अोलीको कटाक्ष- प्रधानमन्त्री हडबडाउनु भो, पुरानो बानी हो
सारांश
- बिराटनगर, १६ कार्तिक।
- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बामगठबन्धनको कारण प्रधानमन्त्री शेरबहादुर देउवा हडबडाएको र त्यो पुरानो बानी भएको भन्दै कटाक्ष गरेका छन् ।
- प्रतिनिधिसभाको सदस्यको मनोनयन गर्न गृह जिल्ला झापा जान लागेको अध्यक्ष ओलीले बिराटनगर विमानस्थलमा सत्तामा बसेर प्रतिपक्षीलाई सक्छु भनेर अभिव्यक्ति दिनु फाँसीवादी चरित्र भएको बताए ।
बिराटनगर, १६ कार्तिक। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बामगठबन्धनको कारण प्रधानमन्त्री शेरबहादुर देउवा हडबडाएको र त्यो पुरानो बानी भएको भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको सदस्यको मनोनयन गर्न गृह जिल्ला झापा जान लागेको अध्यक्ष ओलीले बिराटनगर विमानस्थलमा सत्तामा बसेर प्रतिपक्षीलाई सक्छु भनेर अभिव्यक्ति दिनु फाँसीवादी चरित्र भएको बताए ।
‘बाम गठबन्धनले अधिनायक लाद्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा हड्बडाउनु भएको छ,त्यो उहाँको पहिल्यैदेखिको बानी हो’ ओलीले भने ।
सत्तामा बसेर प्रतिपक्षलाई सिध्याउँछु भन्नु असाधारण र अनुचित विचार भएको बताउँदै ओलीले सत्तामा रहेको फाँसीवादी चरित्र देखाउनु अनुचित भएको टिप्पणी गरे। उनले कार्यकारी राष्ट्रपति अमेरिकामा पनि भएको तर त्यहाँको सरकार अधिनायकवादी नभएको उदाहरण दिए।
अहिले भएको राजनीतिक दलबीचको धु्रवीकरणले नेपालमा विचार तथा सिद्धान्तको आधारमा चलेका पार्टीमात्र रहने संकेत गरेको बताउँदै ओलीले भने,‘काँग्रेस नीतिविहीन छ। उहाँकोहरुको ध्रुवीकरण पनि भवितव्यको आधारमा भएको हो तर अब समूह वा झुन्डझुन्डका रुपमा राजनीतिक दलहरु रहनु हुन्न।’
विचारको आधारमा बहुदलीय व्यवस्थामा दल खोल्न पाइने भएपनि साना समूह बनाएर भन्दा पनि विचार बनाएर त्यसकै आधारमा चल्नुपर्ने तर्क गरे।
उनले भने,‘राजनीतिक पार्टी खोल्नुको दार्शनिक, सैद्धान्तिक र वैचारिक आधार हुन्छन्। कार्यक्रमहरु हुन्छन्। राजनीतिबिनाको राजनीतिक दल भनेको स्वार्थहरुको गठजोड मात्र हुन्छ।’ओलीले काँग्रेसमा राजनीति भएपनि त्यो प्रगतिविरोधी भएको आरोप लगाए। ‘राजनीति नै छैन त भन्दिन तर समृद्धि र राष्ट्रिय एकता विरोधी तथा गलत राजनीति काँग्रेसमा हावी छ,’उनले भने।
एमालेले सार्वभौमसत्तालाई माया गरेको, राष्ट्रिय हित र भौगोलिक अखण्डतालाई कायम गरेको, लोकतन्त्र आधार तयार गरेकोे, सामाजिक न्याय, समानता र सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकताको पक्षमा रहेकोमा ओलीको भनाई थियो। ओली झापा-५ बाट उम्मेदवार रहेका छन्।
प्रतिक्रिया