विराटनगरमा ठूलो मात्रामा गाँजा बरामद: प्रहरीलाई देखेर भाग्न खोज्दा कारलाई ठक्कर, चालक फरार
सारांश
- विराटनगर–३ आयल निगम नजिकैको सडक खण्डमा प्रहरीले शनिबार राति सवा १० बजे ३९८ किलो अवैध लागूऔषध गाँजासहित एउटा स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ।
- इटहरीबाट विराटनगरतर्फ आइरहेको को.
- १ च ७३९९ नम्बरको स्कार्पियो गाडीमा ठूलो मात्रामा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो।
विराटनगर–३ आयल निगम नजिकैको सडक खण्डमा प्रहरीले शनिबार राति सवा १० बजे ३९८ किलो अवैध लागूऔषध गाँजासहित एउटा स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ। इटहरीबाट विराटनगरतर्फ आइरहेको को.१ च ७३९९ नम्बरको स्कार्पियो गाडीमा ठूलो मात्रामा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो।
नियमित सुराकी र आकस्मिक चेकिङका क्रममा प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले उक्त गाडीलाई नियन्त्रणमा लिन सफल भएको हो। प्रहरी टोलीले शंकास्पद गाडीलाई रोकेर जाँच गर्न खोज्दा चालकले भाग्ने नियतले सवारी साधन तीव्र गतिमा ब्याक तथा युटर्न गराएका थिए।
प्रहरीबाट उम्किने प्रयासमा स्कार्पियोले सोही दिशामा पछाडिबाट आइरहेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई जोडले ठक्कर दिएको थियो। दुर्घटनामा कार चालक सामान्य घाइते भए पनि कुनै गम्भीर मानवीय क्षति भने हुन पाएन। ठक्करलगत्तै चालक गाडी छाडेर अन्धकारको फाइदा उठाउँदै फरार भएका छन्।
दुर्घटनापछि नियन्त्रणमा लिइएको स्कार्पियो गाडीको खानतलासी गर्दा प्रहरीले भित्र लुकाइछिपाइ राखिएका १३ वटा ठूला पोकामा ३९८ किलो गाँजा भेट्टाएको छ। बरामद गरिएको लागूऔषध र दुवै सवारीसाधनलाई थप कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले फरार स्कार्पियो चालकको पहिचान भइसकेको र खोजी कार्यलाई तीव्र पारिएको जनाएको छ। सीमावर्ती क्षेत्रमा बढ्दो लागूऔषध तस्करी नियन्त्रणका लागि गस्ती र जाँचलाई थप कडा बनाइने प्रहरीको भनाइ छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया