इतिहास बिर्सिंदै कांग्रेस

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
इतिहास बिर्सिंदै कांग्रेस

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना ।’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता-कार्यकर्ता अलमलमा परे । कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन ।

पार्टीका साधारण कार्यकर्ता मात्र होइन, अधिकांश केन्द्रीय सदस्य नै यसबारे अनभिज्ञप्राय थिए । कांग्रेसका एक केन्द्रीय सदस्यले सभापति देउवाको फेसबुक स्टाटस हेरेर मात्र पार्टी स्थापनाको मिति थाहा पाएको बताए । उनले भने, ‘पार्टीले कुनै औपचारिक कार्यक्रम गर्ने भए पो थाहा हुन्छ । पार्टीले नै वास्ता नगरेपछि हामीलाई पनि के चासो ।’

बीपी कोइरालाको नेतृत्वमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेस र सूवर्ण शम्शेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गतेका दिन पार्टी एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘नेपाली कांग्रेस’ राखियो । उसो त कतिपय कांग्रेसी नेताले माघ १२ लाई पनि कांग्रेस स्थापना दिवसका रूपमा मनाउँछन् । २००३ साल माघ १२ र १३ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन कलकत्तामा भएको थियो । तर, पार्टीले भने चैत २७ गतेलाई नै स्थापना दिवस मान्दै आएको छ ।

कांग्रेस मंगलबार ६८ वर्ष पूरा गरी ७९ औं वर्षमा प्रवेश गरेको छ । देशको पुरानो र ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसले सुरुका दिनमा स्थापना दिवस मनाए पनि पछिल्ला दिनमा भने दिवस मनाउनुको औचित्य नै देख्न छाडेको छ ।

कम्युनिस्ट पार्टीले भने प्रत्येक वर्ष पार्टी स्थापना दिवस मनाउँदै आएका छन् । यसपटक दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले स्थापना दिवसकै दिन पारेर पार्टी एकीकरणको तयारी गरेका छन् । कांग्रेसमा स्थापना दिवस मनाउने प्रचलन विगतदेखि नै नभएका कारण यसतर्फ ध्यान नदिइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए । उनले भने, ‘कतिपय जिल्लामा स्थानीय कार्यसमितिले कार्यक्रम गर्छन्, पार्टीले नै औपचारिक रूपमा स्थापना दिवस मनाउने प्रचलन छैन ।’

तर, कांग्रेसकै पार्टी स्थापना दिवसबारे नेता-कार्यकर्ता नै अनभिज्ञ हुनुलाई अध्ययनको कमी भन्छन्, वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल । उनी भन्छन्, ‘कांग्रेसमा स्कुलिङ नै छैन, २०४६ सालपछि पार्टीमा प्रवेश गरेका अधिकांश नेता-कार्यकर्तालाई कांग्रेसको सिद्धान्त थाहा छैन ।’ बहुदल पुनःस्थापना हुनुअघि पार्टीको सिद्धान्त अध्ययन गरेर राजनीतिमा लाग्ने गरे पनि त्यसपछि भने शक्तिको आडमा राजनीति हुने गरेको दाहालको भनाइ छ ।

‘०४६ सालअघि कम्युनिस्ट र कांग्रेसको सिद्धान्त अध्ययन गरेर मान्छे दल छान्थे’, उनी भन्छन्, ‘अहिले त पढेरभन्दा पावरका आधारमा राजनीति चल्छ किन अध्ययन गर्नुपर्‍यो ? ’

राणाविरुद्धको आन्दोलनदेखि ०६२÷६३ सालको राजनीतिक आन्दोलनको नेतृत्व गरेको कांग्रेसले आफ्नै स्थापना दिवस नमनाएर इतिहासप्रति बेवास्ता गरेको आरोप कार्यकर्ताको छ ।

सभापति देउवाका प्रेस संयोजक गोविन्द परियारले यसपटक स्थापना दिवस मनाउने तयारी भए पनि पार्टी शोक रहेका कारण स्थगन गरिएको दाबी गरे । उनले भने, ‘सभापतिज्यूले स्थापना दिवस मनाउने भन्नुभएको थियो तर केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनका कारण यसपटक नमनाइएको हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?