्न राज्यका सबै संयन्त्रहरू एकीकृत रूपमा परिचालन भई प्रभावित क्षेत्रमा निरन्तर खटिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?