आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
५५ पटक हेरिएको
Shares
आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

सारांश

  • काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ ।
  • हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो ।
  • उहाँका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् ।

काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । उहाँले भन्नुभयो, “शैया खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसियुमा सार्ने गरिएको छ ।”

अस्पतालको आइसोलेसन र आइसियु अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा राजभण्डारीले बताउनुभयो । अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । उहाँका अनुसार आइसियुमा रहेका बिरामीलाई समस्या कम भएपछि केही दिनसम्म आइसोलेनमा राखेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिँदै आएको छ । अस्पतालमा गम्भीर समस्या भएका र अक्सिजन दिनुपर्ने बिरामीलाई राखिने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लक्षणसहितका अरु बिरामीले पनि अस्पतालमा भर्ना हुन चाहे पनि हामीले गम्भीर बिरामी मात्रै लिने गरेका छौँ ।”

उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढीरहँदा अस्पताललाई त्यसको व्यवस्थापन गर्न गाह्रो भएको निर्देशक डा राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार अस्पतालले केही शैया बढाउन लागेको भए पनि अस्पतालको क्षेत्र नै साँघुरो भएकाले धेरै बढाउनसक्ने अवस्था छैन । अरु समस्या हुँदाजस्तो नभएर कोभिडका बिरामीलाई दूरी कायम गरेर राख्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । अस्पतालमा केही समय पहिले दुई भेन्टिलेटर थपिएको थियो । अहिले छ आइसोलेसन शैया, चार आइसियु र एक भेन्टिलेटर थप गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सम्भव भएसम्म बेड थपिरहेका छौँ ।”

अस्पतालमा परीक्षण गराएर पोजेटिभ रिपोर्ट आएपछि धेरै सङ्क्रमितले मलाई यही राख्नुपर्छ भन्दै झगडा गर्ने गरेको निर्देशक डा राजभण्डारीले बताउनुभयो । अस्पतालले अक्सिजन नै चाहिने प्रकृतिका सङ्क्रमित मात्रै राख्ने बताएपछि उनीहरु झगडा गर्न आउने उहाँको भनाइ छ । कतिपयले अस्पतालमा स्वास्थ्यकर्मीलगायत कर्मचारीसँग झगडा गर्न आउने गर्छन् । अस्पतालले भर्ना गर्ने भनिएका प्रकृतिका गम्भीर बिरामीलाई समेत भन्नासाथ लिन सकिने अवस्था नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कतिपय सिरियस बिरामीलाई पनि बेड मिलाउनै नसक्दा अरु अस्पतालमा लैजानुहोस् भन्दा हामीलाई पनि राम्रो लाग्दैन ।”

एकातिर अस्पतालका सबै शैयामा खचाखच बिरामी र अर्कातिर कार्यरत कर्मचारीलाई पनि समय समयमा सङ्क्रमित हुँदा व्यवस्थापन गर्न कठिन भइरहेको निर्देशक डा राजभण्डारीले बताउनुभयो । भर्ना भएका सबै बिरामीलाई हेर्नुपर्ने भए पनि जनशक्ति कम भएको उहाँले बताउनुभयो । अस्पतालमा अहिले तालीमप्राप्त नर्सको कमी छ । एउटा भेन्टिलेटरमा एकजना नै तोकिएको मान्छे राख्नुपर्ने उहाँले बताउनुभयो । एउटै व्यक्तिले नियमित गर्न नसक्दा फरक सिफ्टका लागि फरकफरक जनशक्ति चाहिन्छ । कर्मचारीलाई सङ्क्रमण भएर आइसोलेनमा हुँदा त्यो ठाउँमा अर्काे कर्मचारी खटाउनुपर्छ । उहाँले भन्नुभयो, “सबै कुरा मिलाएर गर्न अहिले सजिलो अवस्था छैन ।”

नेपालमा कोभिड–१९ को सङक्रमण शुरु भएसँगै यो अस्पतालमा परीक्षणका लागि आउनेको पनि भीड छ । कहिले घरबेटीले घरमा फर्कन नदिएकाले त कहिले कार्यालयमा जानका लागि नागरिक परीक्षणका लागि आउने गरेका छन् । अस्पतालले ‘क्राइटिएरिया’ मिलेकाको मात्रै परीक्षण गर्दै आएको छ । कोभिडसँग मिल्दा लक्षण भएका वा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा बसेर काम गर्ने व्यक्तिको परीक्षण गरिँदै आइएको उहाँले जानकारी दिनुभयो । ‘कन्ट्याक ट्रेसिङ’ मा परेका व्यक्तिको भने वडा कार्यालयको समन्वयमा परीक्षण हुँदै आएको छ । कतिपय व्यक्ति कागजका लागि रिपोर्ट चाहिएकाले गर्न आउँदा भने पैसा तिरेर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “अहिले धेरै जना लोक सेवा, प्रहरीमा भर्ना हुन वा विदेश जान भन्दै परीक्षणका लागि आइरहेका छन् ।”

सरकारी अस्पताल भएकाले र सबैलाई सहज पहुँच भएकाले सङ्क्रमित यहीँ उपचारका लागि आउन चाहने धेरै छन् । आर्थिकरुपमा विपन्न व्यक्तिले विशेष गरी लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले यहीँ आउने चाहेको अस्पतालले जनाएको छ ।

अस्पताल कोभिड–१९ को उपचारमा केन्द्रित हुँदा अरु किसिमका सरुवा रोगमा त्यसको असर परेको निर्देशक डा राजभण्डारीले बताउनुभयो । यहाँ उपचारका लागि आउने अरु सरुवा रोगका बिरामीलाई अरु अस्पतालम सारिएको छ । एचआइभी एड्स, क्षयरोग, डेङ्गु, कालाजारलगायत सरुवा रोगका औषधि खाइरहेका बिरामीले अहिले यहाँबाट उपचार पाएका छैनन् । अरु सरुवा रोग लागेका व्यक्तिलाई कोभिड देखिँदा मात्रै यहाँ उपचार हुन्छ । अरु सरुवा रोगका नियमित औषधि खाइरहेका व्यक्ति, पनि जोखिम वर्गमा पर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण शाहरुखलाई छोडेकी थिइन् गौरीले
यसकारण शाहरुखलाई छोडेकी थिइन् गौरीले
सन्दिप भारतमा भन्दा पाकिस्तानमा महंगा, पिएसएल खेल्ने पक्का
सन्दिप भारतमा भन्दा पाकिस्तानमा महंगा, पिएसएल खेल्ने पक्का
बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ : अध्यक्ष दाहाल
बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ : अध्यक्ष दाहाल
ओलीमाथि चौतर्फी घेराबन्दी, सत्ताबाट हटाउने यस्तो छ ग्रान्डडिजाइन
ओलीमाथि चौतर्फी घेराबन्दी, सत्ताबाट हटाउने यस्तो छ ग्रान्डडिजाइन
सभामुख र उपसभामुख पदको लागि अदालतमा रिट !
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
सवारी दुर्घटनामा तेस्रो पक्षको बीमा रकम बढाउने तयारी गर्दै यातायात व्यवस्था विभाग
सवारी दुर्घटनामा तेस्रो पक्षको बीमा रकम बढाउने तयारी गर्दै यातायात व्यवस्था विभाग
आज हुने भनिएको नेकपाको पार्टी प्रवेश कार्यक्रम एक दिन सर्यो
आज हुने भनिएको नेकपाको पार्टी प्रवेश कार्यक्रम एक दिन सर्यो
सांसदलाई रातो पासपोर्ट बनाउन संशोधनको चलखेल
सांसदलाई रातो पासपोर्ट बनाउन संशोधनको चलखेल
तातो र चिसो हावाको घर्षणले बन्यो भुमरी
तातो र चिसो हावाको घर्षणले बन्यो भुमरी

तपाईंले छुटाउनुभयो कि?