अध्यक्षबाहेक शीर्ष नेता प्रचारमा देखिएनन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
३८ पटक हेरिएको
Shares
अध्यक्षबाहेक शीर्ष नेता प्रचारमा देखिएनन्

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं : देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार सकिन लाग्दा पनि प्रमुख र साना दलका शीर्ष नेता पार्टीगत प्रचारभन्दा आ-आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएको देखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबाहेक अन्य केन्द्रीय नेता पार्टीका चुनावीसभामा देखिएका छैनन्।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली शनिबार पनि विभिन्न जिल्लाका चुनावीसभामा सहभागी भएका थिए। राजपा र संघीय समाजवादी फोरम नेपालले संयुक्त मधेसी गठबन्धन बनाएर निर्वाचनमा उत्रिए पनि ती दलका शीर्ष नेता आ-आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन्। मधेसी गठबन्धनले शनिबार पहिलोपल्ट राजविराजमा संयुक्त चुनावीसभा गरेको छ। तर, त्यहाँ पनि तीन अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो मात्रै सहभागी भएका छन्।

कांग्रेसको निर्वाचन प्रचारप्रसार समिति संयोजक बालकृष्ण खाँण शीर्ष नेता आफैं प्रत्यक्षतर्फ उम्मेदवार भएकाले प्रचारप्रसारमा त्यति नदेखिएको स्विकार्छन्। उनी भन्छन्, ‘हाम्रो पार्टी अध्यक्ष पूरै चुनावी दौडाहामा हुनुहुन्छ।’ कांगे्रस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित केन्द्रीय नेता खासै प्रचारप्रसारमा खटिएको देखिएनन्। एमाले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीसहित दर्जनौं केन्द्रीय नेता पार्टीका चुनावीसभामा देखिएका छैनन्।

माओवादी अध्यक्ष दाहाल स्वयं पनि आफ्नो चुनावी क्षेत्र चितवनबाट कमै मात्र अन्यत्र गएको देखिएको छ। एमाले अध्यक्ष ओलीसँग संयुक्त रूपमा वाम गठबन्धनका केही सभामा दाहाल देखिए पनि यसअघिका चुनावमा जस्तो उनी प्रचारमा गएका छैनन्।

कांग्रेस नेता पौडेल र कोइराला तथा एमाले नेता नेपाल र खनाल उम्मेदवारी मनोनयनपछि केही समय प्रचारप्रसारमा देखिए पनि मंसिर लागेपछि आ-आफ्नै क्षेत्रमा केन्द्रित छन्। एमालेको निर्वाचन प्रचारप्रसार समिति संयोजक विष्णु रिमालले पनि केन्द्रीय नेता आ-आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त रहेकाले देश दौडाहा नगरेको बताए। ‘शीर्ष नेताकै सल्लाहमा प्रचारप्रसारका सबै कार्यक्रम भइरहेका छन्’, उनले भने। मधेस आफ्नो पकड क्षेत्र भएको दाबी गर्ने मधेसी पार्टी राजपा र फोरम नेपालका अध्यक्षसहित केन्द्रीय नेता आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र खासै प्रचारप्रसारमा गएका छैनन्।

मधेसी गठबन्धनले शनिबार राजविराजमा गरेको चुनावीसभामा महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले सम्बोधन गरेका थिए। उनीहरूबाहेक अरू चार जना अध्यक्ष अनिल झा, शरत्सिंह भण्डारी, राजकिशोर यादव र महेन्द्र यादव देखिएनन्। उनीहरू आ-आफ्नै निर्वाचन क्षेत्रमा थिए। राजपाका एक महासचिव केशव झाले पहिलाभन्दा निर्वाचन क्षेत्रको आकार परिवर्तन भएकाले नेताहरूले आ-आफ्नो क्षेत्रमा धेरै समय दिनुपरेको बताए। उनले भने, ‘पहिलाभन्दा फरक र हाम्रा धेरै नेताले क्षेत्र पनि परिवर्तन गरेकाले अन्य जिल्लामा प्रचारप्रसार गर्न जान पाउनुभएको छैन।’

सबै दलले प्रचारप्रसारका लागि जिल्ला-जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत खटाएका छन्। तर, यसअघि जस्तो अध्यक्षसहित केन्द्रीय नेताका रूपमा चिनिएका नेता चुनावी दौडाहामा देखिएका छैनन्। कांग्रेस नेता खाँण भन्छन्, ‘एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेर चुनावमा उत्रिएपछि पहिलाभन्दा प्रतिस्पर्धा फरक भएकाले यस्तो हुन सक्छ। १२ गते देखि १५ गतेसम्म केन्द्रीय शीर्ष नेताले चुनावी प्रचारप्रसार गर्ने केही कार्यक्रम छन्। १५ गतेपछि फेरि उहाँहरू आ-आफ्नै क्षेत्रमा फर्कनुहुन्छ।’ राजपा नेता झा पहिलो र दोस्रो संविधानसभाको निर्वाचनभन्दा यसपालिका प्रतिस्पर्धी बलियो देखिएको बताउँछन्।

यसअघि कांग्रेस नेता गगन थापा पनि देशभर एक चरण प्रचारप्रसारमा जाने गरेका थिए। यसपालि कांग्रेसले थापालाई प्रचारप्रसार समितिको जिम्मा दिएको छ। तर, थापा कांग्रेससँग तालमेल गरेको नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको पक्षमा प्रचारमा गर्न एक दिन मात्र गोरखा पुगेका छन्। निर्वाचन प्रचारप्रसारमा संयोजन गरिरहेका कांग्रेसका एक नेता भन्छन्, ‘वाम गठबन्धनका उम्मेदवार सबै ठाउँमा बलियो प्रतिस्पर्धी देखिएपछि प्रमुख नेताहरूसमेत आफ्नो निर्वाचन क्षेत्रमा सीमित हुनुपरेको छ।’

उम्मेदवारी मनोनयनपछि प्रायःजसो आफ्नो क्षेत्रमै रहेका कांग्रेसका केन्द्रीय नेता कृष्णप्रसाद सिटौलाले समेत गत ५ गते काठमाडौंमा पत्रकारसँग संक्षिप्त अन्तरक्रियामा समेत यो तथ्य घुमाउरो पारामा स्विकारे। एक दिनका लागि मात्र काठमाडौं आएका सिटौला झापा जानै लाग्दा पत्रकारसँग भने, ‘यस पटकको निर्वाचन प्रतिस्पर्धा देशभर अघिल्लो चुनावभन्दा भिन्न देखियो।’ उनको विश्लेषणमा हरेक निर्वाचन क्षेत्रमा यसपटक आ-आफ्नै ढंगले निर्वाचन प्रचारप्रसार भइरहेका छन्। संविधानअनुसार यसअघिको २ सय ४० निर्वाचन क्षेत्रलाई १ सय ६५ मा झारिएको छ। निर्वाचन क्षेत्रको आकारमा आएको परिवर्तन र प्रदेशसभाको निर्वाचन देशमा पहिलोपल्ट हुँदै छ। फलस्वरूप निर्वाचनमा यसअघि पनि प्रतिस्पर्धा गरिसकेका केन्द्रीय नेतासमेत नौलौ अनुभूति गरिरहेको बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?