अथ….लुते महात्म्य, नरेन्द्रजंग पिटर उवाच
सारांश
- नरेन्द्रजंग पिटर आज लुते संक्रान्ति ।
- महान लुतेपर्वको शुभकामना !
- लुतो कन्याउनुस् संसारकै परम आनन्द लिनोस् ।
नरेन्द्रजंग पिटर
आज लुते संक्रान्ति । महान लुतेपर्वको शुभकामना ! लुतो कन्याउनुस् संसारकै परम आनन्द लिनोस् । अझ अरुका दिमागमा सुकेलुतो सल्काइदिनुस् अनि हेर्नुस् दुनियाँका तमासा । कन्याउ ! कन्याउ …! लुतो, मस्त कन्याउ ! चिलायो भने कन्याउनु पर्छ या सिंगौरी खेल्नै पर्छ । आफैले गुप्ताङ्ग कन्याउन सकिएन भने ढोके, हुक्के, छातेलाई कन्याउन लगाऊ । एक हुल लुतो कन्याउनेको जयगान गाउने भीड तयार गर, अनि देखाऊ …तमासा र लेऊ जिन्दगीका मजाहरु । “खुजुली का कहानी गजब होता है, खुजुली देवका शक्ति भी गजव” ।
उसले सल्काइदिएको लुतो अहिले पनि म कन्याउँदै छु । सभा होस् या सम्मेलन, दरवारी होस् खरदारीकै सामुने म भने लुतो कन्याएर मख्ख पर्छु । जब ऊसँग लड्न भिड्न सक्दिन तब उसका सामु पुगेर कन्याइदिन थाल्छु तब शक्तिशाली ऊ लाजले भुतुक्क भएर कुलेलम ठोक्छ । मेरा लुतो कन्याई गाण्डिव धनुभन्दा पनि शक्तिशाली बाण हो । कन्याउन र कन्याइदिने कला नै लुते महात्म्य हो । पाहारिलो घाममा डिलमा बसेर आउँ परेको बेला कन्दै आची गर्नु र सुके लुतो कन्याएको जस्तो अरुले आनन्द मलाई आजसम्म दिएको नै छैन ।
शक्ति हत्याउन, मोहनी लगाउन, अरुको हुर्मत काढ्न लुतो सल्काई दिनुपर्छ । ऊ कन्याउँदै रहन्छ । आफनो काम फत्ते । लुते महात्म्य अनेकौं छन् । आज साउने संक्रान्ति । कृषि पर्व भए तापनि म भने अहिले लुते महात्म्य नै कहन्छु । लुते महात्म्यको राष्ट्रिय महत्व अहिले झन बढेको छ । लुतो कन्याउन थालेपछि पहिलाका सबै कुरा सहजै बिर्सिइन्छ । सिद्धान्त, आदर्श, प्रतिबद्धता, सगोत्रीका चिहान, गरेका कबुल, देखाइदिएका सपना, दर्शन, साहित्य, राजनीति र संगठन भन्ने कुरा सबै बिर्सँदा न उदेग लाग्छ न दुःख । चिलाउँदा कन्याउनु नै पर्छ । तब बिजुलीपानी तन्काउदा बिर्सन नसकिने कुरा लुते देवताको शरणागत भएपछि छुमन्तर हुन्छ । कन्याउँदाको मजा सुके लुतो लागेकालाई मात्र थाहा हुन्छ । लुतो सल्काइदिने महाकला हुन्छन् । अझ लुतो दिमागमा सल्केपछि त लुतेहरु चाणक्य, म्याकावेली र बीरवलभन्दा पनि चतुर बन्छन् ।
आज हलो पखाल्ने, गोरु नुहाइदिने, हिलासँग पौँठेजोरी खेलेर थकित ज्यान सुस्ताउने कृषि पर्वको अर्को पाटो लुतो फाल्ने पर्व परम्परादेखिकै चलनको महत्व र महात्म्य भने अपरम्पार छ । लुते देवताको गाली आराधना गर्ने चाडवाड नै लुतो फाल्ने पर्व हो । केही राजनेता, गालीपण्डित र केही मिडियाहरु भने सदाकाल लुते पर्व मनाइरहेका छन् । यो पर्व गाली पण्डितहरुको योग साधना गरेर नयाँ र कलामय गाली आविष्कारको गौरवमय दिन भनेर बुझिन्छ । हरेक लुते पर्वमा फलानालाई गरिने गाली नै गालीशास्त्रको पहिलो प्रयोगशाला बन्यो ।
आगे लुते महात्म्य । लुतो लगाइदिने लुते देउता हुन्छन् । उनको श्राप भनेकै अक्करमा लुतो सल्काई दिँदै आफैँले आफ्नो सार्वजनिक बेइजत गर्नु परम धर्म र कर्म हुन्छ । अक्करमा लाग्ने र गुप्ताङ्गलाई निशाना बनाउने यो रोगले कुनै समय र थातथलोको हेक्का नराख्ने भएकाले सामाजिक हुर्मत त काढ्छ नै सुके लुतोले भन्दा पाके लुतोले फत्रक्कै भए गुप्ताङ्ग झर्न पनि सक्छ । सँइन हुनसक्छ । सँइनलाई अहिले त क्यान्सर भनिन्छ । लुतो लागेपछि कन्याउन कसैले पनि लाज घिन मान्नै सक्दैन । पर्दैन । लुते जानकारी दिँदा राम्रो । लुतो र लाजको मितेरी हुन्छ । लाज बचाउन नकन्याउँ भन्दा पनि लुते देउताले दिनको चैन र रातको निन्द्रा हराइदिन्छन् । त्यसैले लुतेहरुको सार्वजनिक थलोमा जाने, भाग लिने औकात लुते देवताले हरिदिन्छन् । तब लुतो नलागोस् भनेर लुते देवता पुज्न पुर्खादेखिका जाने जतिका गाली बक्दै लुतो फालिने गरिन्छ, साउने संक्रान्तिमा ।
लुतो फाल्न सात थरीका जडीबुटीका सार्दम जोर्नु पर्छ, । त्यसको आयुर्वेदिक अर्थ धन्वन्तरी वा चरक महाराजले लेखिदिएनन् । देवीसरो, धुपीसरो, पानीसरो, ककुरडाइनु, कुरिलो, हाडे उनिँउ र सल्लाको दियाले काठको अर्थ के हुने हो कुन्नि ? त्यसपछि लुते गोठबाट राँको फाल्दै मेरो लुतो लुते लै जा है फलाना ….. मेरो लुतो लैजा भनेर जाने जतिको गाली फलाक्यो, चिच्यायो । सात सामग्रीको राँको फाल्दै जानेजतिका गाली फलानालाई फलाक्यो । मुखको तितो फाल्दै चिच्यायो र बैरीलाई लुतो सल्काइदियो । फलानो भनेको पुस्तौनी शत्रु वा हेपिएका जाति हुने गर्छन् अथवा अर्काको हुर्मत काढेर आफ्नो औकात बढाउन लुतो सल्काइदिने र लुते पर्वमा गाली गर्ने खलपात्र बनाइएका हरेक मनुवाका गाली खाने फलाना भने हुन्छन् ।
लुतोको शक्ति अपरम्पारछ । लुतो सल्केको मान्छे सामने कोई पनि भद्र मान्छे बस्न रुचाउदैन् । कन्याउन थालेपछि ऊ त लाज, घिन हराएको वेसर्मी बनीदिन्छ । उसको चर्तिकला देखेर सामने बस्ने लजाउँदै कुलेलाम ठोक्छ । लुतो कन्याई दिएपछि सामनेको माईक टाइसन र दारा सिंह पनि विना गालीगलौच भागी हाल्छन् ।
लुतो सरुवा रोग, सारिदिनुस् र मजा लुट्नुस । जति चिलायो, त्यति मजा । जति कन्यायो, त्यति नै हाइसन्चो । सुके लुतोको बखान गरेर साध्यै छैन् । लुतो कन्याउने मजा, चाप्लुसी र चाकडीका शब्द कोरल्दाको मजै ….. भिन्न खालको । अर्काको खिसीट्युरी गर्नु, कुरा काट्नु, चुक्ली लगाउनु, चाप्लुसी गर्नु, आत्मा विज्ञापन गर्नुभन्दा पनि औधी मजा क्या ! लुतो कन्याउनुभन्दा मजा केहीमा हुँदैन । गाली पण्डितहरुको महान यो दिन हो । पवित्र दिन हो । शक्तिसाधना पर्व हो । आलोचना भन्नुस्, गाली भन्नुस्, गाली सामथ्र्र्यमा नै यस पर्वको ऐतिहासिकता झल्कन्छ । लुतो कन्यायो…. कन्यायो, आहा…..आफैलाई रक्तमुच्छेल पा¥यो । चिथ¥यो, कोप¥यो, घायल बनायो तर पनि कोपरेर पनि कन्याउन भने नछोड्ने । आफ्नो शत्रु आफै बन्यो । आफनो हुर्मत आफैले काढेर सर्वाङ्ग सडकमा महावीर बन्नुको मजा कुन तराजुले तौलेला र !
महा एलर्जीका रुप र तरिका अहिले फेरिए । लुते पर्वका बैरीहरु स्केवियन लोसन र मल्हम पनि निक्लिसके । हामीसँगै सिकेर अंग्रेजले गालीमा मनका भडास छताछुल्ल गरेपछि कसैले पनि बौलाउन पर्दैन भनेर गालीगलौच स्वतन्त्रताको हाइडल पार्कलाई बनाइदियो । अझ जुकरवर्गे फेसबुके पार्क र ट्वीटरजस्ता सामाजिक सञ्जाल सेन्सरहीन गाली थलो बन्दा वर्ष दिनको साउने संक्रान्तिको लुते पर्व अब कुरिरहनै पर्दैन । संसद त अझ लुते पर्वको महाथलो र गालीपण्डितको आविस्कार र प्रयोगशाला नै बन्यो । संसारको महान गाली पण्डितहरु कोई सिद्धान्तको नाममा, कोई विचारका नाममा औकात अनुसारका कलामय गाली सिक्ने साँस्कृतिक आराधनाको पहिलो पाठशाला लुते पर्व नै थियो र हो भन्न हिच्किचाउनु अब पर्दै पर्दैन ।
प्रतिक्रिया